गण्डकीको बजेट कार्यकर्ता र ठेकेदार पोस्ने खालको देखियो : सांसद केसी

पोखरा । गण्डकी प्रदेशको बजेट सन्तुलित नभएको गण्डकी प्रदेशका सांसद प्रकाश बहादुर केसीले बताएका छन् । अहिलेको सरकारले ल्याएको बजेट कार्यकर्ता र ठेकेदार पोस्ने खालको बजेट रहेको सांसद केसीले बताए । आज प्रदेश सभामा बजेटमाथीको छलफलका क्रममा उनले यस्तो कुरा बताएका हुन् ।

अहिलेको वार्षिक बिकास पुस्तिक हेर्दा मन्त्रीमुखी बजेट जस्तो देखिएको सांसद केसीको आरोप छ । मन्त्रीज्युहरुका जिल्लाको निर्वाचन क्षेत्र बाहेक अरु जिल्ला प्रदेशको जिल्ला र निर्वाचन क्षेत्र नै होइन जस्तो देखिएको उनले बताए । ‘मन्त्रीज्युहरुका जिल्लाको निर्वाचन क्षेत्र बाहेक अरु जिल्लाका जनता खुसी हुने अवस्था रहेन । कास्की लगाएत अन्य मन्त्री नभएको जिल्ला त हेरेको हेरै हुने अवस्था देखियो । योजनाहरु मन्त्री केन्द्रीत मात्र भो जनता केन्द्रीत र सन्तुलन हुन सकेन ।’ –उनले भने ।

प्रदेश सरकारप्रति प्रश्न गर्दै उनले भने– ‘मन्त्रीज्यूहरु जुन निर्वाचन क्षेत्रको हुनुहुन्छ त्यो मात्रै गण्डकी प्रदेश हो र ? पर्यटनको धेरै सम्भावना बोकेको मनाङ , मुस्ताङको र कास्की लगाएत अन्य जिल्लाको योजनामा हालत खराब छ । मुस्ताङमा जम्मा २५ सडक र पुलका योजना र बजेट २५ करोड २० लाख विनियोजन गरिएको छ । मनाङमा पुल र सडकका २३ योजनाका लागि जम्मा १८ करोड १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । मनाङ र मुस्ताङमा जोड्दा जति बजेट परेको छ त्योभन्दा १० करोड रुपैयाँ बढी म्याग्दीमा छ । अनि कसरी समान विकास हुन्छ रु मनाङ र मुस्ताङका चारै जना माननीय सत्तारुढ दलकै हुनुहुन्छ । दुई जिल्लामा नै योजना कम छन् ।’

स्थानिय तहका जनप्रतिनिधीहरुले परिषद् र बोर्डबाट सिफारिस गरी पठाइएको योजना समावेश नगरिएको उनले बताए । साथै बजेट गलत तरिकाले आएको उनको भनाई छ । सांसद केसीले भने– ‘स्थानिय तहले वितरण गर्ने बजेट भन्दा पनि कम ५ लाख ७ लाख र १० लाखका बजेट समावेश भएका छन् । कार्यकर्ता र ठेगदार पोस्ने खालको बजेट देखियो । दिगो विकास हुने गरी बजेट बनाएको भए राम्रो हुन्थ्यो, त्यस्तो देखिएन । बजेट विनियोजित गर्दा भुगोल अनुसार सन्तुलित भएको देखिएन । प्रदेशको क्षेत्र अधिकार थाहा नपाई योजना राखिएको जस्तो देखिन्छ । भुगोल नै नबुझी कार्यकर्ताबाट आएको चिटका आधारमा योजना हो भन्ने प्रष्ट देखिन्छ ।’

कमेन्टहरु
Loading...