नर्स हुनु गर्व की पश्चाताप ?

नर्स शब्द आफैमा एउटा सुन्दर शब्द हो । आज नर्स हु भनेर हिँडदा आफैलाई गर्व महसुस हुन्छ । त्यो सेतो कोट लगाएर दिनरात विरामीको सेवामा हुन पाउँदा आफुलाई खुसी महसुस हुन्छ ।

आज सायद कुनै छोरी पढेर एसईई पास गरिसकेपछि उसको सपना नै नर्स बन्ने हुन्छ । यसको सम्पूर्ण श्रेय फ्लोरेन्स नाइटिङ्गेललाई जान्छ । लेडी अफ ल्याम्प भनेर चिनिने फ्लोरेन्स नाइटिङ्गेलको त्यो सेवाको भावलाई देखेर नर्स बन्ने मन जोकोहीलाई लाग्न सक्छ ।

एकातिर नर्स भएर खुसी भइरहँदा अर्को तिर नर्सहरु पश्चाताप मानिरहेका छन् । देशको राजनीतिक अस्तिरता बढ्दो छ । स्थिर सरकार बन्न नसक्दा नर्सहरु पनि त्यसैको नराम्रो असरमा परेका छन् । नर्सहरु लाखौैं पैसा खर्च गरेर नर्स बन्ने सपना बुनिरहेका हुन्छन् । उ नर्स त बन्छन् तर नर्स बनिसकेपछि उसलाई जागिर कसरी खाने त्यतातिर तनाव बढ्छ ।

प्राइभेट अस्पतालमा जागिर त पाउँछ तर सुरुवाती तलब ५ हजारदेखि शुरु हुन्छ । त्यो ५ हजार रुपैयाको तलब यति महंगो बजारमा आफ्नो दैनिकी जिवन बिताउन पनि गाह्रो हुन्छ । सरकारी अस्पतालमा जागिर गर्न जानलाई राजनैतीक पहुँच वा नेताका आसेपासे वा आफन्तहरुले मात्र जागिर पाउने गर्छन् ।

सरकारी अस्पताल होस् या प्राइभेट अस्पताल नर्सहरुमा चरम अन्याय र श्रम शोषण धेरै नै छ । नर्सहरुले आफुले दिनमा ७, ८ घण्टा र बेलुकामा १२ घण्टा काम गर्दा उनीहरुले श्रम गरे अनुसार पारिश्रमिक पाउन सकेका छैनन् । त्यसमाथी कतिपय अस्पतालले नर्सहरुलाई नियुक्ति पत्र विना काममा लगाइरहेका छन् । जसको फलस्वरुप आज नेपालमा १ लाख १० हजार नर्सहरु मध्ये आधा बढी विदेश पलायन हुन बाध्य भएका छन् ।

कुनै अस्पतालमा समयमा तलब नदिने, नर्सहरुलाई बिना कारण जागिरबाट निकालिदिने, नियुक्ती पत्र नदिई काममा लगाउने कारणहरुले आज धेरै नर्सहरु डिप्रेसनको शिकार भएका छन् ।

छोरीलाई नर्स बनाउछु, विरामीको सेवा गरेर समाजमा राम्रो नर्स बनाएर निकाल्छु भनेका आमाबुबाको सपना आज मात्र सपनामै सिमित भएको छ । कुनै अस्पतालमा समयमा तलब नदिने, नर्सहरुलाई बिना कारण जागिरबाट निकालिदिने, नियुक्ती पत्र नदिई काममा लगाउने कारणहरुले आज धेरै नर्सहरु डिप्रेसनको शिकार भएका छन् ।

लाखौं खर्च गरेर नर्स बन्ने तर बनिसकेपछि नर्सिङ पेशालाई छोड्न बाध्य भएर अन्य व्यवसायमा लाग्नुपर्ने बाध्यता अहिलेको समाजमा विद्यमान छ । अस्पतालमा नर्स र बिरामीको अनुपात मिलेको छैन । एकजना नर्सले २० देखि २५ जनासम्म बिरामी हेर्नुपर्ने अवस्था छ । जसको फलस्वरुप बिरामीले जति पाउनुपर्ने सेवा सुविधा हुन्छ त्यो पनि पाउन सकिरहेको हुँदैन ।

नर्सहरुले नर्सिङ क्षेत्रमा भएको अन्याय, अत्याचार, वेथितीको बारेमा जति आवाज उठाएपनि सरकारले यसप्रति चासो कहिल्यै देखाएन । यदि सबै नर्सले १ घण्टामात्र सेवा रोक्ने हो भने धेरै बिरामीको ज्यान जोखिममा पर्नेछ, तर नर्सहरु यसो गर्न चाहन्नन् ।

नर्सहरुको दरवन्दी मिलान, समायोजन जस्ता कार्यहरुपनि समयमा हुन सकेको छैन । पछिल्लो समय नर्सहरुमा धेरै नैरास्यता छाएको छ । त्यही पनि हामी नर्स हुनुमा गर्व गर्छौ र हरेक वर्ष नर्सिङ दिवस मनाइरहन्छौं ।

जवसम्म नर्सिङ क्षेत्रको बेथिति हट्दैन तवसम्म यस्ता दिवसहरु मनाउनको कुनै औचित्य रहदैन भन्ने लाग्छ । नर्समाथि हुने सबै खाले विभेद र अन्यायको अन्त्य होस् ।

सम्पूर्ण देश विदेशमा रहनु भएका नर्सहरुलाई नर्सिङ दिवसको शुभकामना !

 

 

कमेन्टहरु
Loading...