विद्यार्थीद्वारा मूल्यवृद्धिको विरोध

पोखरा, ४ पुस/सरकारले पेट्रोलियम पद्धार्थको मूल्य वृद्धि गरेकोमा विद्यार्थीहरुले विरोध गरेका छन् । आइतबार राति देखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएकोमा जनताको ढाड सेक्ने काम भएको भन्दै अनेरास्ववियू, पृथ्वीनारायण क्याम्पस एकाईले विरोध गरेको हो ।

क्याम्पस गेटमा भेला भई विद्यार्थीले आधा घण्टा त्यहाँ सवारी आवागमन बन्द गरी विरोध गरेका हुन् । अनेरास्ववियू केन्द्रिय सचिवालय सदस्य नरेश रोकायाले तेलमा मूल्य वृद्धि हुँदा त्यसको ठाडो असर निम्न स्तरका जनतामा पर्ने र मूल्यवृद्धिकै कारण व्यापारी व्यवसायीले चर्को मूल्य लगाउने बताए । उनले यो सरकारले तुरुन्त संविधान संशोधन प्रस्ताव फिर्ता लिएर निर्वाचनमा होमिन आग्रह गरे ।

क्याम्पस एकाई संयोजक राजन शर्मा पराजुलीले मूल्य वृद्धिको प्रभावले खाद्यान्नमा चर्को मूल्य बढ्ने भएकाले यसको विरोधमा उत्रेको जनाउँदै सरकारले जनताको पीरमर्का नबुझेको बताए । उनले राष्ट्रियताको आन्दोलनमा सबै जाग्नुपर्ने बताए ।

आईतबार राति देखि तेलमा ४ रुपैयाँ ५० पैसा मूल्य बढाइएको छ। ९७ रुपैयाँबाट अब पेट्रलको मूल्य बढेर १०१ रुपैयाँ ५० पैसा भएको छ । डिजेल र मटितेलमा लिटरको ४ रुपैयाँ ५० बढेर रुपैयाँ भएको छ । र, दुबैको मूल्य ७७ रुपैयाँ ५० पैसा पुगेको छ ।

कमेन्टहरु
Loading...