‘नवौंं राष्ट्रिय खेलकुद निर्धारित मिति मै हुन्छ’

पोखरा / राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले आगामी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुने नवौंं राष्ट्रिय खेलकुद निर्धारित मिति नै हुने बताएका छन् । पोखरा रंगशालामा सोमबार पत्रकार सम्मेलनमा सदस्य सचिव घिसिङले नवौं खेलकुदको मिति बारम्बार परिर्वनत भएपनि यसपाली भने तोकिएकै मितिमै हुने बताएका हुन् ।

सरकारले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेसँगै नवौं खेलकुद निर्धारित मितिमा नहुने शंका बढेको थियो । जसको खण्डन गर्दै घिसिङले यो या त्यो बाहनामा खेलकुद नसर्ने स्पष्ट पारे । ‘प्रतियोगिता २०७५ सालमा हुने भनिएको थियो, १० औं खेलकुद हुने बेलासम्म पनि नवौं खेलकुद भएको छैन । कोरोनाका कारण भनिएको छ । आरोप कसैलाई लगाउँदैन,’ उनले भने, ‘अव यो या त्यो बहानामा पछाडी सार्नु हुदैन ।’
निर्वाचनले प्रतियोगितालाई प्रभाव नपार्ने गरी कार्यसूचि निकाल्न निर्वाचन आयोगलाई राखेपबाट परिपत्र गरिएको घिसिङले बताए । ‘सरकारले मंसिर ४ गते निर्वाचनको घोषणा गरेको छ, नोमिनेसन दर्ता कार्यक्रम १ महिना अगाडी जसो हुन्छ, निर्वाचनले नोमिनेसनका कार्यक्रम नवौं खेलकुदसँग नजुध्ने गरी मिति तोक्न परिपत्र गरेका छौं,’ उनले भने ।

प्रतियोगितामा ३६ खेलमा ४ सय ७ इभेन्ट समावेश गरिएको छ । पुरुषतर्फ २ सय २० र महिलातर्फ १ सय ८७ इभेन्ट समावेश छन् । प्रत्येक इभेन्टमा ४ भन्दा कम प्रतिस्पर्धी भएमा सो इभेन्ट सञ्चालन नगरिने सदस्य सचिव घिसिङले बताए । हरेक खेलमा स्वर्ण पदक जित्ने खेलाडीलाई २५ हजार र टिम इभेन्टमा स्वर्ण पदक जित्ने खेलाडीले १५ हजार प्राप्त गर्ने छन् । खेलकुदमा राष्ट्रिय रेकर्ड भंग गरी नयाँ रेकर्ड बनाउने खेलाडीलाई जनही ५० हजार प्रदान गरिनेछ ।

प्रतियोगिताको विजेता टोलीलाई १० लाख रुपैयाँको आकर्षक ट्रफी प्रदान गर्ने सदस्य सचिव घिसिङले बताए । उक्त ट्रफी ३ विभागीय टिम र सबै प्रदेश भ्रमण गराई अन्तिम प्रतियोगिताका लागि गण्डकी प्रदेश ल्याउने उनको भनाई छ ।
प्रदेश तथा विभागीय टिमले आगामी भदौ १५ गतेसम्म खेलाडीको संख्या र २५ गतेसम्म नाम दर्ता गराई सक्नुपर्ने हुन्छ । निर्धारित समयमा दर्ता नभएकालाई पुनः परिपत्र गरी कारण बुझ्ने घिसिङले सुनाए । प्रतियोगितामा २ खेलको प्रर्दशनीसमेत हुनेछ । ७ प्रदेशसहित ३ विभागीय टिम र एनआरएनए गरी ११ टिमले प्रतियोगितामा सहभागिता जनाउनेछन् । प्रत्येक टिमबाट ३ सय ३९ महिला र ३ सय ६९ पुरुष खेलाडीको कोटा निर्धारण गरिएको छ ।

नवौं खेलकुद प्रतियोगिता २०७७ मै आयोजना गर्नुपर्ने भए पनि कोभिड र अन्य कारणले पटक पटक स्थगित भएको थियो । आयोजक राष्ट्रिय खेलकुद परिषद (राखेप) ले गण्डकी प्रदेशमा आयोजना गर्ने प्रतियोगिता सञ्चालन हुनेछ । नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुदको समापनका दिन नवौं राष्ट्रिय खेलकुद २०७७ फागुन २१ देखि २७ सम्म गण्डकी प्रदेशमा हुने जानकारी दिइएको थियो ।

प्रतियोगिताका खेल गण्डकी प्रदेशको सबै जिल्लामा हुने छन् । प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशले प्रत्येक जिल्लामा कम्तीमा १ खेल गर्ने गरी प्रस्ताव राष्ट्रिय खेलकुद परिषदलाई प्रस्ताव पठाएको छ । राखेपले खेलमैदानको निरीक्षण गरी कहाँ कुन खेल गराउने निर्णय गर्नेछ ।

गण्डकी प्रदेशमा ३९ वर्षपछि राष्ट्रिय खेलकुद हुन लागेको हो । यसअघि दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन भएको थियो । उक्त प्रतियोगिता ०४० चैत १२ गतेदेखि २० गतेसम्म पोखराको पोखरा रंगशालामा भएको थियो । त्यो प्रतियोगिताको उद्घाटन तत्कालीन राजा वीरेन्द्रबाट भएको थियो । १४ अञ्चल समावेश रहेको उक्त प्रतियोगितामा कुल ५१ पदकसहित गण्डकी अञ्चल दोस्रो भएको थियो । ५० स्वर्णसहित १ सय ३७ पदक जित्दै वाग्मती अञ्चल प्रथम बनेको थियो ।

-रिखिराम जिसी

कमेन्टहरु
Loading...