सत्ता छोड्नु पर्दा एमालेलाई छटपटी ः कुमार

पोखरा, १२ असोज/नेकपा (माओवादी केन्द्र) कास्की अन्तर्गतका विभिन्न जनवर्गीय संगठन तथा जातीय÷क्षेत्रीय मोर्चाहरूको बैठक तथा प्रशिक्षण सम्पन्न भएको छ ।

कार्यक्रममा प्रशिक्षण दिँदै माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य हरिराज अधिकारी ‘कुमार’ले प्रमुख प्रतिपक्षी दल एमालेले माओवादी केन्द्रविरुद्ध भ्रामक प्रचारबाजी गरिरहेको आरोप लगाउनुभयो । ‘सत्ता छोड्नु परेकोमा प्रमुख प्रतिपक्षी दल एमालेलाई छटपटी भइरहेको छ’, नेता कुमारले भन्नुभयो, ‘एमालेले लगाइरहेको आरोप सत्ता छोड्नु पर्नाको रोदन बाहेक केही होइन ।’

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले नेपाल–भारतबीच समकक्षीको सम्बन्ध स्थापित भएको भन्दै नेता कुमारले माओवादीलाई सिध्याउन देशी विदेशी शक्तिहरू लागिपरेको उल्लेख गर्नुभयो । पोलिटब्यूरो सदस्य झलकपाणि तिवारीले पार्टी एकता भएपछि आम नेता, कार्यकर्ताबीच उत्साह आएको बताउँदै चुनावकेन्द्रित भएर काममा जुट्न कार्यकर्तालाई निर्देशन दिनुभयो । पोलिटब्यूरो सदस्य एवं कास्की जिल्ला संयोजक राजकाजी गुरुङ ‘करण’ले आगामी चुनावमा पार्टीलाई पहिलो बनाउन जनताबीच जाने बताउँदै जनताको दैनिक समस्यासँग पार्टी सँगै साथमा रहने बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) कास्की जिल्ला कार्यालय सदस्य आसमान रोकामगर ‘पवन’को अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कार्यालय सदस्य बालकृष्ण काउछामगरले पनि बोल्नुभएको थियो । बैठकमा पार्टी अन्तर्गतका मजदुर, विद्यार्थी, महिला, किसान, सुकुम्बासीलगायतका जनवर्गीय संगठनहरू एवं मगर, तमु, तामाङ, नेवारलगायतका जातीय मोर्चाहरूका केन्द्रीय सदस्यहरूको सहभागिता रहेको थियो ।

कमेन्टहरु
Loading...