एडिएसएलभन्दा झुर अर्को कुनै छ ?

मनोज दाहाल 

 नेपाल टेलिकमको एउटा महान विशेषता छ, यसले सम्भवतः संसारकै सबैभन्दा झुर इन्टरनेट लाइन बेच्छ– एडिएसएल सेवा । एडिएसएल लाइन अर्को थरि पनि हुन्छ क्यार, तर तपाईंहामीले घरमा जोडेको महिनाको १ हजार १७ रुपैयाँ तिर्नुपर्ने टेलिकमको इन्टरनेट सेवा कति घटिया छ भने त्यसको बखान म शब्दमा गर्न सक्दिन ।

सधैं चलेको हिसाब गर्ने हो भने त्यो महिनाको एक हप्ता पनि राम्ररी चल्दैन । मलाई लाग्दैन– मेरो घरमा मात्र टेलिकमले एडिएसएलको रद्दी लाइन पठाएको हो! एक वर्षअघि मैले घरमा एडिएसएल जोड्नुअघि गतिलो विकल्प हुनसक्छ कि भनेर खुब विचारेको थिएँ । सबै विकल्पहरू एडिएसएलभन्दा गतिलै हुँदा रहेछन् । तर, म एडिएसएलमै फसे । फसे कसरी भने एडिएसएल जोड्न ५ सय रुपैयाँमात्र लाग्दो रहेछ, जबकि अरू सबै इन्टरनेट सेवा जोड्नै चर्को खर्च लाग्ने ।

एकजना साथीले भन्यो, ‘मेरो घरमा पनि एडिएसएल छ, राम्ररी त चल्दैन, तर नट ब्याड है, मुख्य कुरा हजार रुपैयाँमा महिनावारी इन्टरनेट चौबीसै घन्टा कहाँ पाइन्छ र, केही राम्रोका लागि तिमीले केहीमा सम्झौता त गर्नैपर्छ नि !’ २५ सय रुपैयाँ तिरेर राउटर भन्ने एउटा सानो उपकरण किनिसकेकै थिएँ ।

लौ त लौ भनेर मैले एडिएसएल जोड्न टेलिकममा निवेदन दिएँ। फोन जोड्न निकै सास्ती व्यहोर्नुपरेको थियो, झन्डै पन्ध्र दिनसम्म मित्रपार्कस्थित टेलिकम कार्यालय धाएर निकै माथापच्ची गरेपछि बल्ल घरमा ल्यान्डलाइन जडेको थिएँ । एडिएसएल त कति छिटो भयो भने टेलिकममा पैसा तिरेर घरमा आएँ, एउटा भाइले राउटरमा तार गाँस्दियो, खै कता–कता के के मिलायो, चारवटै बत्ती झिलिकझिलिक बल्न थालिहाले ।

फेसबुक खोलिहालेँ । मैले ल्यापटपमा इन्टरनेट चलाउन थालेपछि भाइ पनि डेस्कटपको धुलो झार्न थाल्यो । एकछिनमा त ऊ पनि फेसबुकमा च्याट गर्न थालिहाल्यो । धेरैजसो अफिसमै इन्टरनेट चलाउँथे । घरमा त बिहानबेलुका कहिलेकाहिँमात्र खोल्थेँ । अफिसमै दिनभरि इन्टरनेट चलाएर थाकेको दिमाग घरमा कम्युटर अन गर्न पनि झिँझ्याट मान्थ्यो । भाइहरूले चाहिँ भन्न थालेका थिए, ‘खत्तम रैछ यो एडिएसएल त, कहिल्यै त चल्दैन ।’

म उनीहरूलाई हप्काउँथे, ‘नकराओ! चलिरहेकै छ त, खुरुखुरु कोर्सका किताब नपढेर २४ घन्टै इन्टरनेटमा झुन्डियो, अनि के चलोस् त एडिएसएल । यसलाई पनि रेस्ट दिनु पर्दैन अलिअलि?’ म राति कहिलेकाहिँ पिसाब फेर्न वा नानीलाई दुध तताउन उठेको बेला एडिएसएल चलेको संकेत गर्ने राउटरका चारैवटा बत्तीहरू झिलिलिली बलेका हुन्थे । अनि कसरी पत्याउनु भाइहरूका कुरा!

