पोखरा रोयल सहकारीे १५ औं वर्षमा

पोखरा, ९ जेठ / पोखराको बुद्धचोकमा प्रधान कार्यालय रहेको पोखरा रोयल सहकारी संस्था १४ वर्ष पुरा गरी १५औं वर्षमा प्रवेश गरेको छ । त्रिदिवसीय रुपमा विभिन्न कार्यक्रम गरी सहकारीले वार्षिकोत्सव मनाएको छ । पहिलो दिन शुक्रबार सेयर सदस्यहरुलाई सहकारी प्रशिक्षण, दोस्रो दिन शनिबार कार्यालयमा दीप प्रज्ज्वलन र आइतबार कार्यालयमा सेवा लिन आउने सेयर सदस्यहरुलाई सम्मान तथा स्वागत गरेको प्रवन्धक मीलन ढकालले जानकारी दिए ।

पोखरा रोयल सहकारीे १५औं वर्षमा
पोखरा रोयल सहकारीे १५औं वर्षमा

प्रशिक्षणका अवसरमा बोल्दै प्रवन्ध निर्देशक भीम गुरुङले सरकारको नीति तथा नियम भित्र रहेर रोयल सहकारी सञ्चालनमा रहेको बताए । ‘मुनाफालाई भन्दा हामीले सेयर सदस्यको सेवालाई प्राथमिकतामा राखेका छौं,’ उनले भने, ‘मुनाफा बाँढ्ने होडबाजीले सहकारी क्षेत्रमा विकृति आइरहेको छ ।’

सहकारीका सेयर सदस्यले आफ्नै सहकारीमा बचत गर्ने र त्यहीँबाट ऋण लिनुपर्ने उनले बताए । ‘एउटा व्यक्ति एउटै सहकारीको मात्र सेयर सदस्य बन्नुपर्छ,’ उनले भने, ‘धेरै सहकारीमा सेयर राखेर मुनाफाको पछाडि दौडनेहरु योग्य सेयर सदस्य बन्न सक्दैनन् ।’ उत्कष्ट कारोबार गरेर रोयल सहकारी नेपालकै उत्कृष्ट मध्येमा पर्न सफल भएको गुरुङले बताए । ‘सबै सेयर सदस्यको योगदानबाट हाम्रो सहकारी उत्कृष्ट बनेको छ,’ उनले भने ।

कास्की, स्याङजा, तनहुँ र लमजुङ चार जिल्ला कार्यक्षेत्र रहेको पोखरा रोयलको प्रधान कार्यालय बुद्धचोकमा र सेवा केन्द्रहरु महेन्द्रपुल र लेखनाथमा छ । ३ हजार ५ सय ६१ जना सेयर सदस्यमध्ये महिला १ हजार ८ सय ९९ र पुरुष १ हजार ६ सय ६२ जना छन् । २९ जना कर्मचारी कार्यरत सहकारीको शेयर पूँजी १० करोड १७ लाख रुपैयाँ छ । विभिन्न कोषहरुमा ५ करोड ५ लाख रुपैयाँ रहेको सहकारीको निक्षेप संकलन ८३ करोड ७६ लाख रुपैयाँ र लगानीमा रहिरहेको कर्जा ८६ करोड ४ लाख रुपैयाँ रहेको प्रवन्ध निर्देशक गुरुङले जानकारी दिए ।

२ करोड ६२ लाख रुपैयाँ स्थिर पुँजी रहेको सहकारीको आम्दानी ९ करोड ५२ लाख रुपैयाँ छ । सञ्चालन बचत ३ करोड २३ लाख रुपैयाँ रहेको सहकारीको कुल कारोबार १ अरब ७ करोड रुपैयाँ रहेको प्रवन्धक ढकालले जानकारी दिए । गत वर्ष आन्तरिक कार्यालय पोखराबाट उत्कृष्ट करदाता पुरस्कार पाएको सहकारीले हालसम्म दर्जनौं सम्मान प्राप्त गरेको ढकालले बताए ।

कमेन्टहरु
Loading...