पोखरा, १७ पुस/पोखरेलीहरुले सडकबाटै अग्रेजी नयाँ २०१७ को स्वागत तथा २०१६ को विदाई गरेका छन् । अंग्रेजी नयाँ वर्षको अवसरमा रेवान पोखराले आयोजना गरेको १८ औं पोखरा सडक महोत्सवको रमाइलोसंगै अंग्रेजी नयाँवर्षको स्वागत गर्न शनिबार हजारौ पोखरेलीहरु लेकसाइड पुगे ।
मध्यरातमा कसैले सडकबाटै तथा कसैले मञ्चमा गाउँदै गरेका कलाकारहरुसंग नाच गान गर्दै नयाँ वर्षको स्वागत गरेका हुन् । राती १२ बज्नै लाग्दा पोखरा पटकपट्काउदा सडकमा रहेका हजारौले उत्साही भएका थिए ।
यस बर्ष पनि सडकमै खाऔ, सडकमै नाचौ, सडकमै रमाऔ भन्ने नाराका साथ १८औं सडक महोत्सव पोखराको लेक साइडमा जारी छ । महोत्सव अनौपचारिक रुपमा आज सकिदै छ । अघिल्लो वर्षहरु भन्दा पनि बढि दर्शकहरु आएको १८ औं पोखरा सडक महोत्सवका संयोजक गोपीबहादुर भट्टराईले बताए ।
बैदामको साढे ३ किलोमिटर क्षेत्रमा आयोजना गरिएको सडक महोत्सवको अवलोकन गर्न विदेशी पर्यटक तथा देशका विभिन्न जिल्लाहरुबाट अवलोकनकर्ताहरु पोखरा आएका रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङ्गले बताए ।


