‘आउँदो ४ वर्षमा पोखरेलीको धारामा शुद्ध खानेपानी’

पोखरा, २ साउन । आउँदो चारवर्ष भित्र पोखरेलीहरुले विश्व स्वास्थ्य संगठनले तोकेको मापडण्ड अनुसारको शुद्ध खानेपानी पाउने भएका छन् । पोखरेलीको धारामा आउने सो पानी बिना हिच्किचाहट घुटुघुटु पिउन सकिने खालको हुनेछ ।
जापानी सहयोग नियोग ( जाइका) ले पोखराको खानेपानी आयोजनाको लागि करिब ५ अर्व अनुदान सहयोग दिने भएपछि यो अवस्था आएको हो ।

पोखरा उद्योग वाणिज्य संघले आइतबार आयोजना गरेको पोखराको खानेपानीको समस्या र समाधानका उपायहरु विषयक अन्तरक्रिया कार्यक्रममा नेपाल खानेपानी संस्थानका अध्यक्ष डा. परमेश्वर पोखरेलले पोखरलीको शुद्ध खानेपानीको चाहना पूरा हुन लागेको जानकारी दिनुभएको हो ।

‘आउँदो ४ वर्षमा पोखरेलीको धारामा शुद्ध खानेपानी’
‘आउँदो ४ वर्षमा पोखरेलीको धारामा शुद्ध खानेपानी’

अध्यक्ष पोखरेलका अनुसार जापान सरकारले अनुदानबारे शैद्धान्तिक सहमति जनाए पनि अनुदान सम्झौता भने भइसकेको छैन । जापान सरकारले चालु अङ्ग्रेजी वर्षको सेप्टेम्बरमा अनुदान दिने सम्बन्धमा अन्तिम निर्णय गर्नेछ भने अक्टोबरमा अनुदान सम्झौतामा हस्तारक्षर गर्ने कार्यक्रम रहेको छ । सम्झौता लगत्तै काम सुरु हुने र सन् २०२० को जनवरीसम्म आयोजनाको सम्पूर्ण काम सकिने उहाँले दावी गर्नुभयो ।

‘यो परियोजनाअन्तर्गत खानेपानीको पाइप लाइन बिस्तार, पानी शुद्ध पार्नको लागि ट्रिटमेण्ट प्लाण्ट निर्माण र पोखराका विभिन्न ३ ठाउँमा पानी संकलन ट्याङ्की ( रिजर्भर ट्याङ्की ) निर्माणको काम एकैचोटी हुनेछ ।’–उहाँले भन्नुभयो । परियोजना संचालन भएपछि पोखराको मुख्य पानीको स्रोत मर्दीखोलाका वरपरका बासिन्दाको मागलाई सम्वोधनको प्रयास गरिने उहाँले बताउनुभयो । स्थानीयबासीले सो क्षेत्रमा भौतिक पूर्वाधार निर्माण गरिनुपर्ने, नदी कटान नियन्त्रण गरिनुपर्ने, स्थानीयहरुलाई रोजगारी दिनुपर्ने, सो क्षेत्रमा सार्वजनिक शौचालय निर्माण गर्नुपर्ने लगायतका मागहरु राख्दै आएका छन् ।

कार्यक्रममा सहभागी मर्दीखोला सरोकार समितिका पूर्व अध्यक्ष गोपाल गिरिले सो क्षेत्रमा शवदाह गृह निर्माण लगायतका स्थानीयका मागहरुको सम्वोधन नगरिएको गुनासो गर्नुभयो । सरोकार समितिका उपाध्यक्ष राम गुरुङले खानेपानी परियोजनाले हरेक वर्ष २० सेण्टिमिटर ड्याम बढाउँदा स्थानीयको जग्गा डुवानमा परेको जानकारी गराउनुभयो । उहाँले पोखरेलीले शुद्ध पानी खान पाउन् भन्ने स्थानीयको सदासयतालाई नजरअन्दाज नगर्न चेतावनी पनि दिनुभयो । अर्का स्थानीयवासी नवराज अधिकारीले खानेपानी मुहान क्षेत्रमा पहिरो नियन्त्रणको कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।

स्थानीयबासी खिमबहादुर थापाले परियोजनाले गर्दा आफ्नो खेत नै बगाएको बताउँदै यस्तै परिस्थिति रहे पानीको मुहानका बासिन्दा आन्दोनलमा उत्रनुको विकल्प नभएको बताउनुभयो । अर्का स्थानीयवासी विष्णुप्रसाद लामिछानेले खानेपानी संस्थानले हिजो गरेका प्रतिवद्धता कार्यान्वयन नगरेको गुनासो गर्नुभयो ।

कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष बिन्दुकुमार थापाले शुद्ध खानेपानीको उपलब्धता पोखरेलीको सरोकारको विषय भएकाले यो परियोजना कार्यान्वयनमा सघाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । परियोजना संचालन गर्दा मुहान क्षेत्रमा रहेका सरोकारवालाको माग संवोधन गरिनुपर्ने, पोखराको दीर्घकालीन आवश्यकतालाई ध्यान दिनुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नेपाल खानेपानी संस्थान पोखराका प्रमुख निरन महर्जनले पोखरामा हाल दैनिक ६ करोड ५० लाख लिटर पानीको आवश्यकता भए पनि ४ करोड ५० लाख लिटरमात्र आपूर्ति गर्न सकिएको जानकारी दिनुभयो । पोखरामा ३ सय किलोमिटरजति पाइपलाइन बिस्तारको माग भए पनि वार्षिक रुपले करिब ६ किलोमिटर मात्र पाइप बिस्तार गर्न सक्दा ५० प्रतिशत जनताले पानी नपाएको उहाँले स्वीकार्नुभयो । उहाँका अनुसार सहरी क्षेत्रमा मात्र खानेपानी आपूर्ति गर्दै आएको संस्थानले अहिले थपिएका वडाहरुमा पनि खानेपानी आपूर्तिबारे सर्वेक्षण थालेको छ ।

संस्थानको पोखरा शाखाले ३४ हजार ८ सय ९९ जना ग्राहकलाई मिटर जडान गरेर पानी उपलब्ध गराउँदै आएको छ । उहाँका अनुसार पोखराको मुख्य पानीको स्रोत मर्दी खोलामा बाढीले गर्दा ड्याम र मुख्य पाइप लाइन नै जोखिममा परेको छ । नदीको गिटी बालुवाको उत्खनन र बाढीका कारण सो समस्या आएको उहाँले बताउनुभयो । ‘मर्दी खोलाको गिटी बालुवा निकाल्न जिल्ला विकास समितिले ३०–४० लाखको टेण्डर निकाल्छ र नदीको दोहन हुन्छ’, उहाँले भन्नुभयो,‘सोही कारणले सिर्जित नदीको कटान नियन्त्रणको लागि करोडौँ रुपैयाँको परियोजना संचालन गर्नुपर्ने अवस्था आएको छ ।’ व्यापक जनदवाबपछि जिविसले सो क्षेत्रको गिटी बालुवा निकाल्ने टेण्डर भने स्थगित गरेको छ ।

कमेन्टहरु
Loading...