संशोधन पास भए आन्दोलनमा जाने एमाले अध्यक्ष ओलीको चेतावनी

सागर राज तिमिल्सिना
पोखरा, ९ माघ / नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयक पास भए आफुहरु आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । सरकारले अघि सारेको संविधान संशोधनको प्रस्ताव राष्ट्र हित विपरित भएको बताउदै जसरी पनि पास गर्न खोजे आन्दोलनमा जोन चेतावनी दिए ।

नेकपा एमाले केन्द्रीय मोर्चा संगठनको आयोजनामा पोखरामा सुरु तीन दिने राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै पास हुने नै अवस्था आए भोटसोट छाडेर आन्दोलनमा जाने उनको भनाई थियो । उनले संविधान संशोधनका लागि सारिएका चारवटै बुँदा राष्ट्र एवम् जनताका लागि आवश्यक नभएको बताए ।

पहाड एवम् तराईलाई छुट्याउने, राष्ट्रिय एकता एवम् राष्ट्रिय अखण्डतालाई कमजोर बनाउने षडयन्त्र भैरहेको बताउँदै उनले त्यसबाट देशलाई जोगाउन नेकपा एमाले सकृयताका साथ लागेको धारणा राखे । संविधानको कार्यान्वयनका लागि देशमा निर्वाचन हुनुपर्ने भए पनि बर्तमान सरकारले यस विषयलाई आफ्नो प्राथमिकतामा नराखी अन्य कुरामा अलमलिएको अध्यक्ष ओलीको भनाइ छ ।

नेकपा एमालेका बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले परिवर्तनको मोडमा देश बढीरहेको बताउँदै प्राप्त उपलब्धिलाई संस्थागत गर्ने बर्तमानको प्रमुख जिम्मेवारी भएको बताए ।  राष्ट्रिय एकता, अखण्डता तथा स्वाभिमानलाई कमजोर बनाउने षडयन्त्रस्वरुप जातीय, धार्मिक लगायतका विषयलाई उचाल्ने प्रयास भएको बताउँदै उनले त्यस्ता षडयन्त्रबाट प्रभावित बन्न नहुनेमा जोड दिए ।

नेकपा एमाले प्रदेश नं ४ का संयोजक किरण गुरुङले गुटउपगुटबाट माथि उठेर पार्टीलाई आगामी दिनमा अझै सशक्त बनाउनु आवश्यक रहेको बताए । युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजिव पहारीले आन्दोलनका उपलब्धि संस्थागत गर्न संविधान कार्यान्वयन अपरिहार्य भएको बताए ।  कार्यक्रमका सभापति एवम् पार्टीका मोर्चा संगठन संयोजक गोकर्ण विष्टले तीन दिने भेला एवम् प्रशिक्षण कार्यक्रममा मोर्चा संगठन अन्तर्गतका विभिन्न २० वटा संगठनका पदाधिकारी गरी करिब ४ सय जनाको सहभागिता रहेको जानकारी दिए ।

कमेन्टहरु
Loading...