वैदेशिक शिक्षामा आकर्षण, आवश्यक छ परामर्श

दीपक परियार

दीपक परियार
दीपक परियार

उच्च शिक्षाको खोजीमा विदेश जाने नेपाली विद्यार्थीको संख्या निरन्तर बृद्धि भइरहेको छ । गुणस्तरीय शिक्षा, लोभलाग्दो जीवनशैली र श्रम अनुसारको आम्दानीले नेपाली विद्यार्थीमा विदेश मोह ह्वात्तै बढेको छ । शिक्षा मन्त्रालयको तथ्यांक अनुसार बर्सेनी ३० हजारले नो अब्जेक्सन लेटर लिन्छन् । त्यसमध्ये ७० प्रतिशतको भिसा लाग्ने अनुमान छ । त्यसबाहेक २० हजारभन्दा बढी भारत पढ्न जान्छन् । पोखराबाट वार्षिक ४ हजारको हाराहारीमा विद्यार्थीहरु उच्च शिक्षा अध्ययन गर्न विदेशिन्छन् ।
नेपाली शिक्षा प्रणाली जहिले पनि आलोचित बन्दै आएको छ । अन्य देशमा ‘आउटडेटेड’ भएका विषय नेपालमा पढाइन्छ ।

पाठ्यक्रम अद्यावधिक हुन सकेका छैनन् । यति हुँदाहुँदै पनि राम्रो अंक ल्याएर पास भएका विद्यार्थीले अवसर पाएका छैनन् । कुनै पनि विषयमा मेहनत गरेर पाँच वर्ष पढिसकेपछि पनि त्यसपछिको भविष्य अन्योल नै देखिन्छ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की अध्यक्ष मिलन तिवारी वैदेशिक अध्ययन मोह बढ्नुको मुख्य कारण भनेको अन्तर्राष्ट्रिय डिग्री भएको बताउँछन् । ‘हरेक अभिभावकलाई आफ्ना नानीबाबुले गुणस्तरीय शिक्षा पाऊन भन्ने हुन्छ,’ उनी भन्छन्, ‘२१ औं शताब्दीको  ग्लोबलाइजेसनको समयमा संसारसँग भिड्ने खालको क्वालिटी एजुकेसन पायो भने उनीहरुको भविष्य राम्रो हुन्छ ।’ राजनीतिक अस्थिरताले पनि विद्यार्थीहरु विदेशिएको तर्क पनि गरिन्छ । बन्द, हड्ताल, आन्दोलनले शैक्षिक रुटिन, परीक्षा तालिकामै परिवर्तन हुन्छ । जसले गर्दा तीन वर्षको कोर्ष पूरा गर्न ४–५ वर्षसम्म लाग्छ ।

आर्थिक उपलब्धी हासिल गर्नको लागि पनि उनीहरु विदेशिनु परेको छ । विदेशमा गएर पढिसकेपछि जीवन परिवर्तनको एउटा क्षणमा पुगिन्छ । जीवन परिवर्तन सिपको विकास हुन्छ । विदेशमा गइसकेपछि पहिलो कुरा सिक्ने भनेको आफ्नो खुट्टामा आफै उभिन सक्नु हो । विदेशमा गइसकेपछि धेरैजनाको आफन्त हुँनदैनन् । साथी मात्रै हुन्छन् । हरेक सुखदुखमा मानिसले आफूलाई सम्हाल्न सक्छ । त्यो सिक्नु नै जीवन परिवर्तन सिप सिक्नु जस्तै हो । नेपालमा कतिपय युवा घरको काम गर्दैनन् । अभिभावकले आफ्ना छोराछोरीलाई माया गर्ने भएरपनि काम लगाउँदैनन् । विदेश जानेहरुमा काम गर्ने सँस्कृतिको विकास हुन्छ ।

इक्यान कास्की सचिव भुवन क्षेत्री विदेशमा अध्ययन गर्ने विद्यार्थी सिर्जनात्मक र नवीन सोच राख्ने बताउँछन् । उनी भन्छन्, ‘आधुनिक प्रविधिको प्रयोगले पनि विद्यार्थीलाई सिर्जनात्मक बनाउँछ ।’ आजकल नेपालका रोजगारदाताहरु पनि विदेशमा पढेकाहरुप्रति बढी आकर्षित भइरहेका छन् । भविष्यमा अलि बढी तलब पाउने, राम्रो रोजगारीको अवसर पाउने भएकोले पनि विद्यार्थीहरु विदेशप्रति आकर्षित भएको सचिव क्षेत्रीको धारणा छ ।

