पोखराको टुँडिखेल मैदानमा ‘वृहत दशैँ फुलपाती मेला’

पोखरा, १२ असोज /बगरको टुँडिखेल मैदानमा यो पटक विशेष ‘दशैँ फुलपाती मेला’ हुने भएको छ । परापुर्वकालदेखि नै टुँडिखेल मैदानमा फुलपातीको दिन विशेष हाट बजारसहितको मेला लाग्ने भएपनि यो पटक त्यहाँको बुद्ध टोल युवा क्लबले मेलालाई अझै वृहत बनाउन लागेको हो । क्लबले बुधबार मेलास्थलमै पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएको हो ।

मेला असोज १८ देखि २४ गतेसम्म चल्ने आयोजकले बताएको छ । ‘टुँडिखेलमा फुलपाती हाटबजार र मेलाको परम्परा निकै पुरानो हो । यद्यपी यो पटक मेलालाई अझै वृहत रुपमा हामीले लैजान लागेका हौँ ।’ मेलाका सँयोजक चन्द्रबहादुर गुरुङले भने–‘यसले मेलाको महत्वलाई अझै बढाउने हामीले ठानेका छौँ ।’ टुँडिखेल मैदानको स्तरोन्नती र टोल सुधारका लागि युवा क्लबले मेला आयोजना गर्न लागेको जानकारी दिएको छ ।

यो पटक मेलामा भेडा च्याङ्ग्राको विशेष स्टलसँगै व्यापारिक स्टल, बाल उद्यान, विभिन्न खेल सामाग्री र राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहनेछ । साँगीतिक प्रस्तुतीमा लोकदोहोरी तर्फ प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, शर्मिला गुरुङ, रामजी खाँड, राजु गुरुङ लगाएतको विशेष प्रस्तुती रहनेछ । मेला अवधीभर साँझपख हुने पप कन्सर्टमा अभया एण्ड स्टिम ईन्जन्स, अनुप्रस्थ, लेकाली ब्याण्डले माहौल गर्माउने आयोजकले बताएको छ । त्यो सँगै पोखरेली माग्ने बुढा, धुर्मुस र दिपक थापाको हाँस्य प्रस्तुती पनि मेलामा रहने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

एक सातासम्म चल्ने मेलाका लागि १३ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको बुद्ध टोल युवा क्लब बगरका अध्यक्ष अरुण गुरुङले बताए । मेलामा ३१ वटा व्यवसायिक स्टल रहनेछन् । टुँडिखेलको ऐतिहासिक महत्वलाई पछिल्लो पुस्ताले भुल्दै गएकोले त्यसको महत्व जोगाईराख्न र युवापुस्तालाई त्यहाँ आकर्षित गर्न मेला गर्न लागेको क्लबले जनाएको छ । मेलाबाट भएको आम्दानी रकम टुँडिखेल मैदानको स्तरोन्नतीका लागि खर्च गरिने आयोजकले बताएको छ । यो पटक फुलपातीको दिन टुँडिखेल मैदानमा अघिपछि भन्दा धेरै भेडाच्याँग्रा ल्याईने पनि आयोजकले दाबी गरेको छ ।

कमेन्टहरु
Loading...