पोखरा, ३० साउन । महिन्द्रा टु ह्विलर्सको निःशुल्क सर्भिस क्याम्प पोखरामा सुरु भएको छ । महिन्द्रा टु ह्विलर्सको नेपालका लागि आधिकारिक बिक्रेता अग्नी मोटोइन्क प्रालि र पोखराको बिक्रेता एशियन अटोमोबाइल्सको संयुक्त आयोजनामा आइतबार सुरु क्याम्प मंगलबारसम्म जारी रहनेछ ।
बिक्री पछिको सेवालाई प्रभावकारी बनाउने उद्देश्यले क्याम्प आयोजना गरिएको एशियन अटोमोबाइल्सका सञ्चालक किशनमान बुद्धाचार्यले जानकारी दिए । क्याम्प अबधिभर महिन्द्रा टु ह्विलर्सको स्कुटर तथा मोटरसाइकलका ग्राहकलाई निःशुल्क सर्भिसिङ सेवा प्रदान गरिनेछ । स्पेयरपार्टस्, इन्जित तथा मोबिलमा १० प्रतिशत छुटको व्यवस्था गरिने बुद्धाचार्यले बताए । ‘प्रत्येक ग्राहकलाई दुई पटकसम्मका लागि फ्रि वासिङ कुपन प्रदान गरिनेछ,’ उनले भने ।
क्याम्पमा सहभागी ग्राहकलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको बुद्धाचार्यले जानकारी दिए । महिन्द्राद्वारा प्रशिक्षित सर्भिस इन्जिनियरहरुले मोटरसाइकल तथा स्कुटरको परीक्षण गर्नेछन् । ‘निःशुल्क क्याम्पबाट यस क्षेत्रका महिन्द्रा टु ह्विलर्सका ग्राहक प्रत्यक्ष लाभान्वित हुनेछन्,’ बुद्धाचार्यले भने, ‘आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु आयोजना गर्नेछौं ।’