मजदुर बन्ने कि विद्यार्थी ?
विदेश अध्ययनको लागि यात्रा तय गर्नुअघि अध्ययनसँगसँगै काम गर्ने अवसर भएको देश छान्नुपर्छ । अध्ययनले मात्रै मान्छेलाई अनुभवी बनाउँदैन । नेपालमा शिक्षित बेरोजगारहरुको संख्या बृद्धि हुनुको पछाडिको कारण नै काम नगरी पढ्नु हो । पढाइसँगसँगै काम नगर्दा अनुभव हुँदैन । देश छनोट गर्दा पढाइ सकिसकेपछि कम्तिमा एक वर्ष काम गर्न पाउने अधिकार भएको छान्नुपर्छ । तर विदेश गइसकेपछि पहिलो प्राथमिकता भने अध्ययन नै हुनुपर्छ । काम दोस्रो प्राथमिकतामा पर्नुपर्छ । कामलाई पहिलो प्राथमिकतामा राख्दा करियर सम्भव नहुने बताउँछन् इक्यान कास्की अध्यक्ष मिलन तिवारी । ‘कामलाई पहिलो प्राथमिकतामा राख्दा ब्रेनको प्रयोग नहुन सक्छ,’ उनी भन्छन्, ‘जिन्दगीभर मजदूर भइन्छ, सफलता सम्भव हुँदैन ।’

अध्ययनबाट आर्जन हुने ज्ञानलाई बास्तविक जीवनमा ढाल्न सकेमात्र सफलता हात पर्छ । विद्यार्थीले आफ्नो रुची र खुबीलाई मिसाउने प्रयत्न गर्नुपर्छ । अरु सफल भएको हेरेर उसैको पछाडि दौडिनुपर्छ भन्ने हुँदैन । ‘आफूभित्र भएको रुची र खुबी दुबैलाई मिसाएर त्यही अनुसारको बाटो पहिल्याउनुपर्छ,’ अध्यक्ष तिवारी भन्छन्,‘जहाँ पुग्न चाहेको हो त्यहाँ पुगिन्छ, सफलता अवस्य प्राप्त हुन्छ ।’

परामर्श लिन किन आवश्यक छ ?

वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीले अनिवार्य परामर्श लिनुपर्छ । विदेशी कलेजको आधिकारिक प्रतिनिधित्व गर्ने, शिक्षा मन्त्रालयबाट लाइसेन्सप्राप्त कन्सलट्यान्सीबाट उचित परामर्श लिन सकिन्छ । सत प्रतिशत भिसा ग्यारेन्टी हुन्छ भनेर कुनै कन्सल्ट्यान्सीले आश्वासन दिए सोझै ठगी गर्न खोजिएको बुझ्नुपर्छ ।  हरेक देशका भिजा पोलिसी परिवर्तन भइरहेका हुन्छन् । कलेज वा विश्वविद्यालयका कार्यक्रमहरु परिवर्तन भइरहेका हुन्छन् ।

पाठ्यक्रमको संरचना परिवर्तन भइरहेका हुन्छन् । यी कुराहरुबारे अपडेट हुनको लागि पनि परामर्श केन्द्र पुग्नुपर्ने इक्यान कास्की अध्यक्ष मिलन तिवारी बताउँछन् । परामर्श दिनकै लागि नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले हरेक वर्ष शैक्षिक मेला अयोजना गर्छ । यो पटक पनि पुस २७, २८ र २९ गते चौंथो इक्यान फेयर गर्दै छ । उनी भन्छन्, ‘शैक्षिक मेला गरेर यी खालका सूचना प्रवाह गर्ने परम्परा र त्यसकै निरन्तरताका रुपमा मेला आयोजना गर्दै आइरहेका छौं ।’

नेपालबाट अधिकांश युवा १२ कक्षा उत्तीर्ण गरेपछि विदेश अध्ययन गर्न जान्छन् । विदेश अध्ययनका लागि जानेमा ६० प्रतिशत विद्यार्थी १२ कक्षा उत्तीर्ण हुन्छन् । स्नातक सकेकाले छात्रवृत्तिमा विदेश अध्ययनका लागि आवेदन गर्न उपयुक्त हुन्छ । १२ कक्षामा राम्रो अंक ल्याएर उत्तीर्ण भएका र टोफल, आइइएलटिएस, जीआरइ लगायत परीक्षमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई छात्रवृत्तिको सम्भावना बढी हुन्छ । उत्कृष्ट विद्यार्थी भने १२ कक्षापछि विदेश गएर अध्ययन गर्नु राम्रो हुने कन्सल्ट्यान्सी व्यवयायीहरू बताउँछन् ।

