पोखरा, १५ जेठ/पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ४ चिप्लेढुङ्गा, विपिचोकस्थित घामपानी मार्केट सुरु भएको छ शुक्रबारदेखि संचालनमा आएको मार्केटको उद्योगपति तथा समाजसेवी गणेश बहादुर श्रेष्ठले शुभारम्भ गरे ।
घामपानी मार्केट्स कम्पनी लिमिटेडका रुपमा संचालन गरिएको हो । केही वर्षअघि संचालित घामपानी कृषि सहकारी संस्थाका ४४ सेयर सदस्य मिलेर सर्वसुलभ मूल्यमा किनमेल गर्ने व्यापारिक केन्द्रका रुपमा मार्केट्स संचालनमा ल्याएको सञ्चालक मध्येका एक धुव्रराज पोखरेले जानकारी दिए । एउटै छानामुनि ५२ व्यापारिक पसलले ग्राहकको रोजाई अनुसार बिक्री गर्ने पोखरेले बताए ।
कार्यक्रममा घामपानी कृषि सहकारीका अध्यक्ष तथा सल्लाहकार समितिका संयोजक वीरेन्द्र नारायण विजुक्छेले ४ करोड रुपैयाँको लगानीमा अत्याधुनिक एवं सुविधासम्पन्न रहेको मार्केट्स तयार गर्न १ वर्ष लगेको बताए । अहिले सबै सटरहरु बुकिङ भइसकेको र व्यवसायीहरुले आफ्नो व्यवसाय शुरु गरिसकेको उनले बताए । मार्केट्समा आन्तरिक व्यावसायिक पर्यटनले व्यापारलाई सघाउने उनको विश्वास छ ।
मार्केट शुभारम्भको पहिलो महिनामा सामान किन्दा १० देखि २५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको छ । मार्केट संचालक समितिका सचिव विश्वकुमार विजुक्छेका अनुसार मार्केट्समा सहकारी, रेष्टुरेन्ट, फेन्सी, सुनचाँदी, बुटिक, व्युटिपार्लर, जुत्ता पसलहरु रहेका छन् । पार्किङ, फ्रि वाइफाइ, २४ सै घण्टा वत्तिको व्यवस्था, मार्केटका व्यवसायीहरुले मेशिनबाटै विजुली, टेलिफोन र केवलको शुल्क बुझाउन सक्नेछन् ।
हरेक वर्गलाई समेटिएका सामानहरु रहेको र प्रयाप्त मात्रामा अग्नि नियन्त्रण सिलिन्डरको सुविधा, प्रत्येक पसलको इन्सुरेन्स, हाइजनिक रेष्टुरेन्ट एवं फुडकोर्टको व्यवस्था मार्केट्समा छन् ।