गठबन्धनको गन्तव्य निश्चित छैन : खगराज अधिकारी

पोखरा । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारीले पाँच दलीय गठबन्धनको गन्तव्य निश्चित नभएको बताएका छन् ।

नेकपा (एमाले) गण्डकी प्रदेशको फेसबुक लाइभमा बोल्दै नेकपा एमालेका विरुद्ध गठबन्धनले सकेसम्म प्रशासनको आडमा चलखेल गर्न लागि परेको बताए । विगतमा गरेका काम र अहिलेको जनताको लहरले एमालेको बिजय सुनिश्चित गरेको उनको भनाई थियो ।

उनले गण्डकी प्रदेशमा करिब ६५ प्रतिशत स्थानीय तह एमालेले जित्ने दाबी गरे । एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले जनताको मन जित्नेगरी बिकासका काम गरेकोले पनि गठबन्धनले कुनै प्रभाव नपार्ने उनले बताए ।

उनले लिपुलेक लिम्पियाधुरा सहितको नक्सा प्रकाशन गरेकै कारण सरकारलाई परमादेशबाट हटाईएको बताए । ‘देश र जनताको पक्षमा काम गरेका कारण सरकारबाट हट्नुपर्यो’, उनले भने । निश्पक्ष र भयरहित निर्वाचन सम्पन्न गराउन सबैको भुमिका महत्वपुर्ण रहने उनको भनाई थियो ।

नेपाललाई सुरुङ मार्गमा प्रवेश गराउने, रेल कुदाउने , प्रविधी मैत्री देश बनाउन केपी ओली सरकारले महत्त्वपूर्ण गरेको स्मरण गर्दै उनले शिक्षा स्वास्थ्यमा आधुनिकरण गर्ने , आधुनिक र सुस्कृत नेपाल बनाउन एमालेलाई नयाँ मतदाताले सुर्य चिन्हमा मतदान गर्ने विश्वास व्यक्त गरे । एमाले बाहेक अन्य दलहरुले नेपाललाई समृद्धिको यात्रामा अगाडी लैजान नसक्ने उनको भनाई थियो।

कमेन्टहरु
Loading...