पोखरा, १ चैत/कास्की जिल्ला, पुरञ्चौर गाविस वडा नं. १, तल्लाकोट कुसुमस्थित आँकुरा केयर भिजेलमा रहेका एचआइभी संक्रमित बालबालिकालाई दुधका लागि दुहुना गरिएको छ ।
एचआइभी एड्स संक्रमित लक्ष्मी अधिकारीको संरकत्वमा रहेका संक्रमित बालबालिकालाई दुध खुवाउनका लागि सहारा युकेका प्रमुख सल्लाहकार, रामबजार सोसाईटी युकेका सल्लाहकार, पुर्व प्रधानाध्यापक, सामाजिक अभियन्ताको पहलमा आइतवार एक कार्यक्रम विच दुहुना भैसी हस्तान्तरण गरिएको हो । पुरुञ्चौर कुुसुममा आयोजित कार्यक्रममा ८५ हजार रुपैयाको दुहुना भैंसी पहलकर्ता गुरुङले लक्ष्मी अधिकारीलाई हस्तान्तरण गर्नुभएको थियो ।
उक्त कार्यक्रममा एड्स रोग निवारण संघ कास्कीका अध्यक्ष विश्वमोहन गौचन, शिक्षासेवी समाजसेवी अशोक पालिखे, हिमालय प्रावि लौसी टाकुराका प्रधानाध्यापक माधवप्रसाद गौतम, स्थानिय पुरुञ्चौर ३ काउरेका झलक आचार्यको उपस्थितीमा भैंसी हस्तान्तरण गरिएको हो । आंकुरा केयर भिलेजलाई सहयोग अभियान अन्र्तगत गत आइतवार सामाजिक अभियन्ता महेस गुरुङको पहलमा जडान गरिएको सोलर बत्तीको कुमुदिनी होम्स उच्चमाविका संचालक, शिक्षासेवी अशोक पालिखे र सहारा क्लव पोखराका अध्यक्ष बीरभद्र आचार्यले संयुक्त रुपमा स्विच अन गरेर सोलर बत्तीको उद्घाटन गर्नुभएको थियो ।
आंकुरा भिलेजमा लोडसेडिङका कारण संक्रमित बालबालिकाहरुलाई पठन पाठनमा समस्या र दुध खान नपाएको गुनासो लक्ष्मी अधिकारीले गरे पछि पहलकर्ता महेस गुरुङले आफैबाट सहयोग संकलन शुरु गर्दा विशेष गरी सहारा युके, रामबजार सोसाईटी युकेको विशेष सहयोगसहित विभिन्न महानुभाव र संघसंस्थाको सहयोगमा सोलर बत्ती जडान र दुहुना भैंसी खरिद गरी हस्तान्तरण गरिएको हो ।
सहयोग अभियानमा १ लाख ५७ हजार १११ रुपैया संकलित भएकोमा सोलार बत्ती जडान र भैंसी खरिदमा १ लाख ५ हजार खर्च भई बचत भएको ५२ हजार १११ रुपैयाको अक्षयकोष स्थापना गरिएको पहलकर्ता गुरुङले जानकारी दिनुभयो । उक्त कोष संचालनका लागि लक्ष्मी अधिकारी, एड्स रोग नियन्त्रण संघ कास्की अध्यक्ष विश्वमोहन गौचन र सहारा क्लव पोखराका अध्यक्ष बीरभद्र आचार्यको हस्ताक्षरबाट बैंकबाट व्याज रकम संचालन गर्न पाउने गरी व्यवस्था गरिएको र उक्त व्याजबाट संक्रमित बालबालिकाको पठनपाठनमा सघाउ पुर्याइने उद्धेश्य रहेको गुरुङले बताउनुभयो । उक्त भिलेजमा कक्षा पाँचमा अध्ययनरत तीन जना र कक्षा युकेजीमा अध्ययनरत एक जना गरी दुईबालक दुईबालिका आश्रित छन् ।