बच्चादेखि बृद्धसम्म पदयात्रामा अकर्षित

कविता घर्तीमगर, पोखरा । लामवद्ध मान्छेको हुल । सोहि हुल गाउँ र बजार बस्तीमा पुग्दा स्थानियले अचम्मै मानेर हुललाई नियाल्थे । त्यो हुल भने आफ्नै रफ्तारमा अगाडी बढीरहेका हुन्थे ।

झट्ट हेर्दा कसैको जन्ती हिडेको भान हुन्थ्यो । त्यो लामबद्ध हुलमा भने सबैले आआफ्ना अनुभव,हाँसोठट्टा,एकअर्कालाई सल्लाह सुझाव,व्यवसाय,देशको अवस्थादेखि लिएर अन्तराष्ट्रिय चासोका बारेमा आफुलाई भुलाउदै पाईला भने गन्तव्य भेटाउन अगाडी बढिरहन्थे । हुलमा थिए ६८ वर्षका सुशिला रानाभाट ।

पुरानो पहिरनमा काँधमा साडी,साईट व्याक झुन्डिएको थियो उनको । व्याक भित्र केहि पानीका वोत्तल,केहि लत्ताकपडा र केहि खानेकुरा थिए । “म त स्वास्थ्यको लागि हिड्नुपर्छ निरोगी भईन्छ भनेर यो टोलीसंग हिडेको त कत्ति भैसक्यो,”रानाभाटले भनिन्,“अरुबेला आफ्नो काममा व्यस्त भएपनि ज्यानलाई रोग लाग्न बाट बचाउन त हिड्नै पर्ने रहेछ । साथीभाईसंग भेटघाट भएर रमाईलो पनि हुने । हामी त पुराना मान्छे अहिलेका पुस्ताले गाउँघरलाई कसरी विकास गरेका रहेछन भनेर आफै पुगेर हेर्न पनि पाईने ।” स्वास्थ्य र पर्यटनका लागि पदयात्रा गर्ने उद्धेश्यले पोखरामा केहि सिमित व्यक्तिहरुको पहलमा सञ्चालन गरिएको नेपाल हाईकर्स क्लवकोे ३६ औ पदयात्राको शृङखलामा रानाभाट सहभागी भएकी हुन् ।

रोयल ट्रेक क्षेत्रको पचभैयाँ–रुपाताल हुँदै हात्तीमैतासम्म सोही शृङखलामा ६८ वर्षका रानाभाटसंगै ३ वर्षकी अमेरिकन बालिका लगाएत चाईना,तान्जेनिया,अमेरिकाका गरि करिव ५० जनाभन्दा बढीले सहभागीता जनाएका थिए ।
गण्डकी प्रदेश आफैमा एउटा पर्यटकीय प्रदेश हो । साथै पर्यटकलाई आकर्षण गर्नका लागि विभिन्न संरचनाहरु निर्माण गरिएका छन र केहि बनिरहेका छन् । सरकारले देशका हरेक गाउँलाई घरबास कार्यक्रम मार्फत ग्रामिण पर्यटनसंग जोड्ने परिकल्पना गरेसंगै अहिले प्रदेश भित्रका विभिन्न गाउँहरु घरबासमा परिणत भएका छन् ।

त्यहि घरबासहरुलाईलाई प्रचारप्रसार गर्दै साथ दिनुका साथै व्यस्त जीवनशैलीलाई प्रकृतिसंग आत्मसात गर्दै स्वास्थ्यको लागि हाईकर्स क्लवले पदयात्रा गर्दै आएको क्लवका संयोजक कृष्ण रानाभाटले जानकारी दिए । उनका अनुसार पोखरादेखि रुपातालसम्म बस यात्रा गरि त्यहाँबाट ऐतिहासिक महत्त्वको रोयल ट्रेकको महत्त्वलाई उजागर गर्ने लक्ष्यका साथ पचभैयाँ–रुपाताल हुँदै हात्तीमैतासम्म करिव २ घण्टाको पैदल यात्रा गरिएको हो । सोही क्रममा पदयात्रीले पोखरा महानगरपालिका वडा नं। ३१ पचभैयाँ स्थित प्राणी उद्यन केन्द्र९चिडियाखाना०को पनि निरिक्षण गरिएको छ ।

करिव १० वर्ष अगाडीदेखि सुरु गरिएको केन्द्रको बारेमा जानकारी दिदै प्राणी उद्यन केन्द्रका अध्यक्ष दिनानाथ ढकालले सामुदायिक वनलाई घाँस दाउराको परम्परागत दृष्टिकोणलाई परिमार्जन गरि यसलाई थप विकास र संरक्षणमा नयाँ योजना ल्याइएको बताए ।

उनले रुपाताल र बेगनासतालको विचमा पर्ने पचभैयाँ सामुदायिक वनमा विभिन्न प्रकारका जीवजन्तु पाईने भएकोले यसलाई थप पर्यटनसंग जोड्न उद्यनकेन्द्र स्थापना गरिएको बताए ।
केन्द्रमा अध्ययन अवलोकनका वन विरालो,बाँदर,चितुवा,गोमन सर्प लगाएत विभिन्न जीवजन्तु राखिएका छन् । केन्द्रको अवलोकनपछि टोलीले रुपाकोट रिसोर्टको पनि अवलोकन गरेको थियो । त्यपछि रुपागाउँपालिकाको वडा नं। ६ हात्तीमैता भ्युटावरका लागि पैदल यात्रा सुरु गरेका थिए ।

