नेपालमा १७ प्रतिशत महिला किशोरावस्थामै गर्भवती

२७ असार, काठमाडौं । विश्व जनसंख्या दिवसमा यस वर्षको नारा तय गरिएको छ-’किशोरावस्थामा गर्भाधान-सर्वाङ्गीण विकासमा व्यवधान ।’ किशोरावस्थामा बच्चा जन्माउँदा आमा र बच्चा दुवैको स्वास्थ्यमा खतरा उत्पन्न हुने र जनसंख्या व्यवस्थापन समेत प्रभावित हुने भएकाले यस वर्षको जनसंख्या दिवसमा यो किशोरावस्थाको गर्भाधानलाई निरुत्साहित गर्ने नारामा जोड दिइएको हो ।

विश्वभरका १ करोड ६० लाख जना युवतीले १८ वर्ष भन्दा कम उमेरमै बच्चा जन्माउने गरेको राष्ट्रसंघको तथ्यांक छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा १५ देखि १९ वर्ष सम्मका १७ प्रतिशत महिला किशोरावस्थामा गर्भवती हुने गरेका छन् ।

किशोरावस्थामै गर्भाधानको समस्या नेपालमा जस्तै विश्वका धेरै देशको साझा समस्या हो । त्यसैले संयुक्त राष्ट्रसंघले नै यस्तो समस्या नियन्त्रण गर्न यस वर्षको दिवसमा विशेष पहल गरेको छ । आफ्नो ईच्छाले गर्भाधान गर्न पाएमात्रै शिशुको जन्म र आमाको स्वास्थ्य सुरक्षित हुने भएकाले किशोरावस्थामा हुने गर्भाधानलाई निरुत्साहित गर्नुपर्नेमा राष्ट्रसंघले जोड दिएको छ ।

आफ्नो शरीरमाथि आफ्नै अधिकार

आफ्नो शरीरमाथि आफ्नै अधिकार हुनुपर्ने कुरालाई पनि जोडदार रुपमा उठ्न थालेको छ । किशोरीहरुले अलिकति सचेत हुने हो भने किशोरावस्थामा हुने गर्भाधान रोक्न सकिने विज्ञहरु बताउँछन् ।

किशोरी स्वास्थ्यको विषयमा कलम चलाउँदै आउनुभएकी डा. अरुणा उप्रेती भन्नुहुन्छ -’आफ्नो शरीरमाथि आफ्नै अधिकार हुन्छ भन्ने कुरालाई ध्यानमा राखेर हेर्ने हो भने किशोरीहरूले एउटा कुरा बुझ्नुपर्छ, कि सानो उमेरमा राखिने यौनसम्पर्क र प्रेमको नाममा आफ्नो जिम्मेवारीबोध नगरी यौनसम्पर्क र गर्भवती हुनुको अर्थ हो,- तिमीहरूले आफ्नो शरीरलाई आदर गरेका छैनौं । तिमीहरूले प्रेमलाई केवल यौनसम्बन्धसँग मात्रै जोडेर हेर्छौ र, “यौनसम्पर्क भएर के भो त ?, गर्भपतन गराइहाल्छु नि !”, भन्ने विचार गर्छौ । यदि यस्तो हो भने तिमीहरूले ठूलो भूल गरिरहेका छौ । सबभन्दा पहिले त किशोरावस्थामा यौनसम्पर्क गर्दा आफ्नो शरीरमाथि के-के समस्या हुनसक्छ भन्ने कुरा जानीसकिएको हुँदैन । तिमीहरूमध्ये कमैलाई थाहा होला कि किशोरावस्थामा यौनसम्पर्क गर्दा पाठेघरको क्यान्सर हुने सम्भावना हुन्छ । फेरि यदि गर्भ रहयो भने गर्भपतनको सुविधा छ भने पनि तिमीहरूलाई अनेकौं कठिनाइ पर्न सक्छ ।

‘सानो उमेरमा शरीर नै राम्रोसँग परिपक्व नभएकाले यौनसम्बन्ध राखेपछि, प्रजनन स्वास्थ्यमा नकारात्मक असर पर्छ । यदि तिमीहरू गर्भवती भयौ भने सामाजिक संरचनाले घरका मानिसहरूलाई भन्न नसकेर, अब के गर्ने, कसो गर्ने भन्ने चिन्ताले छटपटिएर मानसिक रूपमा पनि अस्वस्थ हुन सक्छौ ।’ डा उप्रेतीको भनाइ छ ।

किशोर अवस्थाको प्रेम पानीको फोका झैं हुने भएकाले सावधानी अपनाउन डा. उप्रेतीको सल्लाह छ । यसबाहेक घर परिवारले चाँडो विवाह गर्न दबाब दिने गर्दा पनि किशोरावस्थामा गर्भाधान हुने समस्या उस्तै छ । ‘बिहेबारी २० वर्षपारी’ भन्ने नारालाई व्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्नेमा विज्ञहरुको जोड छ । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...