मध्यपूर्वमा एनआरएनएको नेतृत्व चयन, एक सुखद अवतरण

युएई । गत जुन २८ देखि जुन ३० सम्म मध्यपूर्वको ओमन देशको मस्कटमा आठौं मध्यपूर्व सम्मेलन भव्यतापूर्वक सम्पन्न भएलगत्तै मध्यपूर्वका सातैवटा देशहरुमा गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय समितिहरुमा आगामी कार्यकाल २०२३–२०२५ का निम्ति नयाँ नेतृत्व चयनको गर्मी बढेको थियो ।

मध्यपूर्वका अनुभवी क्षेत्रीय संयोजद्वय मनोज गोर्खाली र राजेन्द्र अर्याल प्रारम्भदेखि नै सकेसम्म सातैवटा देशहरुमा सहमती गरेर नयाँ राष्ट्रिय समन्वय परिषदहरु चयन होउन भन्ने पक्षमा देखिन्थे । एनआरएनए वर्तमानमा गैरआवासीयहरुले निर्माण र संचालन गरेको विश्वकै ठूलो संस्थाको रुपमा चिनिन्छ त्यसैले यस्तो उचाई भएको संस्थाको नेतृत्वको निम्ति होडवाजी नहुने त कुरै भएन । क्षेत्रीय चासोका बिषय हुन वा राजनीतिले प्ररित भएर चासोले हेरिने बिषय हुन, एनआरएनए यी दुवै बिषयहरुबाट कहिल्यै अछुतो रहन सकेको छैन र यसको सुन्दरता पनि यही हो

। शास्त्रमा पनि भनिएको छ, ‘संघे शक्ति कलियुगे’ – कलियुगमा संगठन नै बल हो । अविरल रुपमा जुलाई महिनाभरि विभिन्न मुलुकहरुमा क्षेत्रीय संयोजकद्धय, क्षेत्रका सरोकारवालाहरु, एनआरएनए अभियन्ताहरुसंग सहमतीका निम्ति प्रयास गरिरहेका थिए । ज्ञात रहोस्, मध्यपूर्वमा बीस लाख भन्दा बढी नेपाली युवा श्रमिकहरु श्रम बेचिरहेका छन अनि नेपालको अर्थतन्त्र धानिरहेका पनि छन् । तसर्थपनि मध्यपूर्व क्षेत्र एक विशेष र संवेदनशील क्षेत्र मानिन्छ । कुनै समयमा हरियो पासपोर्ट बोकेको कसरी एनआरएन भयो, यो त खैरो, रातो, निलो पासपोर्ट धारीहरुको मात्र हो भन्नेजस्ता उक्ति सुन्नमा आउँथे भने अहिले आएर बीस लाख नेपालीहरुको बीच २०२३–२०२५ कार्यकालका निम्ति मध्यपूर्वमा करिव २२ हजार जनाले पंजिकृत सदस्यहरु भरेका छन्। ती पंजिकृत सदस्यहरुको चासो र गम्भिरतालाई सम्वोधन गर्दे सकेसम्म सवै पक्षहरुलाई समावेश गराएर एनसीसीहरुको निर्माण गर्ने मिसनमा क्षेत्रीय संयाजकहरु सफल भए भन्दा अत्युक्ति नहोला ।

आफ्नो कार्यकालमा सातैवटा एनसीसीहरुको भ्रमण गरेर, स्थलगत रुपमा नेपाली राजदूतावास, श्रमिक, एनसीसी एवं सरोकारवाला हरुलाई समेटेर इतिहास कायम गर्न सफल मध्यपूर्व संयोजक मनोज गोर्खालीले क्षेत्र कसरी चलाउनुपर्छ भन्ने कुराको उदाहरण नै पेश गरे, कालान्तरसम्म यो विषय नजिरको रुपमा अव आउने क्षेत्रीय संयोजकहरुका लागी प्रेरणाको विषय बन्नेछ । २००९ मा एनसीसी युएईका पंजिकृत सदस्य लिएर २०११-२०१३ कार्यकालमा राष्ट्रिय समन्वय परिषद युएईको उपाध्यक्ष हुँदै,२०१७-२०१९ कार्यकालमा अन्तर्राष्ट्रिय समन्वय परिषदको केन्द्रिय सदस्य,२०१९-२०२१ कार्यकालमा मध्यपुर्ब क्षेत्रीय उप-संयोजक र २०२१-२०२३ कार्यकालमा मध्यपूर्व क्षेत्रीय सयोजक हुँदै क्षेत्र चलाएर खारिएका मनोज गोर्खालीले २०२३ २०२५ कार्यकालका निम्ति सचिवको दावेदारी समेत प्रस्तुत गरेका छन् । जुलाई महिनाभर चलेको सातैवटा एनसीसीहरुको महाधिवेशन कुवेत र बहराईन बाट शुरु भएर साउदी अरबिया,ओमन,ईराक,कतार हुँदै युएईमा टुंगिन पुग्दा एकमात्र मुलुक कतारमा मतदान भयो भने अन्य छ वटा एनसीसीहरुमा आम सहमतीका आधारमा एनसीसीहरु चुनिन पुगे ।

