नदी तर्न हुम्लावासीलाई काठको लाप्कोकाे भर

सुर्खेत / हुम्लाकाे दुर्गम गाउँमा राज्यले पुलमा लगानी नगर्दा काठको लाप्कोको सहायता खोला तथा नदी तर्नुपर्ने बाध्यता छ । स्थानीय स्रोत, साधन तथा जनशक्ति प्रयोग गरेर काठको सहायताले निर्माण गरिएका पुलहरूद्वारा यहाँका सर्वसाधारण दैनिक जाेखिमपूरुर्ण यात्रा गरिरहेका छन् ।

यहाँ एउटै पालिकामा ११ देखि २५ वटा सम्म यस्ता काठेपुल पाइन्छ ।  खार्पुनाथ गाउँपालिकामा काठका १७ वटा पुल छन् । सर्केगार्ड गाउँपालिकामा २३, चंखेली गाउँपालिकामा १९, अदानचुली गाउँपालिकामा ११ र ताँजाकोट गाउँपालिकामा १३ वटा काठेपुल रहेको पालिकाले जनाएका छन् । खार्पुनाथ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले विशेषगरी खोला र खर्कहरूमा काठेपुलको निर्माण बढी हुने गरेको बताए ।

नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका वडाध्यक्ष पाल्जोर तामाङका अनुसार लिमीमा अहिले पनि ११ वटा काठेपुल रहेका छन् । लिमीका ती पुल स्थानीयले जनश्रमदानबाट निर्माण गरेका हुन् । केही वडाको बजेटबाट समेत निर्माण भएका छन् । यी क्षेत्रमा काठेपुल नहुने हाे भने दैनिकी नै बन्द हुने अवस्था छ । गाडी गुडाउन पनि काठेपुल नै निर्माण गरिएका छन् । यातायातका साधन काठेपुलमा ओहोरदोहोर गर्दा जोखिम भने उच्च हुन्छ । नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम लामाले आफ्नो गाउँपालिकाकामा २५ भन्दा बढी काठेपुल स्थानीयले बनाएको जानकारी दिए ।

झोलुङ्गे पुल निर्माणको भए पनि कतैबाट पक्की पुल निर्माण हुन नसकेपछि बाध्य भएर काठेपुल निर्माण गरिरहेको अध्यक्ष लामाले बताए । सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशीला रोकायले गाउँपालिकामा अहिले पनि १५ भन्दा बढी कोठेपुलको प्रयोगमा रहेकाे बताइन् । काठेपुल तर्दा, खोला र नदीमा खसेर कयाैंले ज्यान गुमाएकाे उनले बताए ।

सडक सञ्जालसँग नजोडिएको हुम्लामा वैकल्पिक माध्यमको सहायताबाट यातायातका साधन देखि सर्वसाधारण, घोडा, खच्चड र चौरीहरू खोला तथा नदी वारपार हुने गरेको छ । सामाग्रीको मूल्यभन्दा ढुवानी भाडा बढी पर्ने हुम्लामा सडक, पुल तथा अन्य विकास निर्माणका काम गर्न समेत हिउँदयाममा समस्या हुँदै आएको छ । हिउँदयाममा चिसो, हिमपात र वर्षायाममा खोला तथा नदीमा रहेका पुल पानीको वहाबले बगाउने समस्याले गर्दा विकास निर्माणमा समस्या हुँदै आएको छ ।

-हेमन्त केसी

कमेन्टहरु
Loading...