भीरमा खसेका बाख्रा र खोलामा बगेका माछाको वीमा दाबी

रमेश घिमिरे/७ असार, काठमाडौं । राजीनितिक आस्थाका आधारमा दुरुपयोग भएको भनिएको युवा तथा साना व्यवसायी स्वरोजगार कर्जाको बीमामा समेत उस्तै झमेला देखिएको छ । अधिकांश दाबी बीमाले नसमेट्ने खालका आउने गरेको राष्ट्रिय बीमा संस्थानले जनाएको छ । कतिपयले भीरबाट लडेका बाख्रा र खोलामा पसेका माछाको समेत क्षतिपूर्ती माग्ने गरेको संस्थानले जनाएको छ ।

Goats-on-hillस्वरोजगार कर्जाको बीमा सम्पूर्ण बिमा कम्पनीले संस्थानको नेतृत्वमा संयुक्त रुपमा गर्दै आएका छन् । स्वरोजगार कर्जाको निर्देशिकाले ऋणीको ५० वर्षभन्दा कम उमेरमा निधन भएमा वा दैवी प्रकोपको कारण परियोजना क्षति भएमा मात्र बिमा कम्पनीले ब्यहोर्ने व्यवस्था गरेको छ । तर अहिलेसम्म आएका ५ वटा दाबीमा मानिसको निधन भएको र अरु प्रायः बिमा दाबी भुक्तानी दिन नमिल्ने खालका रहेको संस्थानले जानकारी दिएको छ ।

अधिकांशतः गाई, भैंसी मिल्क फिबरबाट मरेको, सँगुरका पाठा च्यापिएर मरेको, कुखुरा रोगले मरेको, बाख्रा भीरबाट खसेर मरेको, माछा बाढीले बगाएको जस्ता प्रकृतिका दाबी पर्ने गरेको संस्थानका अधिकृत सुनील पोख्रेलले जानकारी दिनुभयो । बीमालेखले रोगबाट मरेको तथा भीरबाट खसेको जस्तो घटनालाई नसमेटेको हुनाले दाबी भुक्तानीमा जटिलता आएको उहाँले बताउनुभयो । केही घटना नियामक बिमा समितिको रोहबरमा टुंगाएको र केही घटनाहरु अस्पष्ट अवस्थामै रहेको जानकारी उहाँले दिनुभयो ।

स्वरोजगार कर्जा ससाना रकम र सामूहिक परियोजना सञ्चालन गरेका ठूलो रकम गरी दुई प्रकारका छन् । सामूहिक परियोजनामा क्षति भएको भन्दै आउने दाबी ठूलो रकमको हुने गर्छ । अधिकांश दाबी सम्झौताअनुसार दिन नमिल्ने खालका हुने र दिन मिल्ने खालका दाबी पनि सही भए/नभएको परीक्षण गर्ने भरपर्दो संयन्त्र नभएको बीमक बताउँछन् ।

बीमा कम्पनीले क्षति नब्यहोरेको अवस्थामा त्यो क्षति ऋण प्रवाह गर्ने वित्तीय संस्था वा स्वरोजगार कोष, कसको हुने भन्ने स्पष्ट छैन । ऋणीले अन्य धितो राख्नु नपर्ने भएको हुनाले उसको क्षति हुँदैन । के कस्तो अवस्थामा बीमा दाबी गर्न पाइने हो भन्ने बारेमा ऋणीहरु पनि अन्योलमा रहेका छन् ।

चट्याङले तीन सय बाख्रा मरेको भन्दै निवेदन

संस्थानका अनुसार एक घटनामा ३ सय बाख्रा चट्याङबाट मरेको भनी दाबी गर्ने प्रयास गरिएको थियो । तर, समाचारमा त्यस्तो घटना नआएको र आधिकारिक निकायबाट पुष्टि गराउनुपर्ने प्रतिक्रिया बीमा संस्थानले व्यक्त गरेपछि दाबीकर्ता पछि हटेका थिए । त्यसैगरी, माछाका भुरा मरेको र बाढीले बगाएको घटना पुष्टि गर्न कठिन हुने बीमा संस्थानका कर्मचारी बताउँछन् ।

स्वरोजगार कर्जा निर्देशिकाले बीमाशुल्क ऋण रकमको वाषिर्क ०.८५ प्रतिशत तोकेको छ । बीमा कम्पनीहरुले यो पि्रमियम कम भएको भन्दै असन्तुष्टि जनाइरहेका छन् । अर्कोतर्फ, ऋणी र ऋणदाता वित्तीय संस्थाबाट बिमालेखको दायरा फराकिलो पारेर अन्य कारणबाट हुने क्षति पनि ब्यहोर्नुपर्ने माग भइरहेको छ । धेरै क्षेत्र समेट्ने भए पि्रमियम बढाउनुपर्ने बीमा कम्पनीको अडान छ भने सरकारी पक्ष पि्रमियम नबढाउने पक्षमा देखिएको छ ।

हालसम्म स्वरोजगार कोषबाट ५१९ सहकारीमा ६० करोड र राष्ट्रिय स्तरका बैंक तथा वित्तीय संस्थामा १ अर्ब ३० करोडको ऋण सम्झौता भएको छ । त्यसमध्ये ऋणी व्यक्तिमा प्रवाह भएको ऋणको अंश आधाभन्दा कम रहेको छ । स्वरोजगार कोषमा ४ अर्बभन्दा बढी रकम रहेको छ । ठूलो रकम कर्जा प्रवाह भएर बिमा दाबीको संख्या बढ्ने हो भने यसले विकराल समस्या निम्त्याउने देखिन्छ ।

स्वरोजगार कर्जा ससाना अंकको हुने र यसले कृषि, पशुपालन, लघु व्यवसायलगायत विविध क्षेत्र समेट्ने हुँदा मापदण्ड बनाएर लागू गर्न कठिन भएको बीमा समितिका निर्देशक श्रीमान कार्कीले बताउनुभयो । वैज्ञानिक मापदण्ड नबनाउँदा पनि वास्तविक पीडितले क्षतिपूर्ति नपाउने तथा ठगले झुटो विवरण पेश गरेर क्षतिपूर्ति पाउने सम्भावना रहने उहाँको भनाइ थियो । यसलाई व्यवस्थित गर्नेबारे सर्वपक्षीय छलफल भइरहेको जानकारी उहाँले दिनुभयो ।

– See more at: http://www.onlinekhabar.com/2013/06/84488/#sthash.yqk9ZepI.dpuf

कमेन्टहरु
Loading...