अस्पतालभित्रै छोरीचेली असुरक्षित

गोपाल दाहाल

२९ जेठ, धरान । देशकै सुविधासम्पन्न तथा दक्ष चिकित्सक भएको अस्पतालमा गनिने धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान एकपछि अर्को विवादमा फस्दै जान थालेको छ । ठमठम हिँडेर उपचार गर्न गएका सामान्य बिरामीको लास फर्किने र उपचारमा गएका महिला बिरामी अस्पतालका कर्मचारीबाटै असुरक्षित बन्ने घटना देखिएपछि प्रतिष्ठानको विश्वसनीयता झन् खस्किएको छ । गत वैशाख २० गते पत्थरीको उपचार गर्न गएकी धरान ११ सृजनाचौककी ३० बर्षीया मनमाया तामाङको मृत्यु भएपछि गठन भएको छानबिन समितिले केही दिनअघि सार्वजनिक गरेको प्रतिवेदनमा गलत उपचारले उनको मृत्यु भएको निष्कर्ष निकालेको छ । उनको वैशाख २२ गते प्रतिष्ठानको सर्जरी विभागका प्रमुख -एचओडि) समेत रहेका वरिष्ठ चिकित्सक चन्द्रशेखर (सिएस) अग्रवालले अप्रेसन गरेका थिए । ‘२२ गते गरिएको शल्यक्रियाका क्रममा राखिएको डिजे स्टेन्ट सही ठाउँमा नगई पिसाब नलीलाई त्यसले सानो प्वाल पारी तल्लो पेटमा गएको पाइयो ।’ प्रतिवेदनमा उल्लेख छ ।

पीडित परिवार र मानवअधिकारवादीको लामो आन्दोलनपछि गठन भएको समितिले प्रतिवेदन सार्वजनिक गरेको केही दिनमै प्रतिष्ठानमा अर्को त्यस्तै घटना भयो, जसको छानविन चलिरहेको छ । यी त केही उदाहरणमात्र हुन् । डाक्टरको लापरबाहीले विरामीको मृत्यु हुने र सामान्य विरामी सिकिस्त हुने गरेका धेरै उदाहरण भेटिन्छन् यहाँ । डाक्टरले लापरबाही गरेको भन्दै पिडीत परिवार र डाक्टरको झगडा, कुटाकुटका पटक-पटक दोहोरिने गरेका छन् । बर्षमा एक दुई पटक विरामीका आफन्तले हातपात गरेको भन्दै डाक्टरहरु सडकमा नारा लगाउँदै आन्दोलनमा उत्रिन्छन् ।

पुर्वका अधिकांश स्थानबाट सिफारिस भएर बिरामीहरु आउने प्रतिष्ठानमा धेरैजसो बरिष्ठ चिकित्सकहरु कार्यरत छन् । अस्पतालमा आधुनिक उपकरण पनि छन् । यो उपचार गर्ने अस्पताल मात्रै नभएर डाक्टर उत्पादन गर्ने कलेज पनि हो । तर, शिकारु डाक्टरका कारण धेरै बिरामीकोे ज्यान जोखिममा पर्ने गरेको सर्वसाधारणको अनुमान छ । हुन त उपचारको अभ्यास गरिरहेका जुनियरहरु विशेषज्ञको निगरानीमा हुन्छन् भनिन्छ त्यति हुँदाहुँदैपनि धेरै सेवाग्राहीको उपचारमा लापरबाही भएको गुनासो सुनिन्छ ।कतिपय डक्टरहरु अहिले पनि बाहिरका प्राईभेट क्लिनिकमा उपचार गर्न पुग्छन् र प्रतिष्ठानमा आएकालाई त्यति वास्ता गर्दैनन् । प्रतिष्ठानमै दुई प्रकारको उपचार हुन्छ । प्रतिष्ठानमा उपचार गर्दा वेवास्ता गर्ने डक्टरले पनि प्रतिष्ठानभित्रै महँगो शुल्क तिर्नु पर्ने पेईङमा भने ध्यान दिएर उपचार गर्ने गरेको पीडितहरुको गुनासो छ । त्यो प्रचलनले पनि पेईङमा नजाने बिरामीलाई लापरबाही हुने गरेको पिडीतहरुको गुनासो छ ।