हात्तीमैता भ्युटावर

‘रुपै राम्रो रुपातालको माथी भिरचोक गाउँ’ विम्वकवि रमेश क्षेष्ठको रचना र रजनी राईको मिठो आवाजमा सजिएको यो गीत निकै प्रसिद्ध छ । गीतमा भनिएजस्तै हात्तीमैताको टावरबाट देखिने भिरचोक गाउँ,लेखनाथको सातवटै ताल, माछापुछ्रे,धवलागिरि, अन्नपूर्ण,लमजुङका हिमशृङ्खलाहरु,पोखरा र लेखनाथको पुरै भ्याली र स्याङजा,लम्जुङ र नवलपरासी तिन जिल्लाका भिमकाया पहाडहरुको त्यो मनोरम दृष्यका बारेमा बयान गर्न शब्द नै हुदैन् ।

प्रकृतिले दिएको यहि अनुपम उपहारलाई पर्यटनसंग जोडेर स्थानियको आयआर्जन उकास्न यहाँका स्थानिय युवा क्लव र स्थानिय सरकारले भरपुर अभ्यास गरेका छन् ।शनिबार हात्तीमैता भ्युटावरलाई मुख्य गन्तव्य बनाएर त्यहाँ पुगेका हाईकर्स टोलीलाई स्वागत गर्न स्वयम गाउँपालिकाका अध्यक्ष नवराज ओझा र स्थानिय धुव्रतारा युवा क्लवका अध्यक्ष त्रिविक्रम केसी विचबाटोमै आई पुगेका थिए ।

साथै हात्तीमैता भ्यूटावर रेष्टुरेन्ट एन्ड होमस्टे सञ्चालनमा ल्याइएकाका छन । होमस्टेमा बस्न चाहनेहरुका लागि पनि राम्रो प्रवन्ध रहेको छ । समुद्री सतहबाट एक हजार तीन सय ५० मिटर उचाइ रहेको हात्तीमत्ता भ्यूटावर रहेको स्थानमा टेन्टमा प्रत्येक रात १५ जनासम्म बस्न सक्ने व्यवस्था मिलाइएको र होमस्टेमा अरु १५ बस्न सक्ने व्यवस्था छ ।

“पदयात्राका लागि आउने पर्यटकलाई गाइडको व्यवस्थासँगै विभिन्न तालिम तथा सेमिनारका लागि हलको पनि व्यवस्था गरेका छौँ”, अध्यक्ष केसीले भने, “वनभोजका लागि आउने पर्यटकका लागि एक सय जना क्षमताको वनभोजस्थलको व्यवस्था पनि छ ।”

रुपाताल, झोलुुङ्गेपुुल, भङ्गरा, जमनकुना, रुपाकोट रिसोर्ट हुँदै हात्तीमैता भ्यूटावरमा सम्मको पदयात्रालाई बार्है महिना सञ्चालनमा ल्याउनको लागि हात्तीमैताचोकबाट पक्की सिँडी निर्माण गर्नुका साथै नेपालकै विशाल गणेशको मुर्ति प्रतिस्थापन गर्न योजना रहेको क्लवका अध्यक्ष केसीले बताए ।

रोयल ट्रेकको महत्त्वलाई उजागर गर्दै पर्यटकको आगमन बढाउन सकिएमा यहाँका स्थानीय उत्पादनले बजार पाउने र होटल तथा अन्य व्यवसायले गति लिने अपेक्षा गरिएको छ,” अध्यक्ष केसीले भने । उनका अनुसार स्थानिय सरकार र क्लवको सहकार्यमा भिरचोक गाउँ मात्र नभएर पुरै रुपा गाउँपालिकाको पर्यटनलाई प्रवद्धन गर्ने अभियानमा लागेका बताए ।

‘भ्यूटावर’ नजिकै मल्लकालीन समयदेखि पूजाआजा हुँदै आएको कालभैरव मन्दिर यहाँको अर्को धार्मिक महत्त्वको स्थल हो । मनले चिताएको पुुग्ने विश्वासका कारण मन्दिरमा टाढा–टाढाबाट दर्शनार्थीहरू आउने गर्दछन् । मन्दिरमा प्रत्येक वर्षको बडादशैँ र चैतेदशैँमा विशेष पूजाआजा हुने गरेको छ ।

प्रत्येक महिनाको अन्तिम शनिबार आयोजना गर्ने पदयात्रामा पोखरामा रही विभिन्न सेवा, पेशा र व्यवसायमा आबद्ध व्यक्तिहरु समावेश हुन्छन् । “सुरुका दिनमा केहि सिमित साथीभाई मात्रै पदयात्रामा समावेश हुन्थ्यौ, मान्छेले विस्तारै पदयात्राको महत्व बुज्दै गएका छन् ,अहिले क्लवको आकार बढेको छ,” हाईकर्स क्लवका सह(संयोजक प्रितम सेन ठकुरीले भने,“अव यसलाई वैधानिक रुपमा दर्ता गरेर अझै सहज बनाउने योजनामा छौ ।”

स्थापनाकालदेखि प्रदेशभित्रका विभिन्न पर्यटकिय स्थलहरुलाई मुख्य गन्तव्य बनाउदै एकदिनका लागि गरिएको पैदलयात्रामा समावेश हुनका लागि सहभागीहरुले ७ सय ५० शुल्क उठाउछन् ।

 

कमेन्टहरु
Loading...