टर्की भूकम्प: मृत्यु हुनेको सङ्ख्या आठ गुणा बढ्न सक्ने

एजेन्सी । सिरियाको सीमा नजिकै दक्षिणपूर्वी टर्कीमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या आठ गुणा बढ्न सक्ने विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले जनाएको छ ।

सोमबार बिहान पहिलो पटक भूकम्प गएयता हालसम्म ४,३०० जनाको मृत्यु भएको जनाइएको छ । पहिलो धक्काको करिब १२ घण्टा पछि अर्को शक्तिशाली भूकम्प उत्तरी भेगमा गएको थियो ।

उद्धारकर्मीहरूले अत्यधिक चिसो र हिउँका बाबजुद भग्नावशेषको थुप्रोमा जीवितहरूको खोजी गरिरहेका छन् । विश्वभरबाट विज्ञ समूह, तालिमप्राप्त कुकुर र विविध उपकरणहरूसहित उद्धारका लागि सहयोग पठाउने क्रम जारी छ ।

यूएस जियोलोजिकल सर्भेका अनुसार टर्कीको स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा गाजीयान्टेप सहर नजिक १७.९ किलोमिटर गहिराइमा ७.८ म्याग्निट्यूडको भूकम्प गएको हो ।

भूकम्पविद्हरूले सोमवार गएको पहिलो भूकम्प टर्कीमा अभिलेखीकरण गरिएकोमध्ये अहिलेसम्मकै सबैभन्दा ठूलो भूकम्प भएको बताएका छन् । भूकम्प महसुस गरेका मानिसहरूका अनुसार कम्पन रोकिन करिब दुई मिनेट लागेको थियो ।

पहिलो भूकम्पबाट प्रभावित भनिएको दोस्रो भूकम्प ७.५ म्याग्निट्यूडको थियो जसको केन्द्रबिन्दु काहमनमरस प्रान्तको एल्बिस्तान जिल्लामा थियो ।

कमेन्टहरु
Loading...