पोखरा, ३ साउन/पोखरा ट्रेड मलमा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरुले नै बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । मलको व्यवस्थापन समूहले पार्किङ शुल्क उठाएको बिरोधमा व्यवसायीहरु आन्दोलित भएका हुन् । पार्किङ शुल्क उठाएको विरोधमा व्यवसायीले मलमा रहेका २ सय व्यवसायिक सटरहरु सोमबार बन्द गरे ।
पार्किङ शुल्क उठाउँदा मलमा आउने ग्राहक मर्कामा परेको व्यवसायीहरुको भनाइ छ । पार्किङ शुल्क नउठाउन माग गर्दै निवेदन दिँदा मल सञ्चालकहरुबाट सुनुवाइ नभएकाले बाध्य भएर व्यवसाय बन्द गरेर आन्दोलित हुनुपरेको एक व्यवसायीले बताइन् । ‘पार्किङ शुल्क लिने निर्णय फिर्ता नहुँदासम्म आन्दोलन गर्छौं,’ उनले भनिन् ।

मल व्यवस्थापनले भने पार्किङलाई पहिलाको भन्दा बढी व्यवस्थित गरिएको दावी गरेको छ । पार्किङलाई व्यवस्थित गर्ने क्रममा केही शुल्क लिनु परेको प्रवन्ध निर्देशक मीनराज काफ्लेले जानकारी दिए । ‘पार्किङ निःशुल्क गर्दा मलमा आउने ग्राहकले भन्दा बढी अन्य व्यक्तिहरुले पार्किङ गरेको पाइयो,’ उनले भने, ‘पार्किङ स्थल छिट्टै भरिएपछि मलमा आउने ग्राहकलाई पार्किङ गर्न समस्या हुन्थ्यो ।’
पार्किङ व्यवस्थित भएपछि मलमा सपिङ गर्न आउने ग्राहकलाई नै सजिलो हुने काफ्लेको दावी छ । पार्किङलाई व्यवस्थित गर्दा आन्दोलन गर्नुको सट्टा व्यवसायीले सहयोग गर्नुपर्ने काफ्लेले बताए । ‘पार्किङ व्यवस्थित गरेपछि सवारी हराउने समस्या पनि हुँदैन,’ काफ्लेले भने ।
ट्रेड मलमा करिब ८ सय वटा मोटरसाइकल र करिब ४० वटा कार पार्किङ गर्न सकिन्छ । सानो भाइ कन्स्ट्रक्सनलाई पार्किङको जिम्मा दिइएको छ । ट्रेड मलमा पार्किङ गर्दा दुई पाँग्रे सवारीका लागि पहिलो ३ घन्टा ५ रुपैयाँ र त्यसपछि प्रतिघन्टा ५ रुपैयाँका दरले पार्किङ शुल्क उठाउन सुरु गरिएको छ । चार पाँग्रे सवारीको प्रतिघन्टा १० रुपैयाँ र मासिक २ हजार ५ सय रुपैयाँ पार्किङ शुल्क लिन सुरु गरिएको काफ्लेले जानकारी दिए ।

ट्रेड मलभित्रका व्यवसायीहरुलाई भने यो शुल्कमा छुट दिइएको छ । मलभित्रका व्यवसायीलाई दुई पाँग्रे सवारी साधनको मासिक १ सय रुपैयाँ र चार पाँग्रे सवारीको मासिक ५ सय रुपैयाँ पार्किङ शुल्क निर्धारण भएको सञ्चालक सन्तोष घिमिरेले जानकारी दिए । एक अर्ब रूपैयाँ भन्दा बढीको लगानीमा गत असोजदेखि मल सञ्चालनमा आएको हो । साढे ६ रोपनी क्षेत्रफल जग्गामा ट्रेड मल निर्माण भएको छ ।