कम्पनीको लापरबाहीले प्याराग्लाईडिङ दुर्घटना

पोखरा, २४ कात्तिक/प्रशिक्षणको क्रममा प्याराग्लाईडिङ दुर्घटना भए पछि कम्पनीको लापरबाहीले ज्यान गएको भन्दै विरोध भएको छ । शुक्रबार स्याङ्जाको स्वरेकमा प्रशिक्षणकै क्रममा दुर्घटनामा परी पोखरा लेकसाइडका शैलेष पहारीको मृत्यु भएको हो । दुर्घटनामा प्रशिक्षण गराउने स्कुलको लापरबाही भएको भन्दै नेपाल प्याराग्लाईडिङ पाईलट्स क्लवले सत्यतथ्य छानवीनको माग गरेको छ । क्लवले सोमबार क्षेत्रीय प्रहरी प्रमुख कमल सिंह बमलाई ज्ञापन पत्र बुझाउँदै लापरबाही बारे छानवीन गरी कडा कारबाहीको माग गरेको हो ।

नियम विपरित पाईटललाई प्रशिक्षण गराएर दुर्घटना भएको स्पष्टै छ, क्लवले भनेको छ–बन्दीपुरमा इजाजत लिएर स्वरेकमा प्रशिक्षण गराउनु कसको कमजोरी रु श्रोतका अनुसार शुक्रबार स्वरेकमा प्रशिक्षण गराएको कम्पनी ब्लुस्काई फ्लाईङ स्कुलले बन्दीपुरबाट मात्रै उडान प्रशिक्षण दिन पाउँछ । बन्दीपुरबाट उडान गर्न पाउने भएपनि स्कुलले पहिलेदेखि नै सराङकोटबाट उडान गरिरहेको थियो, श्रोतले भन्यो–त्यसदिन नागरिक उड्ययन प्राधिकरणले नै प्याराग्लाइडिङ उडान बन्द गरेपछि स्वरेक पुगेको पाईएको छ । भारतीय राष्ट्रपतिको पोखरा भ्रमणलाई केन्द्रित गरेर त्यस दिन प्याराग्लाईडिङ उडान ठप्प गरिएको थियो ।

क्लवका अध्यक्ष खुम बहादुर गुरुङले प्रशिक्षण स्कुलकै प्रशिक्षार्थी दुर्घटनामा परेर मुत्यु हुनु दुखद भएको बताए । सुरक्षाका हिसावले स्वरेक निकै डरलाग्दो छ, उनले भने–एक्सपर्ट पाईलटहरु पनि अन्यौलमा पर्छन्, भर्खरको बिद्यार्थीले ल्याण्डिङ गर्न सहज छैन । उनका अनुसार ४ महिना अघि मात्रै पोखरामा प्याराग्लाईडिङ पाईलट उत्पादन गर्ने स्कुल स्थापना भएको हो । प्रशिक्षण स्थलमा सहजै मोटर समेत नचल्ने उनले बताए । अध्यक्ष गुरुङले नागरिक उड्ययन प्राधिकरणको म्यानुअल विपरित प्रशिक्षण गराईएको बताए । सञ्चार सुविधा समेत सहज नभएकाले दुर्घटना भएको ६ घण्टापछि मात्रै प्रहरीलाई जानकारी गराईएको स्थानीयले बताएका छन् । दुर्घटना हुने वित्तिकै अस्पताल लगेको भए घाईते बाँच्न सक्थ्यो, उनीहरुले भने–जानकारी नै ढिलो भयो ।

क्लवले दुर्घटना स्थलमा अहिले पनि प्रशिक्षणको काम भैरहेकाले तत्काल रोक्न सरोकारवालाको ध्यानाकर्षण गराएको छ । हामीले क्षेत्रीय प्रशासन कार्यालय सहित एयरपोर्टलाई पनि खबर गरेका छौं, क्लवका सचिव हरि बास्तोलाले भने–अहिले नै रोकिएन भने अर्को घटना दोहोरिन सक्छ । उनले पछिल्लो समय च्याउ उमारेझैं पाईलट उत्पादन गरेकाले यो क्रम रोकिनुपर्ने सुझाव दिए । पोखरामा ६० वटा प्याराग्लाईडिङ कम्पनी भएपनि झण्डै पाँच सय पाईलट उत्पादन भैसकेका छन् ।

तिमध्ये १ सय ७३ जनाले मात्रै उडान इजाजत पाएका छन् । ज्ञापन पत्र बुझेपछि डिआईजी कमलसिंह बमले अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाए । पर्यटनको नाममा हामी आँखा चिम्लेर बस्दैनौं, उनले भने–अनुसन्धानले सबैकुरा खोज्छ, कानुनी दायरामा ल्याएर कारबाही गर्छौं । उनले मातहतका सबै कार्यालयलाई निर्देशन दिने जनाए । पाइलटहरुले दुईवटै प्रशिक्षण स्कुललाई अध्ययन विनै इजाजत दिईएकाले तत्काल बन्द गरिनुपर्ने माग समेत राखेका छन् ।

 

कमेन्टहरु
Loading...