पोखरा–काठमाडौंमा पृथ्वीको डिलक्स बस सुरु

पोखरा, १८ जेठ/पृथ्वी राजमार्ग बस सञ्चालक समितिले पोखरा–काठमाडौं रुटमा सुविधा सम्पन्न डिलक्स बस थप गरेको छ । पोखरा–काठमाडौं चल्ने गरी सोमबारबाट दुई वटा डिलक्स थप भएका हुन् । स्तरीय सेवा प्रदान गर्ने उद्देश्यले पुराना सवारी बिस्तापन गरी नयाँ डिलक्स बस सञ्चालनमा ल्याइएको समितिका अध्यक्ष ऐनकुमारा साईले जानकारी दिए ।

काठमाडौंको कोटेश्वर तथा पोखराको फुलबारी रानीपौवाबाट बिहान १०ः५० बजे छुट्ने गरी नयाँ बस सञ्चालनमा ल्याइएको हो । पोखराको रानीपौवाबाट महेन्द्रपुल, सृजनाचोक, हल्लनचोक, लेकसाइड, पर्यटन बसपार्क, पृथ्वीचोक हुँदै काठमाडौं र काठमाडौंको बल्खु, सातदोबाटो, कोटेश्वरहुँदै पोखराका लागि बस सञ्चालन हुन्छ । ३५ सिट क्षमताको उक्त बस सेवाको सुरुवात सोमबार एक कार्यक्रमका बीच काठमाडौंमा समितिका अध्यक्ष ऐनकुमार साईले र पोखरामा उपाध्यक्ष भरतकुमार मल्लले गरे ।

पोखरा–काठमाडौंमा पृथ्वीको डिलक्स बस सुरु
पोखरा–काठमाडौंमा पृथ्वीको डिलक्स बस सुरु

पोखरा–काठमाडौंका लागि ५ सय रुपैयाँ भाडादर कायम गरिएको बसमा पत्रपत्रिका, मिनिरल वाटर, वाइफाइ, एलइडी टेलिभिजनको सुविधा निःशुल्क उपलब्ध छ । सस्तो भाडा दरमा स्तरीय बस चढ्ने यात्रुकोे चाहनालाई समितिले पुरा गरेकोे महासचिव योगेन्द्रबहादुर केसीले दावी गरे । शुभ जगदम्बा टुर्स एण्ड ट्राभल्स पोखराले पृथ्वी राजमार्ग बस सञ्चालक समिति अन्तर्गत बस सञ्चालनमा ल्याएको हो । समय सापेक्ष रुपमा स्तरीय सेवा प्रदान गर्ने लक्ष्यले डिलक्स बस सञ्चालनमा ल्याइएको शुभ जगदम्बाका सञ्चालक दामु अधिकारीले बताए ।

पृथ्वी अन्तर्गत अहिले करिब १ हजार २ सय सवारी सञ्चालनमा छन् । ती सवारी मध्ये करिब ३ सय वटा डिलक्स बस सञ्चालनमा आइसकेको अध्यक्ष साईले जानकारी दिए । १५ वर्षभन्दा अगाडिका पुराना गाडी समितिले विस्थापित गरी नयाँ सञ्चालनमा ल्याएको छ । पुराना गाडी बिस्थापन गरी डिलक्स बस थप्ने अभियान आगामी दिनमा पनि जारी रहने उपााध्यक्ष मल्लले बताए ।

कमेन्टहरु
Loading...