पोखरा जेसीजको ‘वीकइण्ड’ जेठ २१ देखि

पोखरा, १९ जेठ/एसएलसी दिएर फुर्सदमा बसेका विद्यार्थीका लागि उत्प्रेरणामुलक कार्यक्रम हुने भएको छ । उच्च शिक्षा अध्ययनका लागि तयारी अवस्थामा रहेका विद्यार्थीलाई लक्षित गरी ‘लक्ष्य प्राप्ति’ शीर्षकमा परामर्श तथा उत्प्रेरणामुलक कार्यक्रम पोखरा जेसीजले गर्न लागेको हो ।

जेसीज वीकइण्ड कार्यक्रम अन्र्तगत पहिलो दिन जेठ २१ गते विद्यार्थीहरुको रुची र क्षमता अनुसार विषयगत विकल्पहरुको जानकारी सहित सम्बन्धित विषयमा जानकार व्यक्तिद्वारा परामर्श दिने कार्यक्रम छ । पोखरामा ४२ वर्ष अघि स्थापित युवाहरुको सामाजिक संस्था पोखरा जेसीजको तीन दिने वीकइण्ड कार्यक्रम जेठ २३ गतेसम्म सञ्चालन हुनेछ । जेसीजले वार्षिक कार्यक्रम अनुसार विविध सामाजिक कार्य गर्दै वीकईण्ड मनाउँदै आएको हो ।

पोखरा जेसीजको ‘वीकइण्ड’ जेठ २१ देखि
पोखरा जेसीजको ‘वीकइण्ड’ जेठ २१ देखि

दि भिलेज रेष्टुरेण्ट, चिप्लेढुंगाको सभाहलमा मध्यान्हदेखि हुने कार्यक्रममा उपस्थित हुन सबै एसएलसी दिएर बसेका विद्यार्थीलाई आग्रह गरिएको छ । हिसान नेपाल लगायत शैक्षिक संस्थाको सहकार्यमा हुने पहिलो दिनको कार्यक्रमको संयोजन जेसी प्रकाश घिमिरे र जेसी देवराज शर्माले गरेका छन् ।

दोस्रो दिन निःशुल्क दन्त शिविर तथा स्वास्थ्य परीक्षण कार्यक्रम हुनेछ । पोखरा २० भलाम स्थित साविक गाविस भवन प्राङ्गणमा हुने संयोजक सुवास सुवेदीले जानकारी दिए । सृजनशील युवा क्लब, ह्याप्पी डेण्टल केयर र जिल्ला जनस्वास्थ्य कार्यालय, कास्कीको सहयोग रहेको छ । अन्तिम दिन भरतपोखरी स्थित अन्नपूर्ण स्वास्थ्यचौकी परिसरमा वृक्षारोपण कार्यक्रम हुनेछ । जिल्लाबन कार्यालय र कारितास नेपालले यस कार्यमा सहयोग गर्नेछ । संयोजकद्वय जेसी भाइराज राना र जेसी यज्ञपुरुष रिजाल रहेका छन् ।

जेसीज वीकइण्डका मुल संयोजक समेत रहेका पोखरा जेसीजका कार्यकारिणी उपाध्यक्ष जेसी शिव सुवेदीले सामाजिक क्रियाकलापमा युवाहरुको संलग्नता बढाउँदै सामाजिक संस्थाको जिम्मेवारी र उत्तरदायित्व पुरा गर्ने हेतुले वार्षिक रुपमा समाज लक्षित कार्यक्रम राखिएको बताए । उनले कार्यक्रम सञ्चालनका लागि दुई लाख ४८ हजार खर्च लाग्ने र सो रकम विभिन्न संघसंस्था तथा जेसीज सदस्यहरुबाट संकलन गरिएको जनाए ।

कमेन्टहरु
Loading...