मुक्तिनाथ विकास बैंकको ११ औं वार्षिकोत्सवमा रक्तदान

पोखरा, २० पुस /पोखराको पृथ्वीचोकमा केन्द्रीय कार्यालय रहेको मुक्तिनाथ विकास बैंक लिमिटेड मंगलबार दशौं वर्ष पुरा गरी एघारौं वर्ष प्रवेश गरेको छ । बैंकले वार्षिकोत्सवको अवसरमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

बैंकको केन्द्रीय कार्यालयको प्राङ्गणमा आयोजित उक्त रक्तदान कार्यक्रममा ७० युनिट रगत संकलन गरी नेपाल रेडक्रस सोसाइटी, कास्कीलाई हस्तान्तरण गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत भरत राज ढकालले बताए ।  उक्त कार्यक्रममा प्रमुख अतिथि तथा बैंकका संस्थापक सेयरधनी पिताम्बर शर्माले पहिलो रक्तदाता बैंकका सञ्चालक समीतिका सदस्य चुडामणी कडेललाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेको थिए ।

यसैबिच बैंकले पोखरा उपमहानगरपालिका अन्तर्गत रहेको नगर बालमञ्चको पहल र पोखरा उपमहानगरपालिकाको संयोजनमा पोखरा उपमहानगरपालिका अन्तर्गत रहेका २९ वटा वडा तथा उपमहानगरपालिका कार्यालय समेत गरी कुल ३० वटा कार्यालयहरुमा राख्ने गरी ३० थान सुझाव तथा गुनासो पेटिका नगर बालमञ्चका अध्यक्ष अनुश्रेया सुवेदीलाई बैंकका सञ्चालक समितिका अध्यक्ष मिन प्रसाद गुरुङ्गले एक समारोहका बीच हस्तान्तरण गरेको जनाइएको छ ।

कमेन्टहरु
Loading...