विदेश जानुपूर्व विद्यार्थीले सकेसम्म छात्रवृत्तिमा जाने कोशिस गर्नुपर्छ । शतप्रतिशत वा केही प्रतिशत भए पनि छात्रवृत्ति दिने कलेजका बारेमा जानकारी लिनुपर्ने इक्यान कास्की कोषाध्यक्ष रुद्रप्रसाद अर्याल बताउँछन् । आफू जान लागेको कलेजले अन्य मुलुकका विद्यार्थीलाई कस्तो सुविधा दिने गरेको छ ? पृष्ठभूमि र उक्त कलेजको स्तरआदिका बारेमा राम्ररी बुझ्नुपर्ने अर्यालको सुझाव छ ।

विदेश गएर अध्ययन गर्ने विद्यार्थीहरूले मानसिक रूपमा तयार हुनु जरुरी छ । बुझेर मात्र सम्पूर्ण प्रक्रिया अगाडि बढाउनुपर्छ । प्राय विद्यार्थीले प्रक्रिया नबुझी विदेश जाने गरेका छन् । अन्तरर्राष्ट्रिय कानून, नीतिनियम, आफू अध्ययन गर्ने कलेज योग्य छ, छैनजस्ता विषयमा आफू स्पष्ट हुनुपर्छ ।  आफूले पढ्न चाहेको विषय विदेशमा नै गएर पढ्नुपर्ने हो वा यही पनि पढ्न सकिन्छ, अथवा कहाँ जाँदा राम्रो र सस्तो पर्छ भन्ने बारेमा विद्यार्थीले राम्रो जानकारी लिएका हुँदैनन् । प्राय विद्यार्थी अरूको लहलहैमा लागेर आफू पनि जान कोशिस गर्ने हुन्छन् । यसो गर्दा असफल भएमा विद्यार्थीको पैसा र समय बर्बाद हुनुका साथै मानसिक रूपमा समेत असर पर्छ ।

नेपालबाट जाने अधिकांश विद्यार्थीहरूले आर्थिक समस्या झेलेका हुन्छन् । यसले गर्दा उनीहरूले आर्थिक समस्या र पढाइलाई सँगसँगै अगाडि बढाउने कोशिसमा हुन्छन् । ‘यसरी आर्थिक दबाबमा पढ्ने विद्यार्थीले राम्रो अंक ल्याउन सक्दैनन्,’ इक्यान सचिव भुवन क्षेत्री भन्छन्, ‘समयमा पढाइ पूरा नहुँदा राम्रो काम पनि पाउँदैनन् ।’ उनका अनुसार आफै कमाएर पढ्ने विद्यार्थीले राम्रो अंक ल्याउन मुस्किल पर्छ । विदेश जाने हरेक विद्यार्थीले वेटर, कुक, सेक्युरिटी गार्ड, कम्प्युटर वा मोबाइल तालिम र भाषा सिकेर जाँदा राम्रो हुने उनको सुझाव छ ।

चौथो ‘इक्यान शैक्षिक मेला’ सुरु, पहिलो दिनमै उत्साहजनक सहभागिता
चौथो ‘इक्यान शैक्षिक मेला’ सुरु, पहिलो दिनमै उत्साहजनक सहभागिता

कसरी छान्ने सहि कन्सल्ट्यान्सी ?

सत प्रतिशत भिसा ग्यारेन्टीको नाममा विद्यार्थीहरु ठगिएको समाचार बेलाबेलामा सार्वजनिक हुन्छ । जबकी त्यस्तो ग्यारेन्टी भन्ने नै हुँदैन । कन्सल्ट्यान्सीलाई ‘म्यानपावर’ को पनि आरोप लाग्ने गर्छ । बजारमा अहिले कन्सल्ट्यान्सीको काम कारबाहीको बारेमा पूर्ण जानकार नै नभएका व्यक्तिले संस्था स्थापना गरेकाले यस्तो समस्या देखिएको इक्यान कास्की अध्यक्ष मिलन तिवारी बताउँछन् । तर अहिले शिक्षा मन्त्रालयले कन्सल्ट्यान्सीलाई व्यवस्थित गर्न वैदेशिक शिक्षा तथा भाषा शिक्षा निर्देशिका बनाएको छ । निर्देशिकाले तोकेको मापदण्ड पूरा गर्नेले मात्र लाइसेन्स पाउने भएकाले यस्ता समस्या अब कम हुँदै जाने अध्यक्ष तिवारीको धारणा छ ।

