मेला महोत्सव समृद्धिका बाहक

पोखरा, १४ पुस/पोखरा र यस आसपासमा हुने व्यपारमेला तथा विभिन्न महोत्सवले यहाँको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान दिएको छ । मेला महोत्सवका माध्यमबाट अर्थतन्त्र चलायमान भएको र समृद्धि हाँसिल भएको सरोकारवालाले बताएका छन् ।
रेडियो बाराहीले आयोजना गरेको समृद्धि बहसमा भाग लिने वक्ताले यस्तो बताएका हुन् ।

आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत लेखनाथ शर्माले प्रत्यक्ष महोत्सव र महोत्सवलाई आधार बनाएर उत्पादन वृद्धि भएको बताए ।‘यसले राजस्व बृद्धिमा महत्वपूर्ण योगदान दिएको छ,’ उनले भने । महोत्सवमा काटिने टिकटबाट मात्र यो आर्थिक वर्षको ५ महिनाको अवधिमा झन्डै ५ लाखकर संकलन भएको छ । उनका अनुसार यो वर्ष १० लाखभन्दा बढ्ता टिकटबाट मात्र मुअकर उठ्ने अपेक्षा छ । १० लाख कर आन्तरिक राजस्व कार्यालयले बुझ्दा टिकटको मात्र कारोबार १० करोड बढीको हुने उनले उल्लेख गरे ।

प्रमुख कर अधिकृत शर्माका अनुसार अघिल्लो वर्ष विषम परिस्थितिमा पनि साढे ६ लाख रुपैयाँ टिकट बिक्रीबाट कर उठेको थियो । अझैपनि विभिन्न मेला महोत्सव करको दायरामा आउन बाँकी रहेको र यसरी दायरामा नआउने महोत्सव सञ्चालक माथि कारवाही हुने उनले बताए । त्यसका लागि कार्यालयको तर्फबाट नियमित अनुगमन भइरहेको शर्माले सुनाए । कार्यालयले आफ्नो कार्य क्षेत्र भित्रका जिल्लाहरुमा क्रियाशील उद्योग वाणिज्य संघलाई यस विषयमा सचेत गराएको र मेलाका लागि स्रोत व्यक्ति तोकेर सहजीकरण गरिरहेको उनले बताए ।

पश्चिमाञ्चल उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले मेला महोत्सवले उद्यमशील बन्न नागरिकलाई प्रेरित गरेको बताए । उनले राज्यले पनि मेला महोत्सवलाई छुट्टै सहयोगको प्याकेज ल्याउनुपर्ने खाँचो औंल्याए । ‘मेला महोत्सवबाट पश्चिमाञ्चलमा वार्षिक झन्डै एक अर्बभन्दा धेरै वस्तु तथा सेवाको कारोबार भएको छ,’ उनले भने । पोखरामा पोखरा उद्योग वाणिज्य संघले गर्ने मेला, बुटवल र भैरहवामा हुने व्यापारिक मेला यस क्षेत्रका ठूला मेला महोत्सव हुन् ।

लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बाबुराम गिरीले मेला महोत्सवले किसान र उपभोक्ताकोबीचमा महोत्सवले सिधै पहुँच विस्तार गरेको बताए । उत्पादकले सस्तोमा बेच्नुपर्ने र बिचौलियाको कारण उपभोक्ताले महँगो किन्नुपर्ने अवस्था मेला महोत्सवका कारण विस्तारै अन्त्य हुँदै गएको उनले बताए । पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष भरतराज पराजुलीले मेला महोत्सवले पर्यटकको बसाई अवधि लम्बाएको बताए । एउटा पर्यटकले ९ जनालाई प्रत्यक्ष रोजगारी दिने उनले उल्लेख गरे ।

‘मेला महोत्सवले स्थानीय कला संस्कृतिको संरक्षण र उजागर गरेका छन्, वस्तु तथा सेवाको बारेमा जानकारी दिएका छन्,’ उनले भने, ‘त्यतिमात्र होइन हामीले अफ सिजन भन्ने सिजनमा समेत अहिले मेला महोत्सवकै कारण स्वदेशी विदेशी पर्यटक नेपाल भित्रिरहेका छन् ।’

कमेन्टहरु
Loading...