आर्थिक पत्रकारिता सम्बन्धी दुई दिने अभिमुखीकरण

लुम्ले, २७ फागुन/मुख्यतः आर्थिक बिटमा कलम चलाईरहेका पत्रकारका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । अर्थ मन्त्रालयको आयोजना तथा नेपाल पत्रकार महासंघ कास्कीको संयोजनमा कास्कीको लुम्लेमा सञ्चालित तालिममा पश्चिमाञ्चलका विभिन्न जिल्लाका पाँच दर्जन पत्रकार सहभागी छन् । शुक्रबार र शनिबार चल्ने तालिममा आर्थिक पत्रकार समाज (सेजन) का अध्यक्ष गोकर्ण अवस्थी, हिमाल खबर पत्रिकाका सम्पादक किरण नेपाल लगायतले सहजीकरण गर्नेछन् ।

तालिमको उद्घाटन अबसरमा पश्चिमाञ्चल क्षेत्रीय प्रशासक यमकुमारी खतिवडाले यस क्षेत्रमा कार्यरत आर्थिक पत्रकारको क्षमता अभिवृद्धिका लागि यस्तो कार्यक्रम राख्नु उपयोगी रहेको उल्लेख गरिन् । उनले आर्थिक श्रोतसाधन समेत यस प्रदेशमा उल्लेख्य रहेको बताउँदै उपलब्ध प्राकृतिक स्रोत साधनको अधिकतम प्रयोगका साथै विकास र समृद्धिका लागि पत्रकारिता जगतले महत्वपूर्ण भूमिका खेल्नुपर्ने उल्लेख गरिन् । ‘यस क्षेत्रमा झण्डै ८० प्रतिशत जनताको आर्थिक अवस्था मध्यमस्तर रहेको देखियो । यो क्षेत्रमा गरिबीको रेखामुनी रहेका नागरिकको संख्या कम हुनु राम्रो संकेत हो ।’ उनले भनिन् ।

सरकार र नागरिकबीचको दुरी कम गर्न, जनतालाई महसुस हुने गरी सेवा प्रवाह, विकास निर्माणमा प्रत्यक्ष रुपमा जनता सहभागी हुने गरी वातावरण सिर्जना गर्न पत्रकार लाग्नुपर्ने सुझाव दिईन् । आफूले उद्योग मन्त्रालयमा ६ वर्षसम्म सेवा गरेको स्मरण गर्दै क्षत्रीय प्रशासक खतिवडाले स–साना उद्योगलाई दर्ता प्रक्रियामा ल्याएर

आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख लेखनाथ शर्माले संघीय संरचनामा स्थानीय स्रोतसाधनको परिचालन कसरी गर्ने ? लगायत पत्रकारिता मार्फत् दीगो आर्थिक विकासका लागि यो तालिम फलदायी हुने विश्वास व्यक्त गरे । उनले क्षमता, आयमा आधारित कर तिर्नुपर्छ भन्ने भावना आम जनमानसमा जागृत गराउन पत्रकारिता क्षेत्रले भूमिका खेलोस् भन्ने अपेक्षा गर्दैै सेजनसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको जनाए ।

तालिमका सहजकर्ता एवं सेजनका अध्यक्ष गोकर्ण अवस्थीले तालिम लाभदायक बन्ने अपेक्षा गरे । कार्यक्रमको अध्यक्षता समेत गरेका नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले तालिमको कार्यकाल बनाउने योजनामा अघि बढिरहँदा पहिलो कार्यक्रम भएको भन्दै यो पटक मुख्यतः आर्थिक बिटमा कलम चलाईरहेका पत्रकार साथीका लागि जुटेको बताए । उनले समृद्धिका लागि पत्रकारिता भन्ने मन्त्रका साथ लाग्नुपर्ने आवश्यकता औंल्याए । कार्यक्रमको सञ्चालन अर्थमन्त्रालयका सूचना तथा सञ्चार विज्ञ एवं महासंघ कास्कीका उपाध्यक्ष त्रिभुवन पौडेलले गरेका थिए ।

कमेन्टहरु
Loading...