महिला पर्यटन व्यवसायी मञ्चद्वारा पोखराका चार महिला सम्मानित

पोखरा । आर्थिक विकासका लागि पर्यटन व्यवसायमा महिला भन्ने नाराका साथ स्थापना भएको महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले समाज रुपान्तरणमा योगदान पु¥याएका पोखराका चार महिलालाई सम्मान गरेको छ ।

“गण्डकी प्रदेशको दिगो पर्यटन, सांस्कृतिक पर्वहरुको प्रवद्र्धन” गर्न उद्देश्यका साथ आयोजना गरिएको तिज विशेष नारी सम्मान कार्यक्रम २०८० मा प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले उनीहरुलाई सम्मान गरेकी हुन् ।

सम्मानीत हुनेमा हिंसा पीडित महिला एवम मानसिक स्वास्थ्यको क्षेत्रमा क्रियाशिल अधिकारकर्मी विना सिलवाल, पर्यापर्यावरण संरक्षण एवम महिला र बालबालिकाको न्यायका पक्षमा आवाज उठाउँदै आएकी अधिवक्ता भगवती पहारी, पर्यटन व्यवसायी एवम बालबालिकाको क्षेत्रमा क्रियाशिल अभियन्ता गोमा ढकाल र पाँचवटा क्यान्सरसँग जुधेर पनि सक्रिय उद्यमी जीवन व्यतित गरिरहनु भएकी महिला उद्यमी एवम अभियन्ता लक्ष्मी शर्मा भट्टराई छन् ।

सम्मान कार्यक्रममा प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले समाज रुपान्तरणमा महिलाको योगदानको चर्चा गर्दै तीज पर्व पछिल्लो समय महिलाको महान पर्वको रुपमा विकसित हुँदै एक अर्काबीच माया बाड्ने स्वतन्त्रताको पर्वको रुपमा स्थापित हुँदै गएको बताइन् । उनले सामाजिक विकासक्रमसँगै संस्कृतिहरु पनि हस्तान्तरण हुँदै जाने र समुदायले अपनत्व लिने संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिइन् । उनले तीज पर्वका विषयमा विभिन्न टिकाटिप्पणी आइरहेको सन्दर्भलाई जोड्दै तीज पर्व पनि सरकारसँग जोडिन पुगेको बताइन् ।

समुदायको भावना र सद्भावलाई कायम राख्न सरकारले नियन्त्रणकारी सोच नराखी सहजकर्ताको भुमिका निभाउनु पर्ने उनको भनाइ थियो । भट्टराईले सरकारको नियन्त्रणकारी सोचले समाजमा अन्तरविरोध एवम् विखण्ड पैदा गर्न भएकाले पर्वलाई कसरी सबैले मनाउन सक्छन् भन्ने विषयमा सहजीकरण गर्नुपर्ने दायित्व सरकारको भएको बताइन् ।

उनले पोखरा पर्यटकीय गन्तव्यसँगै आर्थिक रुपमा गतिशिल शहरको रुपमा विकास गर्न सबैको साझा र स्पष्ट दृष्टिकोण हुनुपर्नेमा जोड दिइन् ।

कार्यक्रमा गण्डकी प्रदेशका प्रदेश सभा सदस्य देवका पहारीले पर्यटन क्षेत्रमा महिला पर्यटन व्यवसायीको योगदान उल्लेखनीय रहेको जनाउँदै चाड पर्वलाई महिला शसक्तीकरणसँग जोडेर अगाडि लानुपर्ने बताइन् । सामाजिक समानताको अभियानमा यस्ता पर्वलाई माध्यम बनाएर समग्र विकासका लागि साझा धारणा र दृष्टिकोणको आवश्यकता रहेको उनको भनाइ थियो ।

कार्यक्रममा सम्मानित चारैजना व्यक्तित्वले सामाजिक क्षेत्रका लाग्दा भोग्नु परेको आफ्नो अनुभव सुनाउँदै सम्मानले थप क्रियाशिल हुन ऊर्जा मिलेको भनाइ राखेका थिए । महिलालाई साँधुरो घेरामा नभइ वृहत रुपमा स्वतन्त्र र खुला रुपमा बहस गर्ने वातावरण सृजना गर्नुपर्नेमा उनीहरुले जोड दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्माले परिवर्ततित समयसँग चाड पर्व मान्ने मनाउने तरिका पनि बदलिदै गएको जनाउँदै तीज पर्वलाई गलत व्याख्या नगरी महिला अधिकार स्वतन्त्रताको पर्वको रुपमा मनाउनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा संस्थाका अध्यक्ष उमा भण्डारीले तीज पर्वले महिलामा उत्साह उमंग र ऊर्जा दिने भएकाले पर्वको महत्व र महिमा लागि सकारात्मक रुपमा लिएर कार्यक्रमको आयोजना गरिएको बताइन् । उनले संस्थाले स्थापना देखिनै महिला सशक्तिकरणका लागि विभिन्न कार्य गर्दै आएको र आगामी दिनमा पर्यटन क्षेत्रको विकाससँगै सदस्यहरुको नेतृत्व विकासमा जोड दिएर कार्यक्रम गर्दै जाने बताइन् ।

कार्यक्रमकमा संस्थाका महासचिव लक्ष्मी लामिछाने सञ्चालन र कार्यक्रम संयोजक विकल्प बोगटीले स्वागत मन्तब्य सहित कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए ।

कमेन्टहरु
Loading...