आहा क्या राम्री ‘उमा’

रेम बिक /पोखरा, ११ जेठ/‘जनक्रान्तिलाई लालसलाम’, ‘त्यो सुनील कार्की भन्ने मान्छे माओबादी हो’, मिला प्रोडक्सनको ब्यानरमा बनेको फिल्म ‘उमा’को प्रोमोमा यस्तै कुरालाई बढि हाईलाईट गरिएको छ । प्रोमोमा यस्ता शब्दहरु सुन्दा कतिलाई यसले फिल्म शायद यसभन्दा अगाडी बनेका ‘दशवर्षे जनयुद्धकालका विभिन्न फिल्महरु जस्तै छ होला’ भन्ने भान पर्न सक्छ । र, त्यस्तो पर्नु स्वभाविकै पनि हो ।

Uma-Nepali-Film-2हुन पनि छिरिङ रितार शेर्पा निर्देशित यो फिल्मको प्लट भनेको दशवर्षे जनयुद्ध नै हो । तर अहिलेसम्म जनयुद्ध सम्बन्धि हावादारी फिल्म हेरेर आजित बनेका नेपाली दर्शक एकपटक यो फिल्म हेरे भने पुर्ण रुपमा सन्तुष्ट हुनेछन् । शुक्रबार ‘उमा’को पहिलो शोमा वाराहि चलचित्र मन्दिरमा मान्छेको खासै उपस्थिती थिएन । सौगात र ऋचा शर्मालाई मन पराउने अनि उनीहरुको अभिनय हेर्न चाहने केहि मानिसहरुमात्रै हलमा टिकट किन्दै थिए । फिल्म खासै राम्रो होला भन्नेमा धेरैको अनुहारमा शंका देखिन्थ्यो ।

‘छड्के फिल्म हेरेपछि मैले पहिलोपटक पहिलो शो हलसम्म पुगेर हेरेको फिल्म नै उमा हो ।’ नेपाली फिल्म कमैमात्र हेर्ने दर्शकको रुपमा आफुलाई चिनाउने भरत छन्त्याल उमा हेरिसकेपछि भन्दै थिए–‘तर उमा मैले सोँचेको भन्दा पनि धेरै राम्रो बनेको रै’छ ।’ कुनैबेला छड्के हेरिसकेपछि नेपाली फिल्मको फस्ट शो कहिल्यै नहेर्ने कसम खाएका उनले साथीहरुको दबाबले उमाको फस्ट शो हेर्न आएको बताए । ‘तर यो फिल्म हेरिसकेपछि म निकै खुशि छु, मैले टिकटको फाईदा मज्जैले लिएँ ।’ शुक्रबार उमाको फस्ट शो हेर्न हलसम्म आएका सबै दर्शकहरु ‘धेरै पछि साँच्चैको राम्रो फिल्म हेर्न पाएको’ भन्दै खुशी साट्दै थिए ।

एउटा सामान्य परिवार । घरमुली आमा मात्रै छिन् । अनि छन् दाजु र बहिनी । बुवा वितिसकेका छन् । छोरो (जो एउटा ईमान्दार प्रहरी अफिसर हो)को भुमिकामा सौगात मल्ल देखिएका छन् भने बहिनीको भुमिकामा ऋचा शर्मा देखिएकी छन् । र, फिल्म पनि उनीहरुकै वरिपरी घुमेको छ । आमा, दाजु र बहिनीमा निकै माया छ । तर यस्तो एउटा परिस्थिती आउँछ जसले गर्दा सुन्दर घरमा एकाएक समस्याहरु आउँछन् ।

परिबन्दमा परेर बहिनी (ऋचा शर्मा)ले क्रान्तिको बाटो समात्छे । कुरा जनयुद्धकालको हो । जुन समयमा प्रहरी र माओबादी भनेका एकअर्काका कट्टर दुस्मन थिए । एकले अर्कालाई भेट्यायो कि सिद्धाईहाल्ने बेला थियो । त्यस्तो बेलामा एउटा प्रहरी अफिसरले सबैभन्दा बढि माया गर्ने आफ्नै बहिनी प्रहरीको विरुद्धमा क्रान्ति गर्दै माओबादीमा लाग्यो भने अवस्था कस्तो होला ? त्यो घरमा कुन आपद् आईलाग्ला । पारिवारीक सेन्टिमेन्ट्सलाई ‘उमा’ले निकै राम्रोसंग पर्दामा उतारेको छ । यस्तो सुन्दै आङ जिरिङ हुने कथालाई पर्दामा सुन्दर तरिकाले उतार्न सक्ने खुबि भएका निर्देशक छिरिङ रितार शेर्पाको कामलाई कुनै हालतमा पनि नराम्रो भन्न मिल्दैन ।

वास्तवमै नेपाली फिल्म उमाले माउथ पब्लिसिटीबाट निकै फाईदा लिन सक्ने देखिन्छ । फिल्म कुनै पनि पक्षबाट पनि कमजोर लाग्दैन । कथा, पटकथा, छाँयाकन, निर्देशनदेखि लिएर कलाकारहरुको अभिनयमा कतै पनि खोट लाउने ठाउँ छोडिएको छैन । जनयुद्धकालिन कथालाई मुख्य प्लट बनाएर बनेको यसअघिका फिल्महरु कुनै न कुनै पक्षसंग नजिक देखिएपनि यो फिल्म तत्कालिन सरकार र छापामारप्रति उत्तिकै खनिएको छ । छायाँकनमा अब्बल मानिएका पुरुषोत्तम प्रधानले दृश्यलाई सजिवता दिन खुबै दुख गरेका छन् । यद्यपी स्टिल क्यामेराको कमजोरी मान्न सकिन्छ, कुनै कुनै ठाउँमा भने फोकस चिप्लिएको देखिन्छ ।

कलाकारहरुको कुरा गर्दा यो फिल्मकी मुख्य पात्र उमा भएर देखिएकी ऋचा शर्मा निकै जमेकी छन् । भिसा गर्लबाट घटेको उनको क्रेज उमाले उकास्ने निश्चित देखिन्छ । सौगात मल्लले प्रहरीको भुमिकालाई निकै न्याय गरेका छन् । यसअघि वधशालामा क्रान्तिकारीको रुप दिएका सौगातले यो फिल्ममा प्रहरीको भुमिकालाई पनि वास्तविकतामा परिणत गरिदिएका छन् । प्रकाश घिमिरे, मिथिला शर्मा, प्रविण खतिवडा, प्रमोद अग्रहरी, पुष्कर गुरुङ, शान्ति गिरी, दयाहाङ राई लगाएतका कलाकारहरु आ–आफ्नो क्यारेक्टरमा फिट देखिएका छन् । यो फिल्म हेरिसकेपछि एकचोटी सबैले भन्नेछन्, ‘आहा क्या राम्री उमा’

 

कमेन्टहरु
Loading...