क्यानोनिङ गाउँ घलेलमा ल्होसार उत्सवको तयारी

पोखरा, ७ पुस÷ क्यानोनिङ गाउँ घलेलमा १८ औं ल्होसार उत्सवको तयारी तीब्र पारिएको छ । कास्की जिल्लाको सुदूर उत्तरी क्षेत्रको पर्यटकीय गाउँ घलेलको परम्परागत कला–संस्कृतिको संरक्षण तथा खेलकूदको विकाससहित पर्यटन प्रवद्र्धन गर्न विगत डेढदशक अघिदेखि गरिंदै आएको ल्होसार घलेल उत्सवलाई यसवर्ष पनि निरन्तरता दिन लागिएको बौद्ध सृजना युवा क्लबका अध्यक्ष रामबहादुर गुरुङले जानकारी दिएका छन् ।

स्थानीय बौद्ध सृजना युवा क्लब तथा लायन्स क्लब अफ पोखरा माउण्टेन सिटीको संयुक्त आयोजनामा हुन लागेको उत्सव पुस १५ देखि २१ गतेसम्म चल्ने छ । उत्सवमा साँस्कृतिक एवम् मनोरञ्जनात्मक कार्यक्रम, खुल्ला वडास्तरीय भलिबल प्रतियोगित, क्लबस्तरीय खुल्ला महिला भलिब प्रतियोगिता, खुल्ला एकल नृत्य प्रतियोगिता, अर्गानिक परिकारका स्वाद, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति लगायतका कार्यक्रमहरू समावेश गरिएको छ ।

उत्सवबाट भएको आम्दानीबाट मर्दी हिमाल पदमार्गको व्यवस्थापन तथा सुधार गर्ने आयोजकको योजना रहेको उत्वव आयोजक समतिका संयोजक गुरुङले बताए । माछापुच्छ«े मोडेल ट्रेक अन्तर्गत रहेको मर्दी हिमाल पदमार्गमा घुम्न आउने पर्यटकको आकर्षण बढ्दै गएपछि यहाँका पर्यटन व्यवसायीहरू उत्साहित छन् । उत्सव सो पदयात्रा मार्गको फोहरमैला व्यवस्थापन सम्बन्धी जनचेतनामूलक समेत हुने आयोजकले दावी गरेको छ ।

करिब २५ हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको सो उत्सवमा घैंटो फुटाउने, रस्साकसी, छेलोलगायतका मनोरञ्जनात्मक कार्यक्रमहरू समेत सञ्चालन गरिने छ । ल्होसार उत्सव सम्पन्न गर्नका लागि रुमबहादुर गुरुङको संयोजकत्वमा ५१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । स्थानीय कुदी छहरामा क्यानोनिङ खेल आरम्भ भएपछि घलेल गाउँ क्यानोनिङका रूपमा चिनिन थालेको छ । डोरीको सहायताले पहरा र छहरासँगै बग्ने साहसिक खेल क्यानोनिङ खेल पोखराबाट नजिकै रहेको यो नै पहिलो पर्यटकीय गाउँ हो ।

पर्यटकीय गाउँ घलेलको मात्र नभई सिङ्गो पर्यटकीय नगरी पोखरामा क्यानोनिङ खेल नयाँ आयाम र सम्पदाका रूपमा विकास गर्न पाएका घललेबासी हर्षित भएका छन् । छ वर्षअघि होमस्टे सञ्चालनमा आएको घलेलमा करीब ७० पर्यटक थाम्न सक्ने क्षमता रहेको छ । घललेबाट मर्दी हिमाल, अन्नपूर्ण हिमश्रृङ्खला, नागवेली भएर बग्ने मर्दीखोलाको दृश्यावोलकनका साथै प्राकृतिक मनोरम दृश्यपान गर्न सकिन्छ ।

कमेन्टहरु
Loading...