कैलाश विकास बैंक ठगी काण्डमा थप तीन जना पक्राउ

पोखरा, १ असार /२२ चैत २०७३ मा पोखराकै १ सहकारीको नाममा भएको चेक लिएर ग्राहक कैलाश विकास बैंकको न्युरोड शाखामा पुगे । २० लाख रुपैयाँ भुक्तान लिन अन्तिममा ४६ नम्बर भएको चेक लिएर उनी त्यहाँ पुगेका थिए । आजको समाधान दैनिकमा खबर छ ।

उक्त नम्बरको चेकबाट पहिला नै लामाचौर शाखाबाट रकम भुक्तानी भएको बैंकको सिस्टममा देखियो । टेलरका कर्मचारीले लामाचौर शाखाका तत्कालीन ब्रान्च मेनेजर रविचन्द्र खनाललाई फोन गरे । खनालले ४६ को ठाउँमा ४७ नम्बरको चेक इन्टी गरेर पैसा दिन भने । न्युरोड शाखाका टेलरका कर्मचारीले त्यसै अनुसार गरे । अर्को दिन फेरी त्यही सहकारीको ४७ नम्बरको चेक न्युरोड शाखामै साट्न पु¥याइयो । सहकारीलाई नसोधी बैंकका कर्मचारीले पुन खनाललाई नै सोधे ।

४७ को ठाउँमा ५९ नम्बर इन्ट्री गरेर रकम दिन भने । त्यसै अनुसार रकम भुक्तान भयो । यही केसमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले सोमबारमात्र बैंकको न्युरोड शाखाका ३ कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अपरेसन इन्चार्ज लक्ष्मी कँडेल, टेलर सुष्मा शर्मा र दीपिका कोइरालालाई सिआइबीले उच्च अदालत दाङ बुटबल इजलासबाट बैकिङ कसुर मुद्धामा मंगलबार ७ दिनको म्याद थपेको अदालतका निमित्त रजिस्टार अर्जुनबहादुर रावतले बताए । सिआईबी प्रवक्ता एसपी मीरा चौधरीले बैंक ठगी प्रकरणमा एकपछि अर्को घटना खुल्दै आएको बताइन् ।

उनका अनुसार यो प्रकरण अनुसन्धन गर्न इन्स्पेक्टर टीका रेग्मी नेतृत्वको टोली पोखरामा नै खटिएको छ । रेग्मीले सहायक कर्मचारी सहयोगमा मेनेजर खनालले ठगी गरेको प्रशस्त प्रमाण जुटेको बताए । रेग्मीले यिनीहरुको सहयोग बिना मेनेजरले ठगी गर्न सक्ने अवस्थानै देखिदैन । बिनाचेक पटकपटक नम्बर फेरेर भुक्तानी दिने कर्मचारीको सरासर गल्ती भएको उनले बताए ।

अहिले प्रक्राउ परेका ३ र पहिले पक्राउ परेका ४ जना कर्मचारीलाई बैंकिङ कसुर ऐन २०६४ अनुसार मुद्दा चलाउने बताए । यसअघि लामाचौर शाखाका अपरेसन इन्चार्ज शिवराज अधिकारी, सहायक कर्मचारी रिगु आचार्य, रविना थापा र सीमा पन्थ पक्राउ परेका थिए । कैलाश विकास बैंक लामाचौर शाखाका तत्कालीन मेनेजर रविन्द्र खनालले बैंक र सर्वसाधारणको करोडौ रकम हिनामिना गरेर अमेरीका फरार भएका थिए ।

 

कमेन्टहरु
Loading...