रामसार सूचिमा सूचिकृत कास्कीका ताल संरक्षणमा चासो बढ्दै

वासुदेव पौडेल
पोखरा, २६ पुस । पोखराको फेवासहित कास्कीका नौ वटा ताल एकैपटक अन्तराष्ट्रिय महत्वको रामसार सूचीमा सूचिकृत भएको एक वर्ष पुग्नै लाग्दा यी तालको संरक्षण र विकासको विषयले विस्तारै प्राथमिकता पाउन थालेको छ । रामसार सचिवालयबाट आएको विज्ञको टोलीले विश्व सिमसार दिवसको अवसर पारि गत वर्ष माघमा यहाँका नौवटा ताललाई रामसारमा सूचिकृत भएको औपचारिक प्रमाणपत्र प्रदान गरिएको थियो ।

रामसारमा सूचिकृत भएसँगै अन्तराष्ट्रियकरण भएका तालको संरक्षण र विकास कसरी अघि बढ्छ भन्ने सबैको चासो र चर्चाको विषय भएका अवस्थामा हरियो बन कार्यक्रमको सहयोगमा संरक्षण विकास फाउन्डेसनले यी तालको व्यवस्थापन योजना तयार गर्ने जिम्मेवारी पाएकोमा फाउन्डेसनले हालै योजना सार्वजनिक गरिसकेको छ । फाउन्डेसनले विभिन्न चरणमा स्थानीय सरोकारवालबीच छलफल गरी रामसारमा सूचिकृत तालको व्यवस्थापन योजना तयार गरी सार्वजनिक गरे पछि सर्वसाधारणमा पनि अब केही हुन्छ की भन्ने आशा जगाएको छ ।

बेगनासताल
बेगनासताल

तयार गरिएको व्यवस्थापन योजनामा तालहरू रहेको स्थानको भौगालिक अवस्था तथा संरक्षणका लागि आवश्यक पूर्वाधार विकासका विभिन्न पक्ष समेटिएको संरक्षण विकास फउन्डेसनका अध्यक्ष शैलेन्द्र पोखरेलले जानकारी दिनुभयो । “ रामसारमा सूचिकृत पोखराको फेवाताल सहितका नौवटा तालको संरक्षण एवम् विकासका लागि पाँच वर्षे योजना सहित कुल १२ अर्ब २४ करोड, ७५ लाख १६ हजार रुपैयाँ लागत लाग्ने अनुमान व्यवस्थापन योजनामा गरिएको छ,” उहाँले भन्नुभयो, “ पहिलो कुरा तालको संरक्षण गर्नु नै हो, तालको जग्गा अतिक्रमणका साथै तालको व्यवस्थापन र तालमा बढीरहेका मिचाहा प्रजातीको तत्काल नियन्त्रण गर्नु टड्कारो आवश्यकता छ ।”

योजना अनुसार नौ वटा तालको संरक्षण र व्यवस्थापन गर्ने सन्दर्भमा सबैभन्दा बढी लागत पोखराको फेवातालमा लाग्ने देखिएको छ । अनुमानित कुल बजेट मध्ये फेवातालका लागि ३१ प्रतिशत छुट्याइएको छ भने त्यसपछि क्रमशः वेगनासमा २३, रुपामा १४, खाष्टे÷न्युरेनीमा ११, मैदीमा ८, दिपाङ्गमा ७, गुँदेमा ४ र कमलपोखरीमा २ प्रतिशत बजेट निर्धारण गरिएको पोखरेलले जानकारी दिनुभयो ।  योजनामा तालको संरचना, जैविक विविधताको संरक्षण, तालका माध्यमबाट आर्थिक समृद्धि र विकास, नियमन, तालसँग आश्रित उत्पीडित तथा विपन्न वर्गको उत्थान लगायतका विषयलाई समेट्ने प्रयास गरिएको उहाँको भनाइ छ ।

अन्तराष्ट्रियकरण भएका कास्कीका यी तालको संरक्षण र विकासलाई स्थानीय निकायले आफ्नो प्राथमिकतामा राखेको जिल्ला विकास समिति कास्कीका सामाजिक विकास अधिकृत अर्जुन न्यौपानेले बताउनुभयो । तालको संरक्षण र विकासका लागि आगामी जिल्ला परिषद्ले बजेट विनियोजन गर्ने जानकारी दिदै उहाँले पोखराको फेवातालको संरक्षण एवम् विकासका लागि निर्वाचन क्षेत्र नं ३ अन्तर्गत निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत ५० लाख, नगरपालिकाबाट ५० लाख र स्थानीय जनसहभागिताबाट ५० लाख गरी एक करोड ५० लाख रुपैयाँ खर्चने योजना रहेको बताउनुभयो ।

पछिल्लो समय जलवायु परिवर्तन र तीव्र विकासको गतिका कारण वातावरणमा प्रत्यक्ष असर परिरहेका अवस्थामा बढीरहेको स्थानीय सचेतताका कारण तालको संरक्षण र विकासका लागि सरोकारवाला स्थानीयवासीमा पनि जागरुकता बढेको पाइन्छ ।
अन्तराष्ट्रियकरण भएका कास्कीका तालको तालको संरक्षण र विकास राज्य वा स्थानीयवासी एक्ला एक्लैको प्रयासमा सम्भव नहुने बेगनास रुपा ताल संरक्षण तथा पर्यटन प्रवद्र्धन संस्थाका अध्यक्ष दीनानाथ ढकालले बताउनुभयो । रामसारमा सूचिकृत भए पछि लेखनाथको रुपातालको एकिकृत विकास परियोजना सुरु हुनु आँफैमा महत्वपूर्ण उपलब्धि भएको बताउँदै उहाँले यहाँका अन्य तालको संरक्षण एवम् विकासका योजना पनि अघि सारिनुपर्ने धारणा राख्नुभयो ।

रामसारमा सूचिकृत भएसँगै तालको विकासका योजना बन्ने, संरक्षणमा अन्तराष्ट्रिय सहयोगका साथै स्थानीय जनसहभागिता बढ्ने, पर्यापर्यटन प्रवद्र्धन हुने तथा यहाँ रहेका दुर्लभ र लोपोन्मुख वन्यजन्तु तथा जलचरको संरक्षणमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको ढकालले बताउनुभयो । रामसरामा सूचिकृत कास्कीका यी तालका पानीले ओगटेको क्षेत्र ९२४ हेक्टर रहेको छ भने तालको जलाधार क्षेत्र र तालसँग अन्तर सम्बन्धित सेती जलाधार क्षेत्रसमेत गरी यी तालको सञ्जालले ओगटेको कुल क्षेत्रफल दुई हजार ६१० हेक्टर रहेको छ । राष्ट्रिय एवम् अन्तराष्ट्रिय पर्यटनको आकर्षण बन्दै गएको पोखरा र आसपासको पर्यापर्यटन यिनै तालमा निर्भर रहेका कारण रामसार सूचिमा सूचिकृत भएसँगै यिनीहरूको संरक्षण र विकास राज्यको प्राथमिकतामा पर्दै जानुलाई अत्यन्त महत्वका साथ हेरिएको छ ।

कमेन्टहरु
Loading...