मुग्लिन–नारायणगढ सडक आइतबार देखि १० घन्टा बन्द

मुग्लिन, २३ असार/पहिरोले असुरक्षित भएपछि मुग्लिन–नारायणगढ सडकखण्ड असार २५ गतेदेखि आइतबार देखि राति १० घण्टा बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले बिहीबार चितवनमा आयोजना गरेको सर्वदलीय सर्वपक्षीय बैठकले यातायात सञ्चालनमा रोक लगाएको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बैठकले मुग्लिनतर्फबाट साँझ ७ बजे र नारायणगढतर्फबाट ६ बजेदेखि यातायात रोक्ने निर्णय गरेको जानकारी दिए । यसैगरी, बिहान मुग्लिनबाट ५ बजे र नारायणगढतर्फबाट ४ बजे यातायात खुल्ला हुनेछ ।

यसअघि व्यवस्थापिका–संसद्, विकास समितिले असार ११ गते उक्त सडक खण्डको अनुगमन गरेको थियो । समितिले गृह, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलगायत सरोकार भएका मन्त्रालयलाई उक्त सडकखण्डका बारेमा एघार बुँदे विशेष ध्यानाकर्षण र निर्देशन गरेको थियो । उक्त निर्देशनपछि गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालयले उक्त निर्णय कार्यान्वयन गराउन शुरु गरेको हो ।

विस्तार भइरहेको उक्त सडकखण्डमा राति सम्भव भएका निर्माणका कार्य गर्ने बैठकले निर्णय गरेको छ । त्यसैगरी, सडक विस्तारका क्रममा परेका बिजुलीका खम्बा र खानेपानीको पाइप सार्ने र रुख काट्ने कामलाई यथाशक्य छिटो सम्पन्न गरी कामलाई सहजीकरण गरिने भट्टले बताए ।

 

कमेन्टहरु
Loading...