बाँध खोल्दिएकाले महाकालीमा प्रलय, भारतलाई सचेत गराउन कांग्रेसको माग

सेतोपाटी संवाददाता काठमाडौ, असार ७/ नेपाली कांग्रेसले भारतले धौलीगंगा विद्युत आयोजनाको विशाल ड्याम खोल्दिएकाले दार्चुला, कञ्चनपुरमा व्यापक जनधनको क्षति हुने गरी महाकाली नदीमा बाढी आएको आरोप लगाएका छन्। उनीहरुले वर्षाका कारण मात्र त्यत्रो विनास हुनेगरि बाढी आउने सम्भावना नै नरहेको दाबी गर्दै भारतसँग उचित क्षतिपूर्ति दाबी गर्न नेपाल सरकार समक्ष माग गरेका छन्।

resize_imageकांग्रेस उपसभापति रामचन्द्र पौडेलको नेतृत्वमा गएको कांग्रेसका सुदुरपश्चिमका नेताहरुले अघि (असार ७) बिहान ९ बजे मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई भेटेर भने, ‘फेरि यस्तो बवण्डर दोहोरिन नदिन भारतसँग कुटनीतिक कुराकानी थाल्न अनुरोध गरेका छन्। बालुवाटारमा भएको भेटमा कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडु, केन्द्रीय सदस्यहरु एनपी सावद, बद्री पाण्डे र पूर्वमन्त्री तारिणीदत्त चटौतलगायत थिए।

‘म दार्चुलामा जन्मे हुर्केको हुँ,’ भेटमा बडुले भने, ‘जत्रो पानी परे पनि प्रलय नै हुनेगरी बाढी आउँदैन, मित्रराष्ट्र भारतले धौलीगंगा बाध खोलिलिएका कारण हाम्रो यत्रो जनधनको क्षति भएको हो।’ उनीहरुले उत्तराखण्ड सरकारको स्वामित्वमा रहेको एनएचपिसी (नेशनल हाइड्रो इलेक्ट्रिक पावर कर्पोरेसन) को गैरजिम्मेवार व्यवहारले नेपाली यत्रो ठूलो मारमा परेको बताए।

सरकारी स्वामित्वमा रहेको एनएचपिसीले २ सय ८० मेगावाटको विद्युत परियोजना सञ्चालन गर्न धौलीगंगा बाँध बाधेको छ। धौलीगंगा परियोजनाको ड्यामको उचाइ ७० मिटरसम्म अग्लो छ। उक्त बाँधले बनेको तलाउ ८ वर्ग किलिमिटरमा फैलिएको छ।धौलीगंगा बाँध बनेको ठाउँभन्दा ५ किलोमिटर तल नेपाल भारत सीमा नदी महाकालीमा मिसिन्छ।

माथिबाट आएको भलबाडीले बाँधमा अधिक ढु‌गा, बालुवा ल्याएपछि त्यसलाई सफा गर्ने उद्देश्यले भारतीय पक्षले बाँध खोलिदिएको आरोप सुदुरपश्चिमबासीले लगाउँदै आइरहेका छन्। ‘बाँध खोल्नुपर्ने नै स्थिति आएको थियो भने पनि पानी खटाइ खटाइ खोल्नुपथ्यो,’ रेग्मीसँगको भेटमा दार्चुलावासी बडुले भने, ‘त्यसको पूर्वसूचना पनि दार्चुला, डडेलधुरा र कञ्चनपुरवासीले पाउनुपर्थ्यो।’

धौलीगंगा परियोजनाका महाप्रवन्धक सुधिरकुमार जैनले सिएनएनएन आइबिएनलाई बताएअनुसार पनि ७२ घन्टासम्मको अविरल वर्षाले ड्याममा ढुंगा बाटो थेग्रिएर समस्या बनाएको थियो। परियोजना ४ दिनदेखि बन्द रहेको जानकारी पनि उनले दिएका छन्।

