पोउवा संघद्धारा नवनिर्वाचित जनप्रतिनिधीहरुको स्वागत र सम्मान 

पोखरा, २२ जेठ । पोखरा उद्योग वाणिज्य संघले कास्कीबाट निर्वाचित जनप्रतिनिधीहरुको स्वागतसहित सम्मान गरेको छ । संघले सोमबार एक भव्य कार्यक्रमबीच पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीसहित सम्पूर्ण वडाध्यक्ष तथा कास्कीका ४ वटा गाउँपालिकाका प्रमुख र उपप्रमुखलाई सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा बोल्दै संघ तथा कार्यक्रमका अध्यक्ष विश्वशंकर पालिखेले जनप्रतिनिधीहरुको सफल कार्यकालको कामना गर्दै निजी क्षेत्र मैत्री प्रशासन संचालन संघको अपेक्षा भएको बताउनुभयो । पोखरा उद्योग वाणिज्य संघ सार्वजनिक निजी साझेदारीको अवधारणा अनुसार जननिर्वाचित निकायहरुसँग हातेमालो गर्न तयार रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो,‘कृषिको व्यवसायिकरण, निजी क्षेत्र मैत्री स्थानीय निकायसहितको स्मार्ट सिटीको लागि सघाउन निजी क्षेत्र तयार छ ।’
 पोखरा उद्योग वाणिज्य संघले पोखरा महानगरपालिकासँग विभिन्न परियोजनामा सहकार्य गरेको स्मरण गर्दै अध्यक्ष पालिखेले एकिकृत सम्पत्ति करको विषयमा भने सुरुको सहमति अनुसार काम हुन नसकेको जिकिर गर्नुभयो ।‘ हामी निजी क्षेत्र  कर तिर्न तयार छौँ तर एकिकृत सम्पत्ति  करमा हलो अड्काएर गोरु चुट्ने काम भएको छ’, उहाँले भन्नुभयो,‘ सुरुका दिनमा भएको सम्झौता कार्यान्वयन गरौँ ।’ फुटपाथमा हुने अनधिकृत व्यापार र पोके व्यापारी नियन्त्रणमा महानगरको ध्यान पुग्नु पर्नेमा उहाँको जोड थियो ।
 संघको स्वागतप्रति कृतज्ञता ज्ञापन गर्दै पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख मानबहादुर जिसीले पारदर्शी भएर नै करको दायरा निर्धारण गर्ने वचनवद्धता व्यक्त गर्नुभयो । ‘हामीलाई दृष्य वा अदृष्य रुपले  कर असुलेर महानगर बनाउनु छैन’, उहाँले भन्नुभयो,‘अहिले तत्काल कर नीतिमा दायाँबार्याँ हुँदैन,तपाईँहरुसँग केही छ दिनुहोस्, खुलासा गर्नुहोस् ।’ स्थानीय निकाय परिचालनको लागि चाहिने नीति नियम निर्माण नभइसकेकाले अहिलेकै साधन र स्रोत परिचालन गरी सम्वृद्ध महानगरपालिका बनाउनु पर्ने उहाँको भनाई थियो । पोखरालाई उद्यमी÷व्यवसायीको  सहर बनाउने धोको रहेको बताउँदै उहाँले सुरक्षाको ग्यारेण्टी, पूर्वाधारसम्मको पहुँच निर्माणमा आफ्नो ध्यान केन्द्रित हुने बताउनुभयो ।
पोखरामा रहेका ४ लाख १४ हजार जनतालाई चाहिने अत्यावश्यक सामाग्री यहीँ उत्पादनको वातावरण निर्माण गर्ने उद्घोष गर्दै सके निर्यातको लागि पनि आफूले काम गर्ने  उहाँको उद्घोष रहेको थियो । आफू चुनाव अगाडिसम्म एमालेको नेता भए पनि अब महानगरको साझा अभिभावकको रुपमा बुझिदिन उहाँले आग्रह पनि गर्नुभयो ।   कार्यक्रममा बोल्दै संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्कीले छाडा चौपाया नियन्त्रण, औद्योगिक क्षेत्रको व्यवस्थापन, पोखरा बसपार्क निर्माण लगायतका भौतिक पूर्वाधार निर्माणमा महानगरको ध्यान पुग्नुपर्नेमा जोड दिनुभयो ।
 संघका महासचिव दामु अधिकारीले पोखरा उद्योग वाणिज्य संघ जिल्लास्तरीय उद्योग वाणिज्य संघ भएकाले जिल्लाका सबैजसो क्षेत्रका विकास निर्माणका काममा हातेमालो गर्न तयार रहेको बताउनुभयो । पोखराको विकासको लागि आसपासका गाउँपालिकाहरु पनि सम्वृद्ध बन्नुपर्छ भन्ने संघको पुरानो मान्यता रहेको उहाँले स्मरण समेत गर्नुभयो ।  सो कार्यक्रममा उपस्थित निजी क्षेत्रका प्रतिनिधीहरुले संस्थागत तथा व्यक्तिगत रुपमा नवनिर्वाचित जनप्रतिनिधीहरुको स्वागत र सम्मान व्यक्त गर्नुभएको थियो ।
कमेन्टहरु
Loading...