प्रदेश नम्बर ४ को आर्थिक विकासको सम्भावना खोज्दै

पोखरा, ७ मंसिर / निजी क्षेत्रले पश्चिमाञ्चल क्षेत्र र प्रदेश नम्बर ४ को समग्र आर्थिक विकासको सम्भावनाको अध्ययन तथा पहिचानको अभियान संचालन गर्ने भएको छ । पश्चिमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघको मंगलबार पोखरामा बसेको बैठकले देश संघीय संरचनामा जाँदै गर्दा यो क्षेत्रको सम्भावनाको पहिचान र कार्यान्वयनको लागि अभियान चलाउने निर्णय गरेको हो ।

पश्चिमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष संजिवबहादुर कोइरालाको अध्यक्षतामा बसेको बैठकले सम्भावनाको पहिचानको लागि आउँदो पुसको २२ र २३ गते पोखरामा बृहत गोष्ठी तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको पश्चिमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघका महासचिव दामु अधिकारीले जनाउनुभयो ।

उहाँका अनुसार अन्तरक्रिया कार्यक्रममा यो क्षेत्रमा रहेका सम्पूर्ण उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रतिनिधी, विकास विज्ञ र सामाजिक अभियन्ताहरु तथा सरकारी निकायका प्रतिनिधिको सहभागिता रहनेछ । अन्तरक्रियाबाट प्राप्त हुने निष्कर्षलाई कार्यान्वयन गराउन निजी क्षेत्रले सघाउने तथा यसको लागि सरकारी निकायसँग समन्वय र पैरवी गरिने अध्यक्ष कोइरालाले जानकारी गराउनु भयो ।

यसैगरी पश्चिमाञ्चलय क्षेत्रीय उद्योग वाणिज्य संघको बैठकले नेपाल सरकारका विभिन्न निकायहरुमा उद्योग व्यवसाय दर्ता गर्दा उद्योग वाणिज्य संघहरुको अनिवार्य सिफारिसको व्यवस्थाको लागि सम्बन्धित निकायमा पहल गर्न तथा स्याङ्जा जिल्ला क्षेत्रमा पर्ने शिद्धार्थ राजमार्गको खण्डको वरपर रहेका घरहरुलाई मापडण्डको कारण देखाई बैंक तथा वित्तिय संस्थाहरुले लगानी नगरेको सन्दर्भमा सम्बन्धित निकायमा लगानीको लागि नेपाल उद्योग वाणिज्य महासंघमार्फत पहल गर्ने निर्णय पनि भएको छ । बैठकमा पश्चिमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष संजिवबहादुर कोइरालाको अध्यक्षतामा भएको थियो ।

 

कमेन्टहरु
Loading...