पहिलेबाटै बिवादित बनेको अनलाईन भोटिङ गर्ने सफ्टेवेयर ‘भेरो’ माथि यसपल्ट मध्यपूर्वका एनसीसीहरुले पटक्कै विश्वास गरेनन । सर्वाधिक महंगो अनि डाटा मनिपुलेसन हुनसक्ने प्रवल संभावना र शंका बोकेको ‘भेरो’ माथि आफ्नो भविष्य दाउमा लगाउनुभन्दा बरु अलिकति लचकता अपनाएर नै आम सहमतीमा जाँदा बलियो समाज बन्छ भन्नेकुरामा मध्यपूर्वका छ वटा एनसीसीहरुको एकमतता देखियो । कुवेतको अध्यक्षमा रणध्वज लामा नै सर्वसम्मतले दोहोरिए भने,बहराईनको अध्यक्षमा राजकुमार श्रेष्ठ सर्वसम्मतले चुनिए । पेशाले बिमान चालक प्रशिक्षक बिकल झा स्थानीय रुपमा दर्ता भएको नेपाली क्लव (एन.आरएनए.एनसीसी) ओमनको अध्यक्षका रुपमा सर्वसम्मतले चुनिए भने एनसीसी साउदी अरेवियाको अध्यक्षमा लामो समयदेखि एनआरएन अभियानमा जोडिएका महिला अभियन्ता रविना अर्याल सर्वसम्मतले चुनिए ।यसैगरि सवैभन्दा कान्छो एनसीसी ईराक सुलेमानीमा सम्पन्न भएको एनसीसी इराकको अध्यक्षमा पनि बिनोद श्रेष्ठ सर्वसम्मतले चुनिए र मध्यपूर्वकै ठूलो अनि विशेष चासोको रुपमा हेरिने कतारमा भने आम सहमती जुटाउन गरिएका प्रयासहरु बिफल भए र ‘भेरो’कै सहायता लिनुपर्यो । उक्त चुनावबाट रमेश भट्ट अध्यक्षको पदमा निर्वाचित हुनपुगे । मध्यपूर्वकै दोश्रो धेरै पंजिकृत सदस्य भएको र स्थानीय निकायमा दर्ता भएको एनसीसी युएई (नेपाल एसोसिएसन)को अध्यक्षमा पछिल्लो कार्यकालका उपाध्यक्ष विकास शाही सर्वसम्मत भए ।

यसरी मध्यपूर्वका छ वटा देशहरुमा भएको आम सहमतीका कारण श्रमिकको कम्तिमा पनि पचास लाख रुपैयाँ खरानी हुनबाट जोगिएको छ । आम सहमती जुटाउन यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने एनआरएनए अभियन्ताहरु दिनरात एक गरेर लागेका थिए । माथि उल्लेख गरेजस्तै क्षेत्रीय संयोजकद्धय मनोज गोर्खाली र राजेन्द्र अर्याल, क्षेत्रकै जेठा अभियन्ता एवं आइसीसी उपाध्यक्ष डी.वी. क्षेत्री र नरेन्द भाट, आइसीसी उपाध्यक्ष एवं आगामी कार्यकालका निम्ति आइसीसी अध्यक्ष पदका दावेदार आर. के. शर्मा, युवा उपाध्यक्ष राज रेग्मी, आइसीसी सचिव प्रविण गुरुङ, एनआरएनए अभियन्ता शनी ओली, राजु शैयद लगायतका ब्यक्तित्वहरुले सुझबुझपूर्वक चालेको कदमले यसपल्ट कुनै गम्भिर बिवाद बिना नै मध्यपूर्वमा एनसीसीहरुको चयन हुनपुग्यो । यसअर्थमा यी ब्यक्तित्वहरु धन्यवादका पात्र हुन र अन्य क्षेत्रका एनसीसीहरुले यसबाट सिक्न जरुरी छ ।

कमेन्टहरु
Loading...