प्रतिष्ठानमा दक्ष चिकित्सक र उपकरण भए पनि नचिनेका सर्वसाधारण बिरामीको वेवास्ता हुन्छ । उपचार पाउन सोर्स फोर्स र चिनजानको आवश्यकता पर्छ । प्रतिष्ठानमा कोही आफन्त छ वा सोर्स फोर्स चल्छ भने बिरामीले तुरुन्त उपचार पाउने गरेका छन् । कोही आफन्त नहुने र नबोल्नेको वेवास्ता हुने गरेका धेरै उदाहरण छन् ।लापरबाहीको विषयमा प्रतिष्ठानमा पटक-पटक छलफल हुने गरेको छ । छलफलमा प्रतिष्ठानका डाक्टरहरु जानीजानी कुनै डक्टरले गल्ती नगर्ने बताउँछन् । तर, प्रतिष्ठान विद्यार्थीहरुको सिक्ने ठाउँ पनि भएकाले कहिलेकाहीँ नचाहँदा नचाहँदै पनि गल्ती हुने गरेको बताउँछन् । डाक्टरहरु सयौंमा एकदुई जनाको मृत्यु हुने भन्दै विरामीको मृत्युलाई मेडिकल साइन्समा सामान्य घटना मान्छन् । तर, पीडीत परिवारका लागि त्यही एकजना मानिस सर्वस्व हुन्छ ।

प्रतिष्ठानमा छोरीचेली असुरक्षित

अस्पतालमा आन्दोलन र विवाद चलिरहेकै बेला दुई दिनअघि प्रतिष्ठानमा छोरीचेली असुरक्षित भएको भन्दै एकहुल मान्छेले प्रतिष्ठानका निर्देशक अरबिन्दकुमार सिन्हाको कार्यालय घेराऊ गरे । प्रतिष्ठानमा उपचारका लागि भर्ना भएकी एक युवतीलाई प्रतिष्ठानकै कर्मचारी सुधनलाल सिंहले बलात्कार प्रयास गरेको भन्दै परिवारजन र राजनीतिक दलका नेता कार्यकर्तासमेत विरोधमा उत्रिए । प्रतिष्ठानको मेडिसिन युनिटको लिफ्टका कर्मचारी सिंहले आइतबार राति बिरामी युवती हिँडिरहेकाबेला तानेर यौन दुव्यर्वहारको प्रयास गरेपछि युवती रुँदै बेडमा फर्किएकी थिइन् । त्यसपछि सिंहलाई प्रहरीले पक्राउ गरेर थुनामा राखेको छ ।

प्रतिष्ठानमा यसअघि पनि त्यहिँ काम गर्ने महिला कर्मचारी र उपचार गर्न आएका महिलामाथि यस्ता घटना हुने गरेको बुझिएको छ । यसअघि पनि कम्प्युटरमा काम गर्ने एक महिला कर्मचारीलाई हातपात गरेको अभियोगमा प्रतिष्ठानका एक कर्मचारीले राजीनामा दिनुपरेको थियो ।त्यसो त बाहिरका युवाहरुले प्रतिष्ठानमै आएर डाक्टर, नर्स तथा महिला कर्मचारीलाई पनि अश्लील गाली गर्ने, हात हाल्ने जस्ता घटना पनि नभएका होइनन् । तर, प्रतिष्ठानका उपकुलपति वा निर्देशक कोही पनि यस्ता घटनाबारे बोल्न मान्दैनन् ।प्रतिष्ठानकै केही डाक्टरहरुको भनाइमा उपकुलपति वीपी दास नै बाहिरका गुण्डागर्दी गर्ने युवालाई प्रयोग गरेर आफ्ना विपक्षीलाई ठीक पार्ने काम गर्छन् । प्रतिष्ठानभित्रै काम गरिरहेका डाक्टरलाई कुट्नैकै पक्षमा उपकुलपति लागेको भनेर डक्टरहरुले गत बर्ष पत्रकार सम्मेलन नै गरेका थिए ।

यसरी लापरबाही र असुरक्षा बढ्दै जाँदा धरानको गहनाका रुपमा रहेको प्रतिष्ठान दिनदिनै धरासायी बन्दै गएको छ । खराब व्यवस्थापनका कारण अस्तव्यस्त बन्दै गएको प्रतिष्ठान बचाउन स्थानीयवासी जागरुक हुनुपर्ने आवश्यकता बढेको स्थानीयवासी बताउँछन् । स्मरण रहोस् वीपी प्रतिष्टानमा नेपालका मात्रै नभएर भारतबाटसमेत बिरामीहरु उपचारका लागि आउने गरेका छन् ।

– See more at: http://www.onlinekhabar.com/2013/06/81188/#sthash.dy5jhxbk.dpuf

कमेन्टहरु
Loading...