मन्त्रिपरिषद् अध्यक्ष समक्ष पुगेको प्रतिनिधिमण्डलले अहिले नै भारतीय पक्षसँग कुरा राख्नुपर्ने बताए। सीमा क्षेत्रमा भारतले एकपक्षीय ढंगले तटबन्ध र विद्युत आयोजना बनाएर नेपालीको हित र हकअधिकारको हेक्का नगरेको दाबी पनि प्रतिनिधिमण्डलले गरेको छ। कांग्रेस प्रवक्ता बडुले बिहीबार जारी गरेको विज्ञप्तिमा पनि तल्लोतटीय हित (डाउन स्ट्रिम बेनिफिट) को मुद्दा उठाएका थिए।

‘महाकाली सीमा क्षेत्रमा निर्माणाधीन र प्रस्तावित विद्युत योजनाहरुबाट उत्पन्न हुन सक्ने भूमि कटान र क्षतिबाट सुरक्षा प्रबन्धका लागि पक्की तटबन्ध निर्माणको वृहत कार्यक्रम नेपाल र भारत दुवै सरकारको कुटनीतिक र आर्थिक क्षेत्रमा आपसी सहमति, सहयोग र सहकार्यबाट एकसाथ पुनर्निर्माण कार्य शुरु होस्,’ विज्ञप्तिमा भनिएको थियो।

मन्पिरिषद् अध्यक्षसँगको भेटमा कांग्रेस नेताहरुले सीमा नदीमा तटबन्ध बनाउँदा दुवैतिरको परामर्शमा निर्णय हुने वातावरण बनाउन सरकारसँग माग गरेका छन्। ‘हामीले भारतविरोधी प्रदर्शन गरौं, लडौं भनेका हैनौं,’ बडुले रेग्मीलाई सचेत गराए, ‘दुवै देशको हित कसरी हुन्छ भनी आपसमा सल्लाह गरेर सल्टाएनौं भने सार्वभौम मुलुक हुनुको दायित्व पनि पूरा हुँदैन भन्ने हाम्रो अडान हो।’

दार्चुला सदरमुकाम खलंगा र गाउँहरु सखाप पारेको दिन तुरुन्तै आफूले गृह एवं परराष्ट्रमन्त्री माधव घिमिरेलाई फोन गरे पनि सरकारले संवेदनशीलता नदेखाएको आरोप उनले लगाए। अझ बाँध खोलिदिएको विषयमा घिमिरेले भारतको बचाऊ गरेको आरोप उनले लगाए।   ‘मलाई दार्चुलाबाट पलपलको रिपोर्टिङ थियो, मैले परराष्ट्रमन्त्री पनि भएकाले माधवजीलाई बेलैमा पहल लिन अनुरोध गरेँ,’ बडुले भने, ‘उहाँले भारतले गर्दा हैन रहेछ भन्ने जवाफ दिएर तर्किन खोज्नुभयो।’

आफू जिल्लामा भएको र वारिपारिको सामाजिक सम्बन्धले गर्दापनि सूचना पहुँच हुने हैसियत भएको बडुको दाबी छ। फिल्डको कुरा सुन्नुको सट्टा हचुवा जवाफ दिएर गृह एवं परराष्ट्रमन्त्रीले ‘गम्भीरतापूर्वक दायित्व निर्वाह नगरेको’ आरोप सुदुर पश्चिमका नेताहरुले लगाएका थिए।  प्रतिनिधिमण्डलका अरु सदस्यले पनि रेग्मी समक्ष घिमिरेको कम्प्लेन गरे, ‘सिडिओले पनि धौलीगंगाको बाँध खोलिएको कुरा बुझि्दिनुपर्‍यो भन्दा गृहमन्त्रीले हप्काएका रहेछन्।’

– See more at: http://setopati.com/raajneeti/1706/#sthash.dfDkdjtO.dpuf

कमेन्टहरु
Loading...