गन्थन ब्यूरो /व्यापारीहरुको संस्था पोखरा उद्योग वाणिज्य संघको चुनाव घोषणाप्रति राजनीतिक दलहरुको चासो चुलिएको छ ।संघको नेतृत्वसँग नजिक रहेर राजनीतिक अभिष्ट पूरा गर्ने महत्वकांक्षाका कारण दलहरुले चुनावप्रति चासो देखाएका हुन् । संघको अध्यक्ष आफू निकट भए संगठन बिस्तार तथा चन्दा एवं अन्य सहयोगको हात फैलाउन सहज हुने भएकोले दलहरुले संघको चुनावमा बढी चासो दिएका हुन् ।

पोखरा उद्योग वाणिज्य संघमा अहिले सम्म नेपाली काँग्रेस निकट व्यक्तिहरुको पकड रहँदै आएको छ । यद्यपी, संघमा वामपन्थी पृष्ठभूमिका केही व्यक्तिहरु नेतृत्वमा नपुगेका भने हैनन् । अहिलेका निवर्तमान अध्यक्ष संजिवबहादुर कोइराला यतिबेला खुलेर एमालेको शुभेच्छुक संस्था राष्ट्रिय उद्योग व्यापार संघको गतिविधीमा सक्रिय रहेका छन् । यद्यपी, उनी संघको अध्यक्ष हुनुभन्दा अगाडि र कार्यकालभरी उनले आफूलाई पार्टी कार्यकर्ताभन्दा माथि राखेर गतिविधी अगाडि बढाएका थिए ।
उनलाई चुनाव जिताउन सघाउनेहरु पनि काँग्रेसी नै थिए । तर, दोस्रो कार्यकालमा अध्यक्षको चुनावमा आफ्नै जेठान विन्दुकुमार थापासँग पराजीत भएपछि भने उनी पार्टी राजनीतिमा सक्रिय हुन पुगे । उनले आफू कास्की अध्यक्ष रहेको राष्ट्रिय उद्योग व्यापार संघलाई पोखराका वडा–वडामा बिस्तार गरेका छन् । संस्थालाई वडा–वडामा बिस्तार गर्नुको एउटै ध्येय छ – पोखरा उद्योग वाणिज्य संघको आसन्न चुनावमा आफू अनुकुलको व्यक्तिलाई नेतृत्वमा पु¥याउनु ।
कोइराला अध्यक्ष रहेको संस्थाको एक कार्यक्रममा एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले हाँक दिएर भनेका थिए–‘ अबको हाम्रो ध्यान भनेको पोखरा उद्योग वाणिज्य संघको नेतृत्व लिनु नै हो, यो पटक एमाले ए काँग्रेस वा बि काँग्रेसको समर्थक बन्दैन बरु सबै पदमा आफ्नै उम्मेदवार खडा गर्छ ।’ उनको भनाईले पनि पोखरा उद्योग वाणिज्य संघलाई एमालेले कति महत्व दिएको छ भन्ने प्रष्ट पार्छ ।
तर, परिस्थिति एमाले अध्यक्ष थापाले भने जस्तो भने छैन । किनकि, एमाले यही आसन्न चुनावमा अध्यक्षमा उम्मेदवारी दिएर विजय प्राप्त हुन्छ भन्ने विश्वासमा छैन । एमाले निकट एक व्यवसायीका अनुसार एमालेको तर्फबाट उद्योग वाणिज्य संघ बुझेको उम्मेदवार नै पनि नरहेकाले यो पटक आफू अनुकुलको अध्यक्ष ल्याउने र अन्य पदमा आफ्ना उम्मेदवार विजयी बनाउँदै नेतृत्व प्राप्त गर्ने दौडमा रहेको छ । उनले भनेजस्तै यो पटकको चुनावमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका विश्वशंकर पालिखे, नारायण कोइराला, देव क्षेत्री, हिरा भट्टराई, ईश्वर कर्माचार्य र धनीराम बराल सबै काँग्रेसी पृष्ठभूमिका हुन् ।

अहिलेका अध्यक्ष विन्दुकुमार थापाको कार्यसमिति र पदाधिकारीमा पनि अधिकांश काँग्रेसी पृष्ठभूमिकै व्यक्ति रहेका छन् । स्रोतका अनुसार अध्यक्षमा आफ्नो उम्मेदवार नहुने भएपछि एमाले यतिबेला अध्यक्ष बाहेकका सबै पदमा उम्मेदवारी दिने कि कुनै व्यक्तिको नेतृत्व स्वीकारेर आफ्ना व्यक्तिलाई स्थापित गराउने भन्ने द्धिविधा छ । एमाले निकट केही व्यापारीहरु बरिष्ठ उपाध्यक्षसहितका पदमा उठ्न पनि तयार छन् तर पार्टीप्रति बफादार र व्यापारीले पत्याएका केही व्यक्तिहरु भने महासचिव स्थापित गरेर आगामी कार्यकाल अध्यक्ष पद प्राप्तिको अभियानमा जुटेका छन् ।
