किन ‘बहिस्कार’ गरे कोइरालाले संयन्त्र बैठक ?

बिहान ९ बजे उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक तय भएको थियो । नयाँ बानेश्वरस्थित विशेष समितिको कार्यालयमा । संयन्त्रमा रहेको एनेकपा माओवादी, एमाले तथा मधेसी मोर्चाका नेताहरु समयमै बैठकस्थल पुगे तर कांग्रेस सभापति सुशील कोइराला अनुपस्थित भइदिए, त्यो पनि बिनाखबर ।

 resize_imageअन्तिममा कांग्रेस उपसभापति रामचन्द्र पौडेलले आएर कोइराला नआउने जनाउ दिए । संयन्त्रको बैठकमा आउनुसट्टा कोइराला पार्टी कार्यक्रमका लागि तनहुँको बन्दिपुर हान्निइसकेका थिए । आइतबार बिहान बालुवाटारमा सरकारसँग बैठक बस्नुअघि नै त्यही साँझ संयन्त्रको बैठक बस्ने सहमति नेताहरुबीच भएको थियो । सरकारसँगको बैठकपछि साँझ भरसक सबै विवाद टुङ्ग्याउने सहमति भएको थियो । असहमतिबीच बालुवाटार बैठक आइतबार दिउँसो सकियो । साँझ संयन्त्रको बैठक बस्ने कुरा कोइरालाले नै टारिदिए ।

कोइरालाले ‘साँझ मेरो अरु नै मिटिङ तय भएको छ’ भनेपछि सोमबार बिहान ९ बजे बैठक बस्ने सहमति भयो । कोइरालालाई आज बिहान बन्दिपुर जानुपर्छ भन्ने पहिले नै थाहा थियो । बन्दिपुरको उनको कार्यक्रम केही दिनअघि नै तय भएको थियो । यति हुँदाहुँदै पनि उनले संयन्त्रको बैठक आइतबार साँझबाट सोमबार बिहान सारिदिए । र, नेताहरूलाई खबरै नगरी बिहानै बन्दिपुर हानिए ।

किन ?

कोइराला पछिल्लो राजनीतिक घटनाक्रमसँग सन्तुष्ट छैनन् । तर, खबरै नगरी आज संयन्त्रको बैठक ‘बहिस्कार’ गर्नुको कारण हिजो बालुवाटार बैठकसँग जोडिएको उनको निकटस्थहरू बताउँछन् । आइतबार बैठक चलिरहँदा उनकै पार्टी उपसभापति पौडेल र एमाले सचिव विष्णु पौडेलले पार्टी शीर्ष नेताहरूले नै चुनाबी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीको प्रधानन्याधीशबाट राजीनामा माग्ने अराजनीतिक काम गरेको आरोप लगाए ।

पौडेलद्धयले नामै किटेर कांग्रेस सभापति कोइराला र एनेकपा उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सार्वजनिक रूपमा रेग्मीको राजीनामा माग्ने गैरजिम्मेबार काम गरेको आरोप लगाए । ‘हामीले प्रधानन्याधीशलाई चुनावी मन्त्रिपरिषदको अध्यक्ष बनाएका हौ, उनको राजीनामा माग्नु भनेको यो सरकार गिराउनु हो । प्रमुख नेताहरूले नै यस्तो गैर जिम्मेबार कुरा गर्नु भएन,’ उपसभापति पौडेलको भनाइ उद्धृत गर्दै बैठकमा उपस्थित एक नेताले सेतोपाटीलाई बताए ।

त्यसको तुरुन्त प्रतिवाद गर्दै श्रेष्ठले रेग्मीको राजीनामा आफूले कहिलै नमागेको र मिडियामा पनि त्यस्तो कुरा कतै नआएको बताए । तर, मोहन वैद्य तथा उपेन्द्र यादवहरूलाई चुनावमा ल्याउन जस्तोसुकै लचकता अपनाउनुपर्ने आफ्नो धारणा रहेको तर्क उनले गरे । ‘म लचकता अपनाई चुनावको वातावरण बनाउनुपर्ने भन्नेमा अझै कायम छु,’ उनले बैठकमा भने । नामै किटेर आफ्नै उपसभापतिले आरोप लगाएपछि कोइराला बैठकमा जङ्गिएको ती नेताले बताए । ‘चुनावको वातावरण बनाउन आवश्यक भए उहाँ (रेग्मी) ले राजीनामा दिनुपर्छ भनेर मैले भनेको हुँ’ भन्दै कोइराला कड्किएको एक नेताले बताए । ‘ तर मैले औपचारिक रूपमा उहाँको राजीनामा त मागेको छैन नि तपाईहरूसँग,  किन आरोप लगाउनु ?’ कोइरालालाई उद्धृत गर्दै ती नेताले भने ।

कोइराला बैठकभरि रिसाएरै बसे । खासै कुरा गरेनन् । बालुवाटार बैठक सकिने बेलामा साँझ हुने भनिएको संयन्त्रको बैठक पनि सारिदिए । इलामको एक सार्वजनिक कार्यक्रममा बोल्दै कोइरालाले चुनाव सुनिश्चित गर्न रेग्मीले प्रधानन्याधीशको पदबाट राजीनामा दिनुपर्ने बताएका थिए । पछिल्ला राजनीतिक घटनाक्रमहरु विशेषतः रेग्मी र लोकमानसिंह कार्कीको नियुक्तिसँग कोइराला सन्तुष्ट छैनन् ।

ती विषयहरुमा आफ्नै पार्टीका मुख्य नेताहरुमाझ र संयन्त्रमा पनि एक्लै पर्दै जाँदा कोइरालाको खिन्नता गहिरिएको छ । आफ्नो पार्टीभित्र रेग्मीले प्रधानन्याधीशबाट राजिनामा दिनुपर्ने माग जबरजस्त उठेको भएपनि आइतबारको बैठकमा एमाले अध्यक्ष झलनाथ खनाल चुप रहे । भारतको पहलमा रेग्मी र कार्कीको नियुक्ति अगाडि बढ्दा त्यसै पनि भारतसँग राम्रो नरहेको कोइरालाको सम्बन्ध थप चिसिएको छ । ‘आफ्नै पार्टीका सिनियर नेताहरूले कार्की र रेग्मीको बचाउ गर्दै आफूलाई एक्ल्याउन र भारत विरोधी देखाउन खोजेको’ भन्दै कोइरालाले निकटस्थहरूसँग असन्तुष्टि पोख्ने गरेका छन् । cp. setopati.com

कमेन्टहरु
Loading...