पर्यटक बोलाउन पर्यटन व्यवसायी चाइना तर्फ

पोखरा, ७ साउन ः चाइना सेल्स मिसनमा सहभागिताका लागि जान लागेको पश्चिमाञ्चल होटल संघ पोखराको सात सदस्यीय टोलीलाई शुक्रबार एक समारोहका विच विदाई गरिएको छ ।

होटल संघ नेपालले साउन ९ देखि १६ गते सम्म चीनका विभिन्न शहरमा आयोजना गर्ने उक्त सेल्स मिसनमा पश्चिमाञ्चल होटल संघ पोखराको टोली पनि सहभागी हुँदै छ ।

पर्यटक बोलाउन पर्यटन व्यवसायी चाइना तर्फ
पर्यटक बोलाउन पर्यटन व्यवसायी चाइना तर्फ

संघका अध्यक्ष भरतराज पराजुलीले लेकसाइडमा आयोजित कार्यक्रममा फूलमाला पहिर्याएर टोलीका सदस्यलाई विदाई गरेका हुन् । टोलीमा होटल ट्रेकर्स इनका महादेव भण्डारी, कमला भण्डारी, सनसार भण्डारी, अतिथि रिसोर्टका भरतराज शर्मा, सनफ्लावर होटलका शिव अधिकारी, न्यू अन्नपूर्ण गेष्ट हाउसकी लक्ष्मी लामिछाने र होटल मोनालकी प्रासिद परियार रहेका छन् ।

विदाई कार्यक्रममा बोल्दै संघका अध्यक्ष भरतराज पराजुलीले टोलीलाई शुभ यात्राको कामना गरे । चीनमा पोखराको प्रचार बढी भन्दा बढी गर्न आग्रह गर्दै पराजुलीले टोलीलाई पोखरा सम्बन्धी प्रचार सामग्री समेत वितरण गर्न अनुरोध गरे ।

विगतमा पनि संघले चीनमा होटल संघ नेपालसँग मिलेर सेल्स मिसन संचालन गरेको स्मरण गर्दै यो पटकको सेल्स मिसन पनि सफल हुने विश्वास व्यक्त गरे । संघले आन्तरिक बजारका लागि जाउँ है पोखरा, भारतीय बजारका लागि चलिए पोखरा र अन्तर्राष्ट्रिय बजारका लागि पोखरा ः प्युर एण्ड पर्फेक्ट नारा सहित प्रवद्र्धनका कार्यक्रम संचालन गर्दै आएको छ ।

चीन जाने टोलीमा होटल संघ नेपाल केन्द्र, चितवन शाखा र पोखराबाट गरी ५० जनाको प्रतिनिधित्व रहने जनाइएको छ । टोलीले चीनका संघाई, बेइजिङ लगायतका ठाउँमा कार्यक्रम गरी नेपाल प्रवद्र्धनका कार्यक्रम संचालन गर्ने योजना रहेको छ । विदाई कार्यक्रममा संघका प्रथम उपाध्यक्ष विकल तुलाचन, पूर्व कार्यसमिति सदस्य हेमराज पहारी र महासचिव भेकेन्द्रकुमार श्रेष्ठले पनि बोलेका थिए ।

कमेन्टहरु
Loading...