चलिए पोखरा अभियानबाट भारतीय प्रभावित

पोखरा, १९ चैत/ उत्तर भारतमा हालै संचालन गरिएको चलिय पोखरा अभियान भव्य सफल भएको भन्दै पोखरेली होटलकर्मीले यस्तो अभियानलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने बताएका छन् । पश्चिमाञ्चल होटल संघ पोखराले नेपाल पर्यटन बोर्डसँग मिलेर चलिए पोखरा अभियान संचालन गरेको हो ।

चलिए पोखरा अभियानबाट भारतीय प्रभावित
चलिए पोखरा अभियानबाट भारतीय प्रभावित

नेपालबाट नजिक पर्ने कानपुर, लखनउ, बनारस र गोरखपुर चैत १३ देखि १८ गते सम्म अभियान संचालन गरिएको थियो । अभियानको क्रममा भारतीय पर्यटन व्यवसायी र त्यहाँका नागरिकले पोखरा र नेपालप्रति विशेष चासो राखेको संघका अध्यक्ष भरतराज पराजुलीले जानकारी दिए । चार वर्ष अघि नै संघले सुरु गरेको यो अभियानलाई विगत वर्षहरुमा जस्तै यो वर्ष पनि निरन्तरता दिइएको हो । यस्तो निरन्तरताको प्रभाव निकै सकारात्मक परेको भन्दै आगामी वर्षहरुमा पनि संघले अभियानलाई निरन्तरता दिने निर्णय गरेको अध्यक्ष पराजुलीले बताए ।

चलिए पोखरा अभियानबाट भारतीय प्रभावित
चलिए पोखरा अभियानबाट भारतीय प्रभावित

अभियानमा पोखराका होटलकर्मी, संचारकर्मी र नेपाल पर्यटन बोर्डका अधिकारी गरी २५ जनाको सहभागिता रहेको संघका उपाध्यक्ष विकल तुलाचनले जानकारी दिए । कानपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख उदय भट्टराईले भूकम्प र नाकाबन्दीले प्रभावित भएको नेपाली पर्यटन विस्तारै जाग्दै गरेको भन्दै भारतीय नागरिकलाई नेपाल भ्रमणको आग्रह गरे ।

कानपुर स्थित ट्राभल होलिडेजका प्रबन्धक विश्वास सक्सेनाले भारतीय बजारमा नेपाली व्यवसायीले गरेको बजारिकरणको शैलीबाट आफू प्रभावित भएको भन्दै बढी भन्दा बढी भारतीय नेपाल पठाउन आफूले पहल गर्ने भनाई राखे । यसैगरी लखनउमा आयोजित कार्यक्रममा ट्राभल ब्यबसायी सुशील तिवारीले नेपाल भारत नाकामा भारतीय पर्यटक बोकेका सवारीलाई सहज प्रवेश र नेपालमा गुड्न पनि कुनै समस्या नपर्ने व्यवस्था गर्न माग गरे । लखनउमा व्यवसायीले नेपालका पर्यटन व्यवसायीले भारतीय पर्यटकका लागि एउटा हटलाइन नम्बर व्यवस्था गर्न पनि सुझाव दिए ।

चलिए पोखरा अभियानबाट भारतीय प्रभावित
चलिए पोखरा अभियानबाट भारतीय प्रभावित

पोखराबाट उत्तर भारतका शहरहरु नजिक भएको, भारतमा अहिले निकै गर्मी रहेको र त्यो गर्मी छल्ने उपयुक्त स्थल पोखरा रहेको तथा प्राकृतिक सुन्दरता हेर्दै सस्तो दरमा नै पोखरामा बसोबास र घुमघान गर्न सकिने कार्यक्रममा बताइएको थियो । हनिमुन प्याकेज, शैक्षिक भ्रमण प्याकेज, समर प्याकेज र धार्मिक यात्रा प्याकेज जस्ता छनौटहरु पनि कार्यक्रममा पोखरेली होटलकर्मीले सार्वजनिक गरिएको थियो । पोखरा घुम्न आउने भारतीय पर्यटकलाई होटलका विस्तारामा २० प्रतिशत छुटको पनि सोही अवसरमा घोषणा गरिएको थियो । बोर्डर टाउन सेल्स मिसन नामबाट संचालित यो अभियानको क्रममा नेपाल र भारतका पर्यटन व्यवसायीहरु विजनेस टु विजनेस कुराकानीमा पनि सहभागी भएका थिए ।

कानपुरमा चलिए पोखराका प्याकेज सार्बजनिक
कानपुरमा चलिए पोखराका प्याकेज सार्बजनिक

बनारसमा अयोजित कार्यक्रममा बाराणासी होटल संघका अध्यक्ष देवेन्द्रनारायण सिंहले आफूहरु पोखरा भ्रमण गर्न आतुर रहेको बताउँदै बढी भन्दा बढी भारतीय पर्यटक नेपाल पठाउन आफूले पहल गर्ने भनाई राखे । मन्त्रीहरु राजपाल कश्यप र नफिस अहमदले पोखरा सम्बन्धी तस्वीर र दृश्य हेरेपछि लखनउबासीलाई पोखरा घुम्न आग्रह गरेका थिए ।

अभियानको क्रममा चैत २८ देखि वैशाख २ गतेसम्म संचालन गरिने १३ औं फेवा नव वर्ष महोत्सबारे पनि जानकारी गराइएको थियो । अन्तिम दिन नेपाल प्रवेशसँगै भैरहवामा आयोजित कार्यक्रममा फेवा नव वर्ष महोत्सव र चलिए पोखरा अभयानबारे जानकारी दिंदै लुम्बिनी अंचल बासीलाई पोखरा भ्रमणको निम्ता प्रदान गरिएको संघका महासचिव भेकेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

चलिए पोखरा अभियानका संस्थापक एवं संघका पूर्व अध्यक्ष विप्लव पौडेलले अभियान सफल रहेको भन्दै अन्य देशमा पनि पोखरा सम्बन्धि प्रचारका कार्यक्रम अगाडि बढाइने बताए । भैरहवामा आयोजित कार्यक्रममा सिद्धार्थ नगर होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले पोखरा र लुम्बिनीबा व्यवसायी मिलेर पर्यटन प्रवद्र्धनका काम अगाडि बढाउनुपर्ने भनाई राखे । भ्रमणमा सहभागी सिद्धार्थ एशोसिएशन अफ ट्राभल एजेन्ट्सका अध्यक्ष सागर अधिकारी र भैरहवा स्थित नेपाल भारत मैत्री संघका अध्यक्ष श्रीचन्द गुप्ताले भ्रमण सफल भएकोमा खुसी व्यक्त गरे ।

कमेन्टहरु
Loading...