नेपाल र लायन्सको झण्डा सगरमाथामा फरफराउने तयारीमा दृृष्टिबिहीन केसी

सुरेन्द्र पौडेल
पोखरा, ७ चैत / अमिट केसीले बाहिरी संसार देख्दैनन् । तरपनि उनी निकै सहासी छन् । दृष्टिबिहीन भएर पनि अहिलेसम्म ६ हजार मिटर भन्दा अग्लो २ वटा हिमालको सफल आरोहणले नै उनको सहासलाई प्रमाणित गर्छ ।

६ हजार १ सय ८६ मिटर अग्लो आइसल्यान्टिक, ६ हजार ६ सय ५४ मिटर अग्लो मेरापिक हिमालको सफल आरोहण गरिसकेका उनले सगरमाथा चढ्ने दृढ आत्मविश्वास लिएका छन् । उनै दृष्टिबिहीन केसीको सगरमाथा चढ्ने सपनाको नजिकको साथी बनेको छ लायन्स क्लब ।

उनको सपना पुरा गर्नका लागि नेपालमा रहेका चारैवटा डिष्ट्रिक्टहरुले सहयोग संकलनलाई तिब्र बनाएका छन् । लायन्सका अन्तर्राष्ट्रिय निर्देशक सञ्जय खेतानको आह्वानमा नेपालका लायन्सहरु केसीको सहयोगमा जुटेका हुन् ।

यसैक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ पनि केसीको सहयोगमा जुटेको छ । काठमाडौंमा सम्पन्न पाँचौं कन्भेन्सनका अवसरमा खेतान र डिष्ट्रिक्ट गभर्नर बालकृष्ण बुर्लाकोटीको आह्वानमा डिष्ट्रिक्टका एडभाइजर मोहनबाबु खड्कालाई संयोजक तोकेर सहयोग संकलनलाई तिब्र बनाइएको छ ।

डिष्ट्रिक्टबाट हालसम्म ३ लाख ६२ हजार रुपैयाँ सहयोगको प्रतिबद्धता आइसकेको संयोजक खड्काले जानकारी दिए । डिष्ट्रिक्टबाट करिब ७ लाख रुपैयाँ सहयोग संकलन गर्ने आफूहरुको लक्ष्य रहेको खड्काले बताए ।

सहासका साथ सगरमाथा आरोहण गर्न लागेका केसीलाई डिष्ट्रिक्टबाट सहयोग गर्न पाउँदा आफूहरु निकै खुसी रहेको गभर्नर बुर्लाकोटीले बताए । ‘सहयोगका लागि म सबै लायन्स क्लब र लायन साथीहरुलाई आग्रह गर्दछु,’ उनले भने ।

समाज र राष्ट्रका लागि योगदान र लायन्सको गरिमालाई कायम राख्दै लायन्स स्थापनाको एक सय वर्ष पुगेको उपलक्ष्यमा लायन्स र नेपालको झन्डा सहित केसीले सगरमाथा आरोहण गर्न लागेका हुन् । केसीको अभियान सफल पार्न डिष्ट्रिक्ट ३२५ ए १, ए २ र बि २ ले सहयोग संकलन गरिरहेको बताइएको छ ।

सगरमाथा चढ्नका लागि टे«निङसहित करिब १ करोड रुपैयाँ खर्च लाग्ने केसीले बताए । ‘चैत २० गतेबाट मेरो सगरमाथाको आरोहण सुरु हुन्छ,’ उनले भने, ‘युवाहरुलाई प्रोत्साहन गर्न पनि मैले यो सहास गरेको हुँ ।’

कमेन्टहरु
Loading...