२०६८ सालमा नेपाल सरकारले वैदेशिक शिक्षा तथा भाषा शिक्षा निर्देशिका जारी गरेको हो । जुन २०७० मा आएर लागु भयो । निर्देशिका अनुसार कम्पनी रजिस्ट्रार्डको कार्यालयमा मात्र दर्ता भएका संस्थाले काम गर्न पाउँदैनन । कन्सल्ट्यान्सीहरु शिक्षा मन्त्रालयमा दर्ता हुनुपर्छ । सरकारले अनुगमन गरेर मापदण्ड पुगेकालाई मात्रै लाइसेन्स वितरण गर्छ । जसले गर्दा यो पेशा मर्यादित र व्यवस्थित हुने अपेक्षा गरिएको छ ।

कन्सल्ट्यान्सीहरु शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त हुन् कि होइनन् भन्ने कुराको जानकारी विद्यार्थीले पाउनुपर्छ । कास्कीमा १ सयभन्दा बढी कन्सल्ट्यान्सीहरु छन् । तीमध्ये ८० वटा कन्सल्ट्यान्सीको शिक्षा मन्त्रालयले अनुगमन गरेको छ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीमा ३५ कन्सल्ट्यान्सी आवद्ध छन् । ती सबै कन्सल्ट्यान्सी शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त हुन् । इक्यानको सदस्य बन्न लाइसेन्सप्राप्त हुनैपर्ने प्रावधान छ ।

इक्यान कास्की उपाध्यक्ष रमेशकुमार थापा स्वीकृति प्राप्त संस्थाले मात्रै उचित परामर्श दिनसक्ने बताउँछन् । ‘शिक्षा मन्त्रालयले टिआइटिआई सम्बन्धी ८० घन्टाको तालिम दिन्छ, त्यो अनिवार्य लिनुपर्छ,’ उनी भन्छन्, ‘हामीले राखेका काउन्सिलर तालिमप्राप्त छन् ।’ अनिवार्य लिनुपर्ने भएको भएर तालिमप्राप्त काउन्सिलरबाट पाउने परामर्श माथिल्लो स्तरको हुने उनको धारणा छ ।

के हो इक्यान ?

उच्च शिक्षाका लागि विदेश जान चाहने नेपाली विद्यार्थीलाई नेपालमा स्थापना भएका विभिन्न कन्सल्ट्यान्सीले सेवा प्रदान गरिरहेका छन् । सरकारले त्यस्ता कन्सल्ट्यान्सीका बारेमा खासै चासो र चिन्ता नदेखाएको अवस्थामा कन्सल्ट्यान्सीको छाता संगठन नेपाल शैक्षिक परामर्श संघ(इक्यान) भने यसका लागि निरन्तर लागि रहेको छ । विसं २०५४ सालमा स्थापना भएको यस संस्थाले आफ्ना सदस्यता लिएका कन्सल्ट्यान्सीको निरन्तर अनुगमन र अनुसन्धान गर्छ । कास्कीमा भने विसं २०६७ मा इक्यानको शाखा खुलेको हो ।

कन्सल्ट्यान्सीहरुलाई व्यवस्थित बनाउने खाँचोको महसुस गरी इक्यान स्थापना भएको हो । एजुकेसन कन्सल्ट्यान्सीहरु संख्या बढ्दै जाँदा शिक्षा मन्त्रालयसँगको सहकार्यमा यसले आफ्नो कामलाई पनि निरन्तरता दिंदै आएको छ । इक्यानले आफ्नो सदस्यता लिएका एजुकेसन कन्सल्टेन्सीलाई एकीकृत गर्दै उनीलाई आवश्यक पर्ने तालिम उपलब्ध गराउने, अन्तर्राष्ट्रिय स्तरका विभिन्न कलेज तथा विश्वविद्यालयका बारेमा जानकारी गराउने, भिसाका बारेमा जानकारी गराउने तथा कन्सल्ट्यान्सीलाई आवश्यक पर्ने विभिन्न विषयका बारेमा जानकारी गराउने काम गरेको छ । अस्ट्रेलियन हाइ कमिसन, न्युजिल्याण्ड इमिग्रेसन, ब्रिटिस काउन्सिललगायतका संस्थाबाट तालिम उपलब्ध गराउने काम पनि इक्यानले गरेको छ । इक्यानको सदस्य देशभर ४ सयको संख्यामा छन् । कास्कीमा भने ३५ कन्सल्ट्यान्सी इक्यानमा आवद्ध छन् ।

