गुञ्जन छाड्यो सारङ्गीको धुन

महेशकुमार खाती
पोखरा, २२ असार

‘गाईने दाइको सारङ्गीले जीवनको कथा भन्छ,
काम गर्ने भोकै मर्ने चलनको अन्त्य हुनुपर्छ’

मिना स्वर्णकारले गाएको यो गीत प्रयाप्त छ सारङ्गी र गन्धर्वलाई चिन्नको लागि । सारङ्गीले सुख, दुःखसंगै बीरताका गाथामात्र नभएर सिंगो जीवन बोल्छ । आफ्नै भाकामा सारङ्गीको तार रेटेकै भरमा । तर, त्यही पुरानो संस्कृति अहिले लोप हुने क्रममा पुगेको छ ।
ggggggggggसारङ्गी रेटेर गीत गाउँदै कसैलाई नचाउने, कसैलाई रुवाउने अनि हसाँउने गन्धर्व समुदायको पुख्र्याैली पेशा अहिले लोप हुने अवस्थामा पुगेको हो । गीतको पछिल्लो लाईनमा भनिए जस्तै अरुलाई हसाए अनि रुवाए तर आफ्नो जीवन सधंै भोकमै रह्यो । ‘हाम्रो पुरानो संस्कृति अहिले लोप हुने अवस्थामा पुगेको छ’ सारङ्गी बादक कलाकार धनबहादुर गायकले भने–‘राज्यले संरक्षणको लागि पहल गरेन, हामी माथी हुने विभेद पेशा हराउँदै जाने अर्को कारण हो ।’ युवापुस्ता सारङ्गी बजाउने पेशातर्फ आकर्षित नभएपछि गन्धर्व समुदायको पुख्र्याैली पेशा अहिले सङ्कटमा पर्दै गएको हो ।
देशका अन्य ठाँउमा जस्तै पोखरा वरिपरि विभिन्न स्थानका गन्धर्वहरुले सारङ्गीको धुनमा देश विदेशका ताजा र सन्देशमुलक सूचना प्रवाह गीतको माध्यमले गर्ने गर्थे । गाँउका कुना कन्दरादेखि शहरबजारका घरदैलो गन्धर्वहरुको सारङ्गीको धुन र स्वरले गुञ्जन्थे । अहिले भने देख्नै मुस्किल पर्छ । ‘सारङ्गी रेटेर आफ्नो कला पस्कदा पनि माग्न गए जस्तो व्यवहार गर्ने, घरको पिढीमा सम्म बस्न नदिने, छोईछिटो गर्ने भएकाले नयाँ पुस्ता त्यतातिर लागेनन्’ लोप हुदै जानुको कारण खोल्दै गायकले भने–‘हाम्रो श्रमको सहि मुल्याङकन भएन, जीवन धान्न गाह्रो भो त्यसैले सबैले छाडे ।’

गन्धर्वहरुले सारङ्गीको धुनमा गाउने पुराना लोकगाथा, कर्खा, घटना गीत, सोरमै रानी, मनकोई, डाँफे र मुरलीको बियोगान्त गीतहरु पूर्ण रुपमा गाउने गन्धर्वहरु पाउन मुश्किल हुने बताउँछन् यस बिषयमा अनुसन्धान गरेका डा. कुशुमाकर न्यौपाने । ‘पुराना गीत, बीरताका गाथा, ऐतिहाँसिक तथा पौराणिक गीत गाउने गन्धर्वहरु भेट्न अहिले गाह्रो हुन्छ’ उनले भने–‘समाजले सन्देश र मनोरञ्जन गन्धर्वहरुबाट लिएपनि हेय दृष्टिले हेर्दा लोप हुदै गएको हो ।’ देशका ४० जिल्लामा गन्धर्वहरुको बसाई भएपनि पश्चिम क्षेत्रमा बाक्लो बसाँई, सारङ्गी र गीत गाउनेहरु बढी छन् । २०६८ को जनगणना अनुसार देशभर करिव ७ हजार गन्धर्वको जनसंख्या छ ।

