विपी स्मृति दिवसका अवसरमा बृक्षारोपण

पोखरा, ६ साउन /३४ औं विपी स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस कास्की क्षेत्र नं २ ले पोखरा १९ लामाचौरस्थित स्व.शैलजा आचार्यको आश्रम परिसरमा ४ सय विरुवा रोपेको छ । कार्यक्रममा पूर्व प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार एवम् महाधिवेशन प्रतिनिधि बाबुराम आचार्यले विपी कोइरालाले प्रस्तुत गर्नुभएको प्रजातान्त्रिक समाजवादको विचारबाटै नेपाल वर्तमान अवस्थासम्म आइपुगेको बताउनुभयो ।

नेपाली काँग्रेसले विपी विचारलाई आत्मसात गर्दै उहाँको योगदानलाई चीरकाल पर्यन्त जीवन्त राख्नुपर्ने बताउनुभयो ।
नेपाली काँग्रेस कास्की क्षेत्र नं २ का सभापति मधु वास्तोलाले नेपालको समुन्नति र विकासका लागि विपीका विचार तथा आदर्शलाई आत्मसात गर्नुपर्ने बताउनुभयो ।

नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बरालले विपीको सिद्धान्त वर्तमानमा पनि उत्तिकै सान्दर्भिक भएको बताउँदै कम्युनिष्ट विचारकले पनि विपी विचारलाई उच्च सम्मान गर्र्दै आएको धारणा राख्नुभयो  जिल्ला सदस्य मदनबहादुर के.सी.ले विपीले नेपालको राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान पु¥याउनुभएको थियो ।

नेपाली काँग्रेस कास्की क्षेत्र नं २ का सचिव कृष्ण कोइरालाले सञ्चालन एवम् उपसभापति मायादेवी तज्जीयाले स्वागत गर्नुभएको उक्त कार्यक्रममा क्षेत्रीय सचिव वर्षाकेशब पराजुली, कोषाध्यक्ष महेन्द्र अधिकारी लगायतले आ आफ्ना धारणा राख्नुभएको थियो ।

बृक्षारोपण कार्यक्रममा माइती नेपालका केन्द्रीय अध्यक्ष अनुराधा कोइरलाको विशेष उपस्थिति थियो भने जिल्ला सदस्य मदनबहादुर केसी, महाधिवेशन प्रतिनिधि परशुराम वि पोखरेल, जिल्ला सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालयका प्राचार्य बद्री अधिकारी, महाधिवेशन प्रतिनिधि एवम् कार्यक्रम संयोजक पदम सिंह गुरुङ लगायत पार्टीका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति थियो ।

कमेन्टहरु
Loading...