चौथो ‘इक्यान शैक्षिक मेला’ सुरु, पहिलो दिनमै उत्साहजनक सहभागिता
चौथो ‘इक्यान शैक्षिक मेला’ सुरु, पहिलो दिनमै उत्साहजनक सहभागिता

इक्यान फेयर ः विद्यार्थीलाई अवसर

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले पुस २७, २८ र २९ गते पोखरा सभागृहमा चौंथो बृहत शैक्षिक मेला गर्दै छ । इक्यान कास्कीको व्यवस्थापन र नमस्ते एजुकेसन इन्स्टिच्युटको प्रस्तुतीकरणमा मेला आयोजना गरिएको हो । इक्यान कास्कीका सदस्य रहेका व्यावसायिक शैक्षिक परामर्शदाता संस्था, विभिन्न स्वदेशी तथा विदेशी कलेज तथा विश्वविद्यालयका प्रतिनिधिले मेलामा परामर्श दिनेछन् । मेलामा अमेरिका, बेलायत, न्युजील्यान्ड, अस्टे«लिया, आयरल्यान्ड, नर्वे, फिनल्यान्ड, मलेसिया, जर्मनी, रुस, डेनमार्क, भारत, चीन, बंगलादेश, जापान, फ्रान्स लागायत देशका कलेज एवं विश्वविद्यालयका आधिकारिक प्रतिनिधिको सहभागिता रहने छ । मेलामा ५० स्टलबाट शैक्षिक परामर्श दिइने छ ।

मेला संयोजक एवं इक्यान कास्की उपाध्यक्ष रमेशकुमार थापा शिक्षा मन्त्रालयबाट स्वीकृती प्राप्त शैक्षिक परामर्शदाता संस्थाका अनुभवी एवं तालिमप्राप्त परामर्शदाताले परामर्श दिने बताउँछन् । उनी भन्छन्, ‘विभिन्न विदेशी कलेज तथा विश्वविद्यालयको भर्ना प्रकृया साथै सम्बन्धित देशको विद्यार्थी भिसा नीति एवं अवसर र चुनौती सम्बन्धी आधिकारिक तथा प्रभावकारी सूचना मेलामा दिइने छ ।’

इक्यान कास्की अध्यक्ष मिलन तिवारीले उच्च शिक्षा अध्ययनको लागि विदेश जान चाहेका विद्यार्थीलाई उचित परामर्श दिनु मेलाको मुख्य उद्देश्य भएको बताउँछन् । गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीहरुको समुचित पहुँचको लागि परामर्श सेवा प्रदान गर्ने कुरालाई नै आफ्नो पेशागत दायित्वको रुपमा लिएर मेला आयोजना गरेको उनले सुनाए । ‘एकै थलोमा थुप्रै कलेज र विश्वविद्यालयको जानकारी पाउनु विद्यार्थीको लागि अवसर हो,’ उनी भन्छन्, ‘वर्षको एकपटक पोखरामा हुने मेला विद्यार्थीले छुटाउनु हुँदैन ।’

इक्यान केन्द्रीय सदस्य डिबी गुरुङ स्वदेशी एवं विदेशी शिक्षा प्रणाली तथा विदेश अध्ययनको भविष्य बारे पर्याप्त सूचना प्रवाह गर्न मेलाले भूमिका खेल्ने विचार राख्छन् ।  यसअघि इभेन्ट म्यानेजमेन्ट कम्पनीले गर्दै आएको शैक्षिक मेला यसपटक भने इक्यान कास्की शाखा आफैले गरेको छ । सचिव भुवन क्षेत्री यो पटक इक्यान फेयर आफैले गर्न पाउनु गौरवको विषय भएको बताउँछन् । १५ लाख रुपैयाँ आम्दानी र १२ लाख रुपैयाँ खर्च हुने मेलाको ३० हजार विद्यार्थीले अवलोकन गर्ने क्षेत्रीको अनुमान छ ।

चौंथो सँस्करणको बृहत शैक्षिक मेलाको टाइटल स्पोन्सर मिराकल इन्स्टिच्युट प्रालि, एसोसियन पार्टनर बेकन प्रिमियर इन्टरनेसनल एजुकेसन र मुख्य प्रायोजक थर्ड आई एजुकेसन छन् । डेल्टा एडुकेयर नेपाल र क्विन्सफोर्ड कलेज, अस्टे«लियाले मेलामा सहकार्य गरेका छन् ।

कमेन्टहरु
Loading...