जब नागरिक दैनिक छाडेँ, सेतोपाटी अनलाइन सुरु गर्‍यौं, बुबाआमा पनि अमेरिका जानुभयो, दिनदिनै स्काइपमा कुरा गर्नुपर्ने भयो, अनि बल्ल थाहा पाएँ– कति घटिया रहेछ एडिएसएल! कति झुर सेवा बेच्दो रहेछ टेलिकमले भन्ने बल्ल बुझेँ । भाइहरूको कुरा पत्याएको थिइनँ, बल्ल घैँटोमा घाम लाग्यो । विगत साढे तीन महिनादेखि चौबीसै घन्टा इन्टरनेटमा बस्नुपर्ने अनलाइन पत्रकारितामा जब म प्रवेश गरेँ, त्यसपछि एडिएसएल कन्टिन्यु एक घन्टा पनि चलेको आइडिया छैन मलाई ।

एडिएसएलले जहिल्यै मेरो पारा गरम भइरहेको हुन्छ । दिउँसो त अफिसमा महिनाको हजारौं तिरेर द्रुतगतिको इन्टरनेट सेवा लिएको छ, कुरै भएन, न्युज थाहा पाएको दुई मिनेटमै अनलाइनमा राख्दिहाल्छौं । बिहान–बेलुका जब घरमा कुनै न्युज अपडेट गर्नुपर्ने हुन्छ, एकैचोटिमा कहिल्यै हुँदैन । एउटा सानो न्युज राख्न दुई घन्टा लाग्छ । श्रीमतीलाई ‘पख है, म दस मिनेटमा न्युज अपडेट गरेर छोरी हेर्न आइहाल्छु’ भन्यो, तीन घन्टासम्म इन्टरनेट चल्दैन । बिहान १० बजे आएको न्युज दिउँसो १ बजेसम्म पनि राख्न नसकेपछि त्यो दिनभरि टाउको गरम भइरहन्छ ।

श्रीमती रिसाउँछे, ‘कस्तो हो तपाईंको काम पनि, चौबीसै घन्टा कम्युटरमा मात्र झुन्डिरहनुहुन्छ, घरमा बसेका बेला त एकछिन नानी हेर्दिनु पर्छ नि !’ म के जवाफ दिऔं । एकछिन त श्रीमती र एडिएसएल दुवैलाई सहन्छु । निकै बेरसम्म इन्टरनेट नचलेपछि एडिएसएलको रिस श्रीमतीलाई नै झार्छु, ‘कति किचकिच गरेको, अनलाइनमा काम गरेपछि यस्तै त हो नि, न्युज आएपछि राख्नु परेन ?’

हतारिँदै बल्ल न्युज राख्यो, फोटो राख्ने बेला राउटरको बत्ती निभिसक्छ । त्यसपछि मेरो टाउको दुख्न सुरु हुन्छ । पावर अफ गरेर अन गर्छु । पावरको बत्ती बल्छ, इन्टरनेटको बत्ती झिलिकझिलिक गर्छ, बल्दैन एकछिनपछि वाइफाइको बत्ती बल्छ, निकैबेरमा तेस्रो बत्ती बल्छ, अब इन्टरनेटको बत्ती बल्छ होला, अब बल्छ होला भनेर पर्खियो, बल्दैन । एकछिनमा एडिएसएलको बत्ती पनि निभ्छ । पावर र वाइफाइको बत्तीमात्र झिलिलिली बलिरहन्छन् ।

राउटरमा चारैवटा बत्ती त मुस्किलले मात्र बल्छ ।

अमेरिकामा बुबाआमासँग राम्ररी कुरा नगरेको महिनौं भइसक्यो । चारैवटा बत्ती बलेको बेला हत्तपत्त ल्यापटप खोल्यो, स्काइपमा लग इन गर्‍यो, उता भाइहरू अनलाइन हुँदैनन्, यताबाट फोन गरेर ‘स्काइपमा आओ है’ भन्दासम्म आफू अफलाइन भइसकेको हुन्छु। यसो राउटरतिर हेर्‍यो, कि तीनटा, कि दुइटा बत्तीमात्र बलिरहेको हुन्छ । अमेरिकाबाट भाइ रिसाउँदै फोन गर्छ, ‘क्या हो, स्काइपमा आउनू भनेर आफूचाहिँ अफलाइन?’ अनि एडिएसएलको रिस पनि भाइलाई नै झार्छु ।

आधा घन्टामा बल्ल चारैवटा बत्ती बलेपछि फेरि स्काइपमा बस्यो, कुरा गर्दागर्दै राउटरको बत्ती निभिसक्छ । त्यहीमाथि ल्यान्डलाइनमा फोन आयो भने त इन्टरनेट झ्याप्पै गइहाल्छ । अनि ल्यापटप बन्द गरेर टेलिफोन गर्छु । एडिएसएललाई सराप्यो, फोनमै कुरा गर्‍यो । ढुक्क !

एडिएसलका यस्ता तीता अनुभव कति छन् कति । अर्को एउटाचाहिँ सेयर गरेर टाउको हलुङ पार्छु । एक दिन किरण (सहकर्मी किरण भण्डारी)ले राति आठ बजे एक घन्टामा न्युज पठाउँछु भनेर फोन गर्‍यो । हतारहतार भात खाएर नौ बजेदेखि इन्टरनेटमा बसेँ । फेसबुक चलाएँ । ट्विटरमा स्टाटस अपडेट गरेँ । इमेल खोलेँ । एकदुइटा न्युज साइट हेरेँ । राउटरमा चारैवटा बत्ती झिलिलिली बलिरहेका थिए ।

किरणले न्युज पठाउन दस बजायो । हतारहतार एडिट गरेर न्युज पोस्ट गर्न खोज्दा भएन । आँखा राउटरमा पुगे, इन्टरनेटको बत्ती निभिसकेको रहेछ । आधा घन्टापछि किरणले उताबाट फोन गर्‍यो, ‘न्युज हाल्देनऊ ?’ मेरो पारा गरम भइरहेको थियो । भनेँ, ‘तिमी रातिराति न्युज पठाउँछौ, यति राति के हाल्ने? कसले पढ्छ? अब भोलि बिहान हाल्ने हो ।’

आफू भने न्युज पोस्ट गर्न निकैबेर इन्टरनेट आउँछ कि भनेर कुरिरहेँ । आएन । राति बाह्र बजेसम्म पनि इन्टरनेट नआएपछि ल्यापटप छेउमै राखेर झकाएछु । एक बजे आँखा खोले, राउटर चेक गरेँ । बत्ती बलेको छैन । दुई बजे बत्ती बलेको छैन । तीन बजे बत्ती बलेको छैन । चार बजे यसो हेरेको, चारैवटा बत्ती झिलिली बलिरहेका रहेछन् । हताहतार न्युज पोस्ट गरेँ । साढे चार बजे सुत्दा बत्ती झिलिलिली बलिरहेकै थिए ।

छोरीको स्कुलबस आठ बजे आउँथ्यो । सात बजे त उठ्नैपर्‍यो । आँखा बेस्मारी पोलिरहेका थिए । दिउँसो अफिसमा किरणले भन्यो, ‘तिमीले त राति रिसाएर न्युज नै राख्देनछौ यार, बिहानमात्रै पो बल्ल आयो । टाइममा न्युज राख्देको भए अहिले भिजिटर दस हजार नाघिसक्थे होलान् !’

के जवाफ दिनु !

प्लिज कसैले बताइदिनुहुन्छ, एडिएसएल फ्याँकेर म घरमा कुन इन्टरनेट राखौं? सस्तो र राम्रो दुवै विकल्प भएको इन्टरनेट सेवा कुन होला?

– See more at: http://setopati.com/blog/2234/#sthash.mhGoQGdE.dpuf

कमेन्टहरु
Loading...