पोखरा, १ फागुन/पोखराको कन्या क्याम्पसमा जारी शैक्षिक, धार्मिक महोत्सव एवं श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा जिन्सी तथा नगद गरी करिब डेढ करोड संकलन भएको छ । महायज्ञमा जग्गादान समेत गरिएको छ । सांसदहरुले सांसद विकास कोषबाट प्राविधिक शिक्षा सञ्चालनका लागि रकम छुट्याउने आश्वासन पनि दिएका छन् ।
क्याम्पसमा प्राविधिक शिक्षा संचालन गर्ने उद्देश्यका साथ आयोजित महायज्ञमा छैटौं दिन आईतबारसम्म यति रकम संकलन भएको आयोजकले जनाएको छ । क्याम्पस प्रमुख सुरेश कुमार मानन्धरका अनुसार सांसद शारदा पौडेलले शुभाम्भ अवसरमा २१ लाख रुपैंया छुट्याउने आश्वासन दिएकी हुन् भने सांसद चुडामणि जंगलीले थप गरी ४० लाख पु¥याउने घोषणा गरे । आईतबार सांसद जंगली सहित संसद विकास समिति सभापति रविन्द्र अधिकारी पनि महायज्ञमा केहिबेर भागवतकथा श्रवण गरेका थिए ।
आईतबार निवृत्त प्राध्यापक पद्मशरण रेग्मी र उपप्राध्यापक दुर्गाराज रेग्मी परिवारले १२ लाख मूल्य बराबरको कास्की सिद्ध ६ स्थित सात रोपनी ११ आना एक पैसा दुई दामको जग्गा दान गर्ने घोषणा गरे । कन्या माविका शिक्षकहरुबाट एक लाख ७८ हजार चार सय ८० रुपैंया, प्रेम बुढाथोकीले एक लाख एक हजार एक सय ११, गणेश÷शान्ति श्रेष्ठले एक लाख एक हजार एक रुपैंया दान गरे । यस्तै, ज्ञानमार्ग स्वतन्त्र महिला समूहले ५९ हजार एक सय १५, बामनकुमार÷उमा पराजुलीले ५१ हजार ५१, विष्णुराज पराजुलीले ५० हजार पाँच सय ५५, कन्या मावि प्राचार्य गणेश शर्मा पौडेलले ५० हजार एक सय ११ दान गरे ।
माघ २५ गते देखि सुरु भएको महायज्ञ फागुन ३ गतेसम्म क्याम्पस प्राङ्गणमै सञ्चालन हुनेछ । बेलुकी पाँच बजेदेखि सात बजेसम्म जीवन र विज्ञान सम्बन्धमा युवा विद्यार्थीका लागि प्रवचन पनि राखिएको आयोजकले जनाएको छ । बुधबारदेखि सुरु श्रीमद्भागवत् वाचन जारी छ । यस्तै, बेलुकीपख पनि भजन किर्तन राखिएको छ भने हरेक दिन नाटक प्रदर्शन, दाताहरुलाई सम्मान कार्यक्रम रहेको छ । सोमबार पनि भागवत निरन्तरता, भजनकिर्तन लगायतका कार्यक्रम हुनेछन् । महायज्ञमा प्रमुख वाचकको रुपमा युवा पण्डित दीनबन्धु पोखरेल र सहवाचक ध्र्रुवशरण बस्याल रहेका छन् ।