‘त्यसको लागि ए वा बि काँग्रेसमध्ये कसलाई समर्थन गर्ने भन्ने कुरामा द्धिविधा छ, संजिवजी र पार्टी अध्यक्ष कृष्ण थापाको पनि यसमा कुरा मिलेको छैन’, स्रोतले भन्यो,‘ थापा र कोइरालाको नेतृत्व दिन भिन्दै उमेद्वार छन् ।’ स्रोतका अनुसार एमाले रिझाउने खेलमा अध्यक्षका उम्मेदवारहरुको दौडधूप जारी छ । बाजी कसले मार्ने हो थाहा छैन तर यो चुनावमा एमाले देखिने गरी निर्णायक भूमिकामा आउने एमाले स्रोतले दावी ग¥यो । अधिकांश बस्तुगत संघका अध्यक्ष एमाले निकट भएका र पछिल्लो समयमा एमाले निकट उद्योगी÷व्यवसायीले संघको सदस्यता बढी लिएका कारण निर्णायक तहमा एमाले नै भएको निष्कर्ष उनको रहेको छ ।
मिलाउने यो उपक्रममा अहिले अध्यक्षका दावेदार बनेकाहरुलाई समेत व्यवस्थापन गर्दै अगाडि बढ्ने र दुबैको चित्त बुझाउने गरी काम गर्न समेत केही व्यक्तिहरु लागेको समेत स्रोतले बताएको छ । एमालेको सक्रियतापछि काँग्रेसको पनि कान ठाडा भएका छन् । संगठनको महत्व बुझेका कास्की काँग्रेसका सभापति कृष्ण केसीले उद्योग वाणिज्य संघमा आफू अनुकुलको नेतृत्वको लागि कास्की काँग्रेसले ६ जना अध्यक्षका आकांक्षीहरुको भेला नै आयोजना गरे । भेलामा सबै अध्यक्षका प्रत्यासीहरु काँग्रेस निकट भएकाले मिलेर अगाडि बढ्न कृष्ण केसीले सुझाव दिए । तर, सहमति भने बन्न सकेन ।
एमालेको तर्फबाट अध्यक्षसहितको प्यानल घोषणा भएको अवस्थामा आफूहरु लचिलो बन्न सक्ने केही उम्मेदवारहरुले आश्वासन दिए । त्यो भेला भएको लगत्तै नेपाली काँग्रेसको पार्टी राजनीतिमा समेत सक्रिय रहेका धनीराम बरालले पत्रकार सम्मेलन नै गरेर उम्मेदवारी घोषणा गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको हालको पदाधिकारी तथा कार्यसमितिमा नेपाली काँग्रेस निकटहरुको बोलबाला छ । पदाधिकारी र कार्यसमितिमा पनि काँग्रेस समर्थित नै रहेका छन् ।
जसले गर्दा कास्की काँग्रेस सो संस्थामा पुनः आफू अनुकुलका व्यक्ति नै भएको हेर्न चाहन्छ । पार्टी सभापति कृष्ण केसीले एक कार्यक्रमको दौरानमा एमालेले हरेक संघ÷संस्थामा कब्जा जमाउने रणनीति लिएपछि रेडक्रस सोसाइटी जस्ता संस्थाहरु एमालेको पार्टी अफिस जस्तो बन्न पुगेको टिप्पणी गरेका थिए । सामाजिक सेवा गर्ने भन्दै खोलिएको लायन्स क्लवमा समेत पछिल्लो समय एमाले निकटहरुले हैकम जमाउन थालेको चर्चा चलिरहँदा काँग्रेसको लागि पोखरा उद्योग वाणिज्य संघको चुनाव आफ्नो अस्तित्व रक्षाको मुद्धा बनेको छ ।
उता, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र बाबुराम भट्टराईको नयाँ शक्ति निकट व्यवसायीहरुले पनि संघको चुनावमा चासो देखाएका छन् । ती दुबै शक्ति आफै प्यानल बनाएर चुनावमा आउने हैसियतमा छैनन् तर उनीहरु कसैलाई समर्थन गर्दै आफ्ना निश्चित उम्मेदवारलाई सदस्यमा जिताउन वा मनोनित गराउने ध्याउन्नमा रहेको स्रोतले बतायो ।