Mainkhabar-sarangiदलित समुदायमा पर्ने गन्धर्वले ब्यवसायिक रुपमै सारङ्गी रेटेर जीविका चलाउने पोखरा आसपासमा हातको औंलामा गन्न सकिन्छ । देशभर पनि यो संख्या केही दशक अघिको तुलना न्यून रहेको छ । सारङ्गी बजाउने र गीत गाउन छाडेर बैकल्पिक पेशाको खोजीमा नयाँ पिढी लागेका छन् । पोखरा–१६, बाटुलेचौरका करिव २५ गन्धर्वले कुनै बेला सारङ्गी बोकेर गीत गाँउदै हिड्थे । अहिले बजाउने करिव १० जना छन तर घरदैलो गर्दैनन् । व्यवसायिक रुपमा बजाउने गर्छन् । कास्की, पाल्पा, अर्घाखाँची, गुल्मी, बागलुङ, कपिलबस्तु, रुपन्देही, काठमाण्डौं, कञ्चनपुर लगायका जिल्लामा बस्ने गन्धर्वले सारङ्गी बजाउने गर्छन ।

सारङ्गीको धुन र गन्धर्वको स्वर देशब्यापी रुपमा चर्चित बनाउने मुख्य श्रेय बाटुलेचौरमै जन्मेका झलकमान गन्धर्वलाई जान्छ । उनी ‘आमाले सोध्लिन खै छोरा भन्लिन…’ भन्ने लगायतका चर्चित गीतका गायक हन् । पश्चिम नेपाल आफैमा पनि लाहुरेको बाक्लो बस्ति भएको ठाँउमा उनले गाएका लाहुरेका बीरता र गाथाका गीतले सन्देशसंगै प्रशस्तै मनोरञ्जन दिन्थ्यो । गन्धर्वको संरक्षण र सम्बद्र्धनमा त राज्यले केहि पनि गरेन करिव ६० बर्षदेखि सारङ्गी बजाउदै आएका बाटुलेचौरकै बरीष्ठ सारङ्गी बादक खिमबहादुर गायकलाई बिरामी पर्दा समेत हेर्न सकेन सरकारले । ‘हाम्रो संस्कृतिको संरक्षणको लागि त केहि गनेर राज्यले तर बर्षौदेखि यहि पेशामा लागेका बरिष्ठ सारङ्गी बादक खिमबहादुर गायकलाई हेर्नुप¥थ्यो’ धनबहादुरले भने–‘तर राज्यले केही गरेन, हाम्रो संस्कृति सरक्षणमा केही गरिदिए हुन्थ्यो भन्ने छ ।’

गन्धर्वहरुले धुनसंगै गाउने विभिन्न सकारात्मक तथा नकरात्मक गीतले समाजलाई सहि सन्देश दिने बताउँछन न्यौपाने । ‘सुन्नु होला दिएर ध्यान, बाउले छोरी मारेको बयान.., नखेल्नु जुवा र तास धनको नास जीवनको बनबास…’ भन्ने सन्देशमुलक गीत पनि गन्धर्वले गाउने गर्थे । अहिले जस्तो सञ्चार र सूचना नभएको आजभन्दा दशकौं अघि कुना कन्दरामा मनोरञ्जन र सन्देश बाहक थिए मात्र गन्धर्वहरु । सङ्गीत क्षेत्रमा पनि आधुनिक र पश्चिमी प्रविधिको बढ्दो प्रभाबले सारङ्गी र कला लोप हुनुमा अर्को कारण हो । पछिल्लो समयमा संस्कृति र कला बँचाई राख्न बालबालिकालाई पोखरामा सारङ्गी प्रशिक्षण दिन शुरु भएको छ धनबहादुरकै सक्रियतामा झलकमान गन्धर्व सारङ्गी पाठशालामा अहिले २० जना बालबालिकाले सारङ्गी र गीत सिकिरहेका छन् ।

‘नेपाली संगितको क्षेत्रमा गन्धर्वको ठूलो भूमिका छ, राज्यले यसलाई बचाईराख्नु प¥थ्यो तर अहिले सम्म केहि गरेन’ पोखरामा गन्धर्व गुञ्जन गर्न लागेको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव आभासले भने–‘गन्धर्वका समस्या सम्बोधन नगरे अब ढिला हुन्छ, लोप हुन लागेको गन्धर्व सङ्गीतलाई बँचाई राख्नको लागि राज्यले सम्भवत पहिलो पटक उनीहरुका समस्या सुनेर नीति नियम बनाउने छौं ।’ उनले युवा पुस्तालाई कलाप्रति चाख जगाउन यस्ता किसिमका कार्यक्रमले सघाउने बताए ।

कमेन्टहरु
Loading...