पोखरा समृद्ध बनाउन गठबन्धन

पोखरा /पोखरा महानगरपालिकामा गठबन्धनबाट साझा उम्मेदवार बनेका मेयरका प्रत्यासी धनराज आचार्य र उपमेयरका प्रत्यासी कोपिला रानाभाटलाई जिताउन नेताहरु पोखरा आउने क्रम जारी छ । यस्तैमा सोमबार मात्र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) पोखरा आए । उनले गठबन्धनका उम्मेदवारलाई जिताउन आम मतदाता समक्ष अपिल समेत गरेका छन् । बैसाख ३० गतेको निर्वाचनमा गठबन्धनले पराजय भोग्नु परे मुलुक ठूलो दुर्घटनामा जाने अभिव्यक्ति उनको थियो ।
पोखरा २६ लेखनाथमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले पोखरा समृद्ध बनाउन गठबन्धनको आवश्यकता परेको बताए । संविधान र संघीयताको रक्षाका लागि गठबन्धनका उम्मेदवारहरुले जित्नुपर्ने भनाई उनको थियो ।
केपी ओलीको हैकमवाद र अहंकारले संविधान, संघियता र गणतन्त्र धरापमा परेपछि त्यसको रक्षाका लागि आफुहरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्दै सयुक्त गठबन्धनमा जाने निर्णयमा पुगेको उनले स्मरण गराए । संविधानलाई सिध्याउने खेलमा लागेको ओली नेतृत्वको प्रतिगमनलाई परास्त गर्नको लागि जिवन मरणको लडाईमा होमिन उनले गठबन्धनमा आवद्ध दलका नेता तथा कार्यकर्ताहरुलाई अपिल गरेका छन् ।
आफ्नै हातले संसदमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएर प्रधानमन्त्री बनाएको स्मरण गराउँदै नेता श्रेष्ठले वैशाख ३० गतेको निर्वाचनमा कलम चिन्हमा मतदान गर्न नहिचकिचाउन आग्रह समेत गरे । त्यसबेला देउवाको नेतृत्वमा गठबन्धन नगरिएको भए अहिलेसम्म केपि ओलीले संविधान र संघियता समाप्त गरिसकेका हुने उनले बताए ।
नेपाल सरकारका श्रम तथा रोजगार मन्त्री समेत रहेका किसानले नेपाली युवाहरुको श्रम सुरक्षाका लागि आफु निरन्तर खटिरहेको बताउदै अव स्वदेश मै रोजगारीका अवसरहरु सृजना गरिने विश्वास समेत दिलाए । विदेशमा रहेका नेपाली युवाहरुको अवस्था प्रति आफु निकै चिन्तित रहेको उनले बताएका छन् ।
धनराज आचार्य र कोपिला रानाभाटले पोखरा २६ को विकासका लागि आफुहरु प्रतिबद्ध रहेको बताए । “पोखरा २६ मा विकास गर्नुपर्ने आवश्यकतालाई हामीले औंल्याएका छौं । स्थानीय नागरिकहरुको समस्यालाई सम्बोधन हुने गरी हाम्रा कामकारबाही अगाडि बढ्नेछन् । हामी पाँच वर्ष फूल ड्युटी नभई ड्युटी फूल मान्यताका आधारमा महानगर हाक्छौं । हामीलाई तपाईको सहयोगको आशा छ ।”, उनीहरुले भने ।
यस्तै, पोखरा ३२ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मेयर पदका उम्मेदवार आचार्यले पोखरा प्रवेशका मुख्य नाकाहरुमा आकर्षक बगैचाहरु निर्माण गर्ने उद्धघोष गरेका छन् । उनले ६ महिना भित्र तनहुँ, स्याङ्जा र बाग्लुङ तर्फबाट पोखरा प्रवेश गर्ने मुख्य नाकाहरुमा पोखरा प्रतिबिम्बित हुने गरि आकर्षक बगैचाहरु निर्माणको प्रक्रिया सुरु गरिने बताए ।
उनले भने, ‘पर्यटकिय शहर पोखराको पर्यटन प्रवद्र्धनका लागि विभिन्न योजनाहरु बनाईने छ । प्रर्याप्त स्थानमा पदमार्गहरु निर्माण गर्ने, ऐतिहासिक र पुरातात्विक क्षेत्रको पहिचान र प्रबद्र्धन गर्ने, आवश्यक पर्यटन पुर्वाधारको निर्माण गर्ने र भ्युटावर तथा दृश्यावलोकन स्थलहरुको व्यवस्थापन गरिनेछ ।’
उमेदवार आचार्यले सार्वजनिक शिक्षाको विषयमा सरोकारवालाहरुसंग आवश्यक छलफल गरि जवाफदेही र गुणस्तरिय बनाउने बताए । शिक्षाको स्तर सुधार नभएसम्म सभ्य समाजको निर्माण गर्न नसकिने भन्दै सार्वजनिक शिक्षामा देखिएका समस्याहरुको निराकरण गर्ने भनाई उनको थियो । स्वास्थ्यलाई जनता केन्द्रित कार्यक्रममा रुपमा अगाडी बढाउने र कृषिलाई आयात विस्थापन गर्ने गरि आत्मनिर्भर र उत्पादनमुलुक बनाउने योजनाका साथ चुनावी मैदानमा होमिएका छन् आचार्य ।
उनले महानगरको शिर र तिरमा विकासका सुचाङ्क पुग्न नसकेको बताए । महानगरलाई चाहिने सबै पूर्वाधार तयार गर्ने प्रतिबद्धता व्यक्त गर्दै पहिलो मिति मै म भन्दा माथी उठेर हामी भन्ने भावनामा साथ काम कार्वाहीहरु सुरु गर्ने बचन दिए । कांग्रेसका बागी उम्मेदवार बिमल कार्कीले उम्मेदवारी फिर्ता लिएपछि गठबन्धन झन बलियो भएको दाबी गरे । पोखरा महानगरपालिकामा गठबन्धनको जित सुनिश्चित भएको उनले बताएका छन् ।
उपमेयर पदकी उम्मेदवार नेपाली काँग्रेसकी नेतृ कोपिला रानाभाटले आफु कमाउनका लागि नभई सेवाका लागि महानगरमा जाने प्रतिबद्धता व्यक्त गरिन् । उनले भनिन्,“म कुनै कमाउन होइन राजनीतिमा बटुलेका अनुभव साट्नका लागि उपमेयरको रुपमा प्रस्तुत भएकी छु । वडा ३२ मा विकासको लहर ल्याउने गठबन्धन सरकारले नै हो । एमालेको सरकारको जस्तो गफ गर्न हामीले जानेका छैनौं । हामी काम प्रति विश्वास गर्छौं ।”
वडाको घोषणापत्र र नगरपालिकाले बनाएको घोषणापत्र साथमा साथ हातमा हात राखेर विकास गर्ने भनाई उनको थियो ।
कार्यक्रममा नेपाली काँग्रेस कास्की, एकिकृत समाजवादी कास्की, नेकपा माओवादी केन्द्र कास्कीका नेताहरुको समेत उपस्थिति थियो ।

कमेन्टहरु
Loading...