‘आरो’ले धानेको शान्तबहादुरको परिवार

 

खड्क सुनार

मुगु, ११ जेठ ।  ढल्केको ढाकाको टोपी, बाक्लो कालो ज्याकेट अनि मलिन अनुहार । छेउछाउमा राखिएका विभिन्न प्रकारका धागो र केही अन्य सामग्रीहरु काखमा राखेर घरको भित्तामा अढेस लागेर बसेका एक मजदुर । उनी हुन्, जुम्लाको चन्दननाथ नगरपालिका–४ सिंगाचौर गाउँका शान्तबहादुर सार्की ।

सार्की अहिले उमेरले ३९ वर्ष पुगे । जुम्ला खलंगा बजारको चन्दननाथ नगरपालिकाको कार्यालय नजिकै उनको एक सानो जुत्ता पसल छ । जुत्ता पसल खोलेको एक वर्ष पुग्न लागेको छ ।

 

ठुल्ठुला भवन निर्माणको मिस्त्री कामलाई परिस्थितिवस बिट मार्दै एक वर्षयता जुत्ता सिलाई पेसामा अंगालेका शान्तबहादुरको  परिवार बिहान बेलुकाकै छाक टार्न र बालबच्चा पढाउन संघर्षरत छ । परिवारमा शान्तबहादुर, उनकी श्रीमती र दुई छोरा छन् । छोरा विद्यालयमा जान थालेको छ ।

 

शान्तकी श्रीमती घरमा मजदुरी गर्छिन् । विगतका मिस्त्री काम गर्दै परिवारको गुजरा चलाउँदै आएका शान्तबहादुरको खुट्टामा एक्कासि समस्या देखिएपछि आर्थिक संकटले घेर्न थाल्यो । खुट्टाको चारपटक अप्रेशन गर्दाको ऋण र परिवारको दैनिकी टार्नुपर्ने आर्थिक भारले उनको परिवारलाई उठ्नै सकस पारेको छ ।

 

बिस्तारै बिस्तारै खुट्टा निको हुन थालेपछि उनले मिस्त्री काम छाडेर जुत्ता सिलाउने पेसामा लागेका छन्  । अहिले उनलाई यो पेसाले राहत मिलेको बताउँछन् । मासिक १० देखि २० हजार रुपैयाँसम्म आम्दानी हुने शान्तबहादुरले बताए ।

 

उनको दैनिकी गुजारादेखि छोराहरुको अध्ययन खर्च जुत्ता सिलाउने पेसाबाटै टर्न थालेको छ । एक वर्षयता शान्तबहादुरको परिवार अहिले आरो (सियो)को भरमा बाँचिरहेको छ । पछिल्लो समय जुत्ता सिलाउने पेसाबाट उनले केही रकम बचत गर्न थालेको बताउँछन् ।

न्युज कारखाना

कमेन्टहरु
Loading...