सरकारसँग सांसद सापकोटाको मागः धौलागिरी अस्पताल सुधार, कामको भुक्तानी देऊ

गन्थन संवाददाता पोखरा । गण्डकी प्रदेश सभा सदस्य इन्द्रलाल सापकोटाले बागलुङको धौलागिरी अस्पतालमा जनशक्ति र पूर्वाधारको अवस्था नाजुक भएकाले प्रदेश सरकारसँग त्यसको सुधारको माग गरेका छन् ।

शुक्रबार प्रदेश सभा बैठकको विशेष समयमा बोल्दै उनले अस्पतालको एउटा भवन १३ वर्षदेखि अलपत्र रहेकाले निर्माण कार्य सम्पन्न गर्नेतर्फ ध्यान दिन स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराए । पटकपटक सरकारको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको उनको गुनासो छ । ‘नेपाल सरकारले २०६६ साल असारभित्र सम्पन्न हुने भनेर ए, बी र सी तीन वटा ब्लकको काम सुरु भयो ।

ए र बी ब्लकको काम सकिएको छ,’ सांसद सापकोटाले थपे, ‘आज २०७९ असार सकिँदा पनि सी ब्लक हस्तान्तरण हुन सकिरहेको छैन । ठेकेदारको लापरबाहीले काम हुन सकेको छैन ।’ अत्यावश्यक जनशक्ति नहुँदा अस्पतालमा इमर्जेन्सी सेवासमेत प्रभावित भएको सांसद सापकोटाले संसदमार्फत सरकारलाई जानकारी गराए । ‘१६ जना कन्सल्टेन्टको ठाउँमा एक जनामात्रै छ । ६जना मेडिकल अधिकृतको ठाउँमा एक जना पनि छैन,’ उनले थपे, ‘छात्रवृत्ति करारका डाक्टर २० जनामा १६ जना र मेडिकल अधिकृत १६आवश्यक पर्नेमा ३ जना छ । जसका कारण अस्पतालमा इमर्जेन्सी सेवा प्रभावित भएको स्थिति छ ।’ संक्रमितको संख्या बढ्दा सरकारले कोरोनाको उपचारमा सक्रिय २७ कर्मचारी कटौती गरेकोमा उनले आपत्ति जनाए ।

ती जनशक्तिलाई पुनर्बहाली गरेर बढ्न थालेको कोरोनाबाट संक्रमित बिरामीको उपचारमा खटाउन आग्रह गरे । आइसियु चलाउन व्यवस्थापन गरिएका कर्मचारी पनि नभएको सांसद सापकोटाले सुनाए । उपकरणसहित दक्ष जनशक्ति व्यवस्थापन गर्न उनले सरकारसँग माग गरेका छन् ।

बागलुङमा सिँचाइको १७ वटा योजना काम सकिए पनि उपभोक्ता समितिले भुक्तानी नपाएकोमा पनि उनले सरकारको ध्यानाकर्षण गराए । एक करोड ४५ लाखभन्दा बढी रुपैयाँ भुक्तानी नपाएको र कार्यालय घेराउको स्थिति आउन सक्ने सांसद सापकोटाले बताए ।

कमेन